भारत भ्रमणमा 'कलंकको टीका'
पोखरा: एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा गरिएका सम्झौता अस्वीकार्य हुने बताएका छन् । 'ती सम्झौताको भारी बोक्न नेपाल तयार छैन', ओलीले भने, 'त्यो नेपालले मान्दैन ।'
एमालेको प्रदेश नं ४ स्तरीय पहिलो बैठक उद्घाटनपछि पोखरामा ओलीले दाहाल कलंकको कालो टीका लगाएर भारत भ्रमणबाट फर्किएको आरोप लगाए । उनले भने, 'उहाँले हिंसा पनि बोक्नुभयो, आतंक बोक्नुभयो, विदेशी हतियार पनि बोक्नुभयो, विदेशमा गएर के के बोकेर आउनुभएको छ । तर नेपाल त्यस्ता कुरा बोक्दैन । हामीलाई त्यो स्वीकार्य छैन ।'
एमालेले अस्वीकार गरेको विषय पूरै नेपालले अस्वीकार गर्ने उनले बताए । दाहाल निहुरिँदा घुँडाबाट रगत आएको हुन सक्ने पनि उनले सुनाए । 'पोहोर साल नाकाबन्दीको विरोध गर्थ्यो रे त भन्दा मैले अलि बाटो बिराएको थिएँ भनेछन्', ओलीले भने, 'खुब चम्केका थियौ त भन्दा त्यो इगो सेन्ट्रिक र सेल्फ सेन्ट्रिक केपी ओलीले गरेर गएको हजुर, अहिले सप्रिसकें भनेछन् ।'
राणा प्रधानमन्त्री मोहनशमशेरले पनि गर्न नसकेको काम गरेर दाहाल फर्केको आरोप ओलीले लगाए । 'नेपाल सरकार र भारतीय दूतावास मिलेर काम गर्ने भनेर नेपाल सरकारलाई दूतावाससँग दाँजियो', उनले भने, 'उहाँ निधारभरि कलंकको कालो टीका लगाएर फर्कनुभएको छ ।'
पोहोर साल आफू भारत भ्रमणमा जाँदा भारतले नेपालको संविधानलाई ठूलो उपलब्धि भनेकोमा यसपालि संविधानको 'स' पनि उच्चारण नभएको पनि ओलीले बताए ।
संविधान कार्यान्वयन नगराउन सके नेपालमा फेरि संवैधानिक र राजनीतिक संकट ल्याउन सकिने देखेरै आफ्नो सरकार हटाएको विचार उनले व्यक्त गरे । 'सत्ताबाहिर भए पनि संविधान कार्यान्वयन जसरी पनि गराउनुपर्छ भनेर एमालेले दबाब दिन्छ', उनले भने, 'संवैधानिक संकट ल्याएर फेरि खिलराज रेग्मीजस्तै नयाँ काण्ड दोहोर्याइन सक्छ ।' संविधान कार्यान्वयनका लागि उनले निर्धारित मितिभित्र तीन चुनाव गराउनुपर्ने बताए । 'सबै चुनाव एमालेले जित्छ भनेर पनि चुनाव गराउन खोजिएको छैन', उनले भने ।
प्रतिक्रिया दिनुहोस !