प्रधानमन्त्री प्रचण्ड र नर्वेजियन राजदूतबीच भेटवार्ता
काठमाडाैं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि नर्वेजियन राजदूत क्याजेल टोर्मोड पेट्टेर्सेनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार विहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालले संविधानको कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र समृद्धिका लागि द्रुत गतिमा काम गरिरहेको जानकारी गराएका थिए। उनले नेपालको विकासका लागि नर्वेले गरेको सहयोगका लागि धन्यवाद समेत राजदूत टोर्मोडलार्इ दिएका थिए।
प्रधानमन्त्रीले नेपालले सात दशक लामो संघर्षबाट प्रगतिशील संविधान प्राप्त गरेको र शान्ति प्रक्रिया मौलिक रुपमा सम्पन्न हुन लागेको जानकारी गराउँदै नेपालको आर्थिक समृद्धिका लागि नर्भेका निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
भेटमा राजदूत क्याजेलले नेपालको भौतिक विकास र समृद्धिका लागि नर्भेको सहयोग जारी रहने प्रतिबद्धता जनाएका थिए। उनले शान्ति प्रक्रियामा नर्वेको भूमिकाप्रति नेपालले देखाएको सकारात्मक भूमिकाका लागि धन्यवाद दिएका थिए।
प्रतिक्रिया दिनुहोस !