२७ दिनको साधनापछि योगी ब्याघ्र वेदनाथको निष्कर्ष-आफूले चाहेको पो जिन्दगी !!
काठमाडौं: 'यसैमा जन्मियौं, यसैमा हुर्कियौं, यसैमा बिलायौं । फुटेको भए जुटेर गरौं । छुटेको मिलाऔं ।'
पशुपति मृगस्थलीमा बिहीबार सत्ताईस दिन लामो मौनव्रत र साधना तोडेपछि योगी ब्याघ्र वेदनाथका रूपमा चिनिएका प्रभञ्जनबहादुर सिंहले गुरु योगी नरहरिनाथका भनाइ सम्झिए । उनले भने, 'जे छ गुरुको छ, मेरो केही छैन । गुरुले जुन बाटो तय गर्नुभयो त्योभन्दा दायाँबायाँ जान्नँ ।'
पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहका छोरा योगी ब्याघ्र वेदनाथ पछिल्लो समय युवापुस्तामाझ परिचित छन् । एउटा सम्भ्रान्त परिवार त्यागेर योगी बन्न पुगेका उनी पूर्वयुवराज पारस शाहसँग निकट सम्बन्धका कारण बढी चर्चित भए । तीन वर्षदेखि आध्यात्मिक जीवनमा लागेका उनले २७ दिन लामो ध्यान भौतिक जीवन छाडेपछि गरिने अभ्यास भएको बताए । 'आध्यात्मिक जीवन बुझ्न साधना गर्नुपर्छ । अध्यात्मका लागि अध्ययन गर्नुपर्छ । यसैको सिलसिलामा मौनव्रत बसें । नुन खाइनँ', उनले भने, 'जिब्रोमा ६ वटा रस हुन्छन् । तीमध्ये नुन एउटा हो । जिब्रोले वशमा राख्न खोज्छ जुन साधनाका लागि ठीक हुँदैन ।'
सत्ताईस दिन लामो ध्यानबाट बाहिर आउँदा आनन्द आएको उनले सुनाए । 'तामसी भोजन र राजसी ठाँट छोडेर सात्विक बनें । साँच्चै स्वर्गमा पुगेजस्तो भइरहेको छ । लोभलालच र मायामोह त्यागेपछि कुनै कुराको तनाव हुँदैन', उनले भने ।
सेन्ट जेभियर्स र प्रहरी स्कुलबाट स्कुल तहको शिक्षा सके पनि साँच्चैको अध्ययन भने बल्ल सुरु गरेको उनको ठम्याइ छ । उनी भन्छन्, 'गुरु योगी नरहरिनाथका मन्दिर छन् । उहाँले कोटिहोम लगाएका १ सय २९ ठाउँ घुम्छु । कतिपय मठमन्दिर समितिले संरक्षण गरेका छन् । तिनलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा लागेको छु । गुरुका ५ सय ७१ भन्दा बढी कृति संकलन गरी तीव्रगतिमा प्रकाशन गर्ने तयारी भइरहेको छ ।'
चौबीसै घन्टा इन्टरनेटमा घोत्लिने बानी परेका उनी यतिबेला विरलै इन्टरनेट खोल्छन् । उनी भन्छन्, 'न्युजपेपर पनि खासै पढ्दिनँ ।'
परिवारको स्वीकृति लिएरै योगी बनेका उनी समय र परिस्थितिले यहाँसम्म ल्याएको बताउँछन् । उनी भन्छन्, 'आफूले चाहेको पो जिन्दगी ।' लिभिङ टुगेदरमा रहेका उनी प्रेमविवाह गरेर एउटी छोरीको बाबा बनेपछि योगी बने । दुई महिनाअघि छोरीसँग भेटेका उनले पछि उसलाई सबै कुरा बुझाउने बताए । 'परिवारलाई भन्दा नेपाल आमालाई मेरो साथ चाहिएको छ । धर्म–संस्कृति र नेपाल आमालाई साथ दिनु ठूलो कुरा हो,' उनले भने ।
राजनीतिक पार्टीले राम्रोसँग काम गरेको भए देश यस्तो खराब स्थितिमा नपुग्ने उनको बुझाइ छ । 'हामी एकअर्कामा छुट्यौं भने कसैको अस्तित्व रहँदैन । नेपालको अस्तित्व रहँदैन । त्यसैले संघीयता, धर्मनिरपेक्षताजस्ता कुराले राम्रो प्रतिफल दिँदैन ।'
कपालमा 'साफा' (फेटा) बाँधेका उनले मूलदेवता र गुरुका अगाडि खाली टाउको देखाउन नमिल्ने बताए । आफूले राम्रो संस्कृति, संस्कार र अध्यात्म सिक्न नपाएको गुनासो उनले गरे । 'हामी वेस्टेज जेनेरेसन रहेछौं । अर्काको संस्कृति सिक्यौं । अर्काकै देश बनायौं तर जल, जमिन र जंगलको प्रयोग गरेर रोजगारी सिर्जना गर्ने र विश्वलाई शान्तिमय बनाउने कार्यमा चुक्यौं', उनले भने ।
पूर्वयुवराज पारस शाहसँगको निकटताले आफ्नो आध्यात्मिक चिन्तनमा फरक नपार्ने उनले बताए । उनी भन्छन्, 'सबैलाई बाटो देखाउने गोरखनाथ नै हो ।'