देवकोटाले देखेको नेपाली साहित्य

देवकोटाले देखेको नेपाली साहित्य

सायद यस पृथ्वीमा जिन्दगीको आनन्दको गाथा गाउनु नै सम्पूर्ण साहित्य जन्मिएको हो, जसले मानिसलाई सुखानुभूति प्रदान गर्दछ । -महाकवि देवकोटा

१) २०१५ साल असोज तत्कालीन सोभियत संघको तासकन्दमा आयोजना भएको 'अफ्रो-एसियाली लेखक सम्मेलन'मा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६ ) देवकोटाले गरेका थिए । उनले उक्त सम्मेलनमा दिएको भाषणमाथि यो आलेख तयार गरिएको हो । नेपाली साहित्यको इतिहासको संक्षिप्त अवलोकन गर्दै आधुनिक नेपाली साहित्यको प्रवृत्ति र धाराको समीक्षा गरिएको छ त्यस भाषणमा । देवकोटाको व्यक्तित्व र उनको साहित्यको चर्चा गर्दा त्यस ऐतिहासिक भाषणको चर्चा यदाकदा नै भएको पाइन्छ । यहाँ महाकविले तासकन्दमा दिएको सो ऐतिहासिक भाषणको संक्षिप्त सारसहित छोटो विवेचना गरिनेछ ।

२) नेपाली साहित्यमा समीक्षाको प्रारम्भ कसले कहिले गर्‌यो, यकिनसाथ भन्न सकिन्न । महाकवि देवकोटाले विभिन्न कालमा रचेका कृतिहरूमा र अरूका कृतिमा समेत कुनैमा समर्पणको शीर्षक दिएर, कुनैमा भूमिका भनेर आफ्ना मन्तव्यमा समीक्षाको झझल्को दिएका छन् । तर अहिले त्यतातिर यो आलेख प्रवेश गर्दैन । उक्त ऐतिहासिक भाषण उनले साहित्यमा केन्द्रित 'कन्ट्री पेपर' को रूपमा प्रस्तुत गरेका थिए जसमा उनले नेपाली साहित्यका धेरै पक्ष समेटेका छन् जसको भावार्थ संक्षिप्तमा यहाँ राखिन्छ ।

३) जनकको दार्शनिक सभा, शान्ति र अहिंसाका प्रतिमूर्ति गौतम बुद्धको लुम्बिनी एवं संसारमा सूर्यको प्रथम किरण सगरमाथाकै शिखरमा उत्रिने नेपालको गौरवशाली परम्पराको चर्चाबाट बडो रोमाञ्चक ढंगले सुरु गरेर एउटै परिवारका सदस्यहरू जस्तै आर्य र मंगोलहरू आ-आफ्ना धर्म, संस्कृतिसँगै सुमधुर सहअस्तित्वमा रहँदै आएको नेपाली समाज हो । नेपाली साहित्यको उद्गम स्रोत ऋषि परम्परासित जोडिएको छ । अन्दाजी हजार वर्षअघि नेपालमा शिलालेखको रूपमा छरिएर रहेका प्रारम्भिक ग्रन्थहरू - ऋषिमुनिहरूका परम्परागत ग्रन्थहरूबाट हाम्रो लिखित साहित्यबाट आरम्भ भएको हो ।

सुरुमा नेपाली भाषा बोलचालको रूपमा रहे पनि लेख्यसाहित्य संस्कृत भषाको युगौं पुरानो परम्पराले अनुवादको युग सुरु भयो जसमा धार्मिक र उपदेशात्मक भावनाको बाहुल्य रहन्थ्यो । त्यसै परम्पराबाट आएका कवि भानुभक्तले नेपाली भाषामा अध्यात्म रामायणको भावानुवाद गरेका थिए । उक्त काव्य नेपाली भाषाको प्रचारसँगै धार्मिक प्रचारको समेत अति लोकप्रिय साधन बन्न पुग्यो, जसलाई महाकवि देवकोटा संस्कृतको निम्ति पहिलो हाँकको रूपमा लिएका छन् । उनी भन्छन् 'भानुभक्तले रामायणको अनुवादद्वारा जनतासँग उसैका भाषामा कुरा गर्ने प्रयास गरे ।'

४) नेपाली भाषाको बाल्यावस्थामा पद्यको प्राचुर्यता र गद्य साहित्यको न्यूनता थियो । मोतीराम भट्टले कवि भानुभक्तको जीवनी लेख्नुका साथै केही काव्यकृतिहरूको पनि रचना गरेका थिए । त्यस अवधिमा आचारनीति र अर्ती-उपदेशयुक्त 'वीरसिक्का' र 'कृष्णचरित्र' जस्ता प्राचीन अनु श्रुतिका संग्रहहरू प्रकाशित भएका थिए । यस्ता पुस्तकहरूमा रतिरागको वर्णन नै प्रचुर मात्रामा पाइन्छ जुन त्यस युगको निम्ति लाक्षणिक थियो ।

५) आधुनिक नेपाली साहित्यका प्रमुख प्रतिनिधि कवि लेखनाथ पौड्यालको विशेष स्थान छ । भाषामा लालित्य भरेर सुमधुर सुसंस्कृत शैली आफ्ना काव्यमा सिर्जना गर्ने उनी प्रारम्भकर्ता हुन् । लेखनाथको रचनामा परम्परागत संस्कृत र आधुनिक राष्ट्रिय प्रवृत्तिहरूको समन्वय रहेको पाइन्छ । आधुनिक युगको प्रारम्भमा नै हेमराज पाण्डे तथा सोमनाथ सिग्देलले नेपाली भाषाको स्तरीय व्याकरण बनाएर भाषिक रूपहरूको स्थिरतामा योगदान पुर्‌याएका छन् ।

६) नेपाली साहित्यमा सर्वप्रथम, नाटककार एवं चित्रकार बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठहरूमा पाश्चात्य सभ्यता र साहित्यको प्रभाव बढी मात्रामा परेको र त्यस प्रभावलाई श्री देवकोटा प्रचलित संस्कृत शैलीविरुद्धको विद्रोहको रूपमा लिन्छन् । श्री देवकोटा आफ्नै साहित्यलाई पाश्चात्य प्रभावमा परेको स्वीकार गर्दै साहित्यमा लोकगीतका छन्दहरूको प्रयोगसँगै रोमाञ्चवादी प्रवृत्तिको सुरुवात गरेको अवलोकन गर्छन् । सिद्धिचरणका काव्यमा प्राकृतिक सौन्दर्य समक्ष भावोद्गारको रोमाञ्चवादी अभिव्यक्ति । त्यसै समयावधिमा कवि भवानी भिक्षुले साहित्यमा नयाँ प्रवृत्ति रहस्यवाद र व्यक्तिवादी साहित्यको प्रारम्भ गरेको श्री देवकोटाको निष्कर्ष छ ।

७) साहित्यिक क्रियाकलापमा यस समयका लेखकहरूले युगको आह्वानलाई सम्बोधन गर्दै बुद्धिजीवीवर्गको विद्रोहात्मक मनोभावनालाई अभिव्यक्ति दिएका थिए । काव्यका क्षेत्रमा सबै किसिमको संस्कृत छन्दको बोलवालाको विरोध जनाएका छन् । उनी भन्छन् 'नयाँ काव्यकृतिहरूमा हामी प्रयोगात्मकता, गद्यात्मकता, बौद्धिकता र अन्वेषणप्रतिको मोहको झल्को पाउँछौं । आर्थिक अन्याय र विषमताको विरुद्ध सामन्ती उत्पीडन र पुँजीवादी शोषणका विरुद्ध कविहरूले आवाज बुलन्द गरे... संघर्षको क्षेत्रमा अग्रसर भएका जनताको आवाज गुञ्जन थाल्यो ।'

८) कवि माधवप्रसाद घिमिरेको काव्यप्रवृत्ति र शैलीमा संस्कृतको प्राचीन छन्दमा बोलचालको सरल भाषा प्रयोग पाइन्छ । पहाडको सम्झना, गहिरा भावहरूमा स्वदेशी प्रकृतिको मोहकताको वर्णन आदिले उनी प्रभावकारी रोमाञ्चवादी धाराका प्रतिनिधि काव्यकार हुन् ।

 

९) २००७ सालको परिवर्तनपछि नेपाली काव्यमा विभिन्न धाराहरूको प्रादुर्भाव हुनु नयाँ युगको द्योतकको रूपमा आएको छ । कला कलाको लागि भन्ने सिद्धान्तबाट यथार्थवादतर्फ, परम्पराबाट प्रयोगतर्फ र आत्मतुष्टिबाट अन्वेषणतर्फको मोडले ती सबै प्रवृत्तिहरूको मूल चरित्र लिँदैछ । यस्ता नयाँ धारका लेखक कविहरूमा विजयबहादुर मल्ल, जनार्दन सम, मोहन कोइराला, जगदीश शमशेर, श्यामदास वैष्णव आदि कवि लेखकहरूको नाम लिँदा गोपालप्रसाद रिमाल, गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, शंकर लामिछानेहरूको नाम किन छुट्न गयो बुझ्न सकिएन ।

ती लेखक कविहरूले साहित्यको धारलाई नयाँ दिशा दिने कार्य गरेका थिए । ती नामहरू जानाजानी छुटेको नहुन सक्छ । समालोचनातर्फ ईश्वर बराल, रामकृष्ण शर्मा, हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्र सिंह, रत्नध्वज जोशी, गोविन्दप्रसाद लोहनी, हृदयराज शर्माको नामलाई अघि सारिएको छ ।

१०) नेपाली भाषा साहित्यलाई प्रारम्भिक चरणमा बनारसबाट निस्किने सुन्दरी, माधवी र पछि काठमाडौंबाट प्रकाशनमा आएका 'शारदा', 'प्रगति', 'इन्द्रेणी', 'धरती' आदि केही पत्रिकाहरूको योगदान रहेको सम्झिनेयोग्य छ । नेपाली लेखकहरूलाई प्रकाशन संस्थाको पर्याप्तता नरहेको र उनीहरूले लेखनकार्यबाट जीविका चलाउन नसक्नेतर्फ पनि उक्त भाषणमा संकेत गरिएको छ । उनीहरूको आर्थिक दुरवस्थालाई श्री देवकोटा 'फलामे युगको अवस्था' को संज्ञा दिन्छन् । त्यस स्थितिको निवारणको लागि सरकारको सहायता नीति विकल्पको रूपमा अघि सार्दै शिक्षाको व्यापक प्रचार, राष्ट्रिय विश्वविद्यालयको स्थापनाले लेखकहरू समक्ष नयाँ क्षितिज खोल्ने विश्वास व्यक्त गरेका छन् ।

११) भाषा साहित्यको विकासमा लेखक संघहरूको गठन भएकोलाई सकारात्मक रूपमा लिँदै सरकारी स्तरबाट प्रोत्साहन नपाएको अवस्था छ । नेपाल एकेडेमी (हालको नेपाल प्रज्ञा प्रतिष्ठान) र मदन पुरस्कार पुस्तकालय गुठीको स्थापना हुनु उत्साहप्रद कार्य हो ।

१२) रामायण, महाभारत र पुराण साहित्यको मुक्तकण्ठले प्रशंसा गर्दै तिनले हाम्रो जनजीवन र यहाँका साहित्यमा गहिरो प्रभाव पारेको हामीलाई थाहा हुन्छ । ती साहित्य आफैंमा उत्कृष्ट हुँदाहँदै पनि पण्डित पुरेतका हातमा परेपछि अपठित सर्वसाधारणको उत्पीडनको नयाँ साधन बन्न पुगेको हाम्रो ध्यान आकृष्ट गरेका छन् । साहित्यमा ती पौराणिक काव्यले हाम्रा कल्पनालाई सम्पन्न रसबल पुर्‌याएका थिए । तर त्यससँगै हाम्रो बौद्धिक क्षितिजलाई साँघुरो र सीमित पारेको पनि अप्रिय सत्य हो ।

१३) आधुनिक साहित्यको वर्तमान धारामा विज्ञान र जिज्ञासाका भावनाले प्रवेश गरिरहेको छ । तर त्यससँगै अभिव्यञ्जनाका जराजीर्ण रूप र माध्यमहरूप्रति असन्तोषको अभिव्यक्ति भइरहेको स्थितिबोध हुन्छ । व्यक्तिको चेतनामा परिवर्तन आएको छ र त्यो व्यापक पनि भएको छ तर अझै पनि वर्गीय स्वार्थहरूको बोलवाला रहिरहेकै छ भन्नेतर्फ श्री देवकोटाको अवलोकन आज पनि असान्दर्भिक बनिसकेको छैन । लेखकको चिन्तन र विचारमा आर्थिक, राजनीतिक आदि वातावरण र सामाजिक जीवन पद्धतिबाट प्रभावित रहन्छ । लेखकले पनि आफ्नो युगलाई त्यसरी नै प्रभावित पार्नुपर्छ, जसरी युगले लेखकको चरित्र निर्माणमा प्रभाव पार्छ ।

१४) आज नेपाली लेखकहरूको विश्व दृष्टिकोण फराकिलो भइरहेको छ । उपयोगिता र सौन्दर्यको सामञ्जस्यपूर्ण समन्वयमा जीवनका निम्ति र विनाशका विरुद्ध, सहअस्तित्वका निम्ति र सैनिक आक्रमणविरुद्ध र राष्ट्रिय स्वाधीनताका निम्ति जागरुक जनताले विश्वसमुदायबाट शक्तिशाली समर्थन पाउन थालेका छन् । यसतर्फ नेपाली लेखकहरूको विशेष ध्यान जान थालेको छ । श्री देवकोटा विश्व मानवताको र सामाजिक न्यायसहितको प्रजातन्त्र र समृद्धिको वकालत गर्छन् ।

१५) लेखकले भविष्यको दायित्वलाई आत्मसात् गर्नेतर्फ पनि श्री देवकोटा सचेत गराउँछन् । लेखकको स्वतन्त्रता लेखक बसेकै समाजको आर्थिक, सामाजिक नियमहरूमाथि निर्भर रहने हुँदा हामीले निकट भविष्यमा सामाजिक, आर्थिक प्रणालीमा हेरफेर र दृष्टिकोणको परिवर्तनमाथि ठूलो अपेक्षा राख्छौं । अन्तर्राष्ट्रिय साहित्य क्षेत्रसँग हाम्रो सम्पर्क छैन । यस्तो सम्पर्क स्थापित गर्नमा सहायक हुने साहित्यिक अनुवादहरूको पनि हामीसित अभाव छ ।

नेपालको नयाँ त्रिभुवन विश्वविद्यालय, रोयल नेपाल एकेडेमी र यस्तै अन्य संस्थाहरूले यस अभावको पूर्तिमा योगदान पुर्‌याउनेछ एवं बन्धुत्वपूर्ण संस्कृतिहरूको आपसी सम्पन्नतामा बृद्धिको आशा राख्न सकिन्छ । महाकवि एक ठाउँमा उद्घोष गर्छन् -'हामी पुराना भइसकेका विधिविधानलाई अस्वीकार गछौँ । हामी नयाँ रूपको खोजी गर्दछौं । हाम्रा साहित्यको वर्तमान प्रवृत्ति आदर्शवादबाट यथार्थवादतर्फ र कपोलकल्पनाबाट तथ्यतर्फ अभिमुख छ ।'

१६) भाषणको अन्त्यमा नेपाली साहित्य-संस्कृतिको गौरवपूर्ण भविष्यबारे सुललित शब्दमा आफ्ना सपनालाई यसरी राख्छन् 'हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृंखलाको भुलभुलैयामा बिलाउने छैन । हाम्रो साहित्य पनि एउटै प्रवाहमा सम्मिलित भएर एशिया र अफ्रिकालाई परिवेष्ठित गर्ने साहित्यको असीम सागरमा मिल्न पुग्नेछ । यस महासागरद्वारा सिञ्चित त्यो साहित्य पहिलेभन्दा अझ बढी सुन्दर र सम्पन्न बनेर जलबिन्दुको रूपमा फेरि हाम्रा पहाडहरूमा बर्सिनेछ ।' कति आशावादी र सुन्दर उक्ति !

१७) यसरी महाकविले आफ्नो ऐतिहासिक भाषणमा नेपाली साहित्यको समग्र पक्ष र त्यसका फलकलाई ३२ सय र चानचुन शब्दमा मिहिन तरिकाले समेटेका छन् । उनले बाँचेको र साहित्यसाधना गरेको समयमा धेरै परिवर्तन आइसकेको छ । देवकोटाको समयमा लेखकीय साधनाबाट गुजारा चलाउनु फलामको चिउरा चपाउनु सरह थियो । तर आज साँच्चिका लेखकले लेखनकै आर्जनबाट आफ्नो भौतिक आवश्यकता पूरा गर्न सक्छ । देवकोटाको समयमा साहित्यिक संस्था जम्माजम्मी दुईवटा थिए । आज गैरनाफामुखी निजी साहित्यिक संस्थाहरू सयौंको संख्यामा खुलेका छन् र धेरैजसो संस्थाले आफ्नो औकातअनुसार लेखक कलाकारलाई आर्थिक पुरस्कार दिने गरेका छन् ।

१८) श्री देवकोटा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा परिचय गराउने पहिलो अभियन्ता हुन् र अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो साहित्यकार पनि उनी नै हुन् । यो अवसर उनले आफ्नै प्रतिभाले प्राप्त गरेर नेपालको गौरवलाई बढाएका छन् ।

श्री देवकोटाले जुन विशाल क्यानभासमा विषयहरू उठाएका छन् त्यसमा विशाल ग्रन्थ बन्ने सामग्री छन् । यस भाषणको सान्दर्भिकता आज पनि छँदैछ । भाषणको ऐतिहासिक महत्त्व र यसको सान्दर्भिकतालाई हेर्दा यस उपर जति चर्चा हुनुपर्ने हो,बहस हुनुपर्ने हो त्यस अनुरूप भएको देखिँदैन । तसर्थ भविष्यमा पनि नेपाली लेखकवर्गलाई उपादेयता रहने देखेर यहाँ संक्षिप्त विवेचनाको प्रयास भएको हो । महाकवि देवकोटा धन्य छन्, हामीलाई पनि धन्य बनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.