तिहार ल्याउने 'ठूलो भैलो'
अचेल गाउँमा अनेकन भैलो छिरेका छन् । सहरमा बग्रेल्ती खुलेका डान्स सेन्टरमा सिकेको नृत्य आँगनमा प्रदर्शन गर्दै 'भैलो' भन्ने युवकयुवती प्रशस्तै छन् । ती असाध्यै राम्रो नाच्छन्- ठ्याक्कै फिल्मको हिरो हिरोइनजस्तै । तर, टेलिभिजन र डान्स सेन्टरकृत नाचगानले तिहार नल्याउँदो रैछ । तिहार आउन त 'ठूलो भैलो' नै नाच्नुपर्छ । मान्छेको हूल हुँदैमा, गीत र नाच हुँदैमा कुनै पनि भैलो 'ठूलो भैलो' बन्दैन । 'ठूलो भैलो' फगत डेक र डान्स होइन ।
सहरको अग्लो बिल्डिङभित्र बसेको म तिहारका सम्झनाहरूले घेरिएको छु । मन त पहिल्यै पुगेको हो 'मारुनी', 'गर्रा' र 'खेली' नाचमा । यी तीन नाच भएपछि मात्रै भैलो 'ठूलो भैलो' बन्छ- यसै भन्छ मेरो साथी तेजनारायण पौडेल । ऊ वर्षौंदेखि गाउँको ठूलो भैलोमा सक्रियतापूर्वक सहभागी भइआएको छ ।
०००
तिहारको याम । औंसीको अँधेरो रात र धर्तीभरि तारा झरेजस्तै आभास दिनेगरी बलिरहेका दीपहरू । जब समयको सुईमा भैलोको धुन मच्चिन थाल्छ, मनभित्रको आँगनमा मारुनी मच्चिन्छ । मनभरिभरि सोरठी घन्किन्छ । चोलो र घाँघर भिरेर अझ गालामा रातो फा दलेर तरुनीजस्तै बनेका पूर्णे दाइको नाच सात गाउँमै हिट छ । 'यो जत्तिको राम्रो मारुनी नाच्ने त यो सात गाउँमा कोही छैन', अजी यसै भन्नुहुन्छ ।
ठूलो भैलोको शान नै फरक । बाटोमा हिँड्दा पनि जोर मादल घन्काउँदै, मुजुरा बजाउँदै हिँड्छ । 'उ आयो ठूलो भैलो', हामी केटाकेटी हल्लाखल्ला गर्दै पछि लाग्छौं ।
ठूलो भैलो तिहार बोकेर आउँछ ।
मादक मारुनी
'क्या राम्रो सुभायो
क्या राम्रो सुभायो
मारुनी नानीको बारुले कम्मरे
क्या राम्रो सुभायो'
नाच्नेहरू खुट्टाले ताल दिइरहन्छन् । अनि पालो आउँछ नर्तकहरूको । कम्मर मर्काउँदै, शिर हल्लाउँदै, हातले भाउ लगाउँदै अघिपछि गर्दै, आफैंले गाउँदै नाचेपछि बुरुक्क उफ्रँदै मादलेले मादल फर्काउँछ । एउटा ताल समाएर अर्को ताल लिँदै गर्दा जब मादलले घिन्ताङको आवाज दिन्छ, त्यसैलाई मादल फर्काइनु भनिन्छ । मादल फर्काउँदा पुरसिङे र मारुनी फनक्क घुम्छन् । उनीहरूको घाँघर फर्रर बतासिन्छ । खुट्टाका झुम्का बज्छन् । सोरठीको भाका, जोर मादल, मुजुरा, बाँसुरी र झंकारहरूले भरिएको गीतको मुच्र्छना । आकाश थर्किन्छ । धर्ती हल्लिन्छ ।
सोरठीको भाकामा नाचिने मारुनी नाचको विशेषता हो- स्त्री भेषमा सजिएका पुरुष । तिनैलाई भनिन्छ- मारुनी । चोली र घाँघर लगाएको, मखमलको पछ्यौरी भिरेको, गलामा पोते, गालामा फा, ओठमा लिपस्टिक लगाएका बाबुराम आले र तिलक नेपाली मुहारमा हल्का लज्जा पोतेर चिटिक्कका मारुनी बन्छन् ।
दुवै छेउमा मारुनी राखेर घाँघर, कालो आसकोट, फेटा गुथेको शिरमा पहिरेको ढाकाटोपी, खुट्टामा झुम्का लगाएर अलिकति उत्ताउलो, फुर्तिलो बनेर, नाइके पल्टेर नाच्ने नर्तक नै हो- पुरसिङे । सजिलो छैन पुरसिङे बन्न । गीतको तालमा शिर हल्लाउनुपर्छ, कम्मर मर्काउनुपर्छ अनि मादल फर्काउँदा बुरुक्क उफ्रेर रौनक थप्नुपर्छ । गणेश परियारजस्तो गतिलो पुरसिङे को पो बन्नसक्छ र बाबै !
बीचमा पुरसिङे, उसको छेउछाउमा मारुनी अनि दुवै मारुनीको छेउमा एकएकवटा मादले । कम्मरमा मादल भिरेर गीतकै तालमा शरीर ढल्काउँदै हाउभाउ दिँदै नाच्ने सिपालुमात्रै मादले बन्छ । प्रस्ट छ, मादल बजाउन जानेरमात्र बनिँदैन मादले ।
परिदृश्यमा देखिने पाँचजनाको टोलिले मात्र कहाँ पूरा हुन्छ र मारुनी ? हूलमा लुकेर बाँसुरी र मुजुरा बजाउने वाद्यवादकलाई बिर्सन हुँदैन । अनि हरेकपटक मादल फर्काउँदा चहक हालेर उल्लास सिर्जना गर्ने ठिटाठिटीलाई बिर्सेर पनि ठूलो भैलो बन्दैन । मारुनी नाच्ने सोरठी भाकामा लोककथा तथा पूराकथाको छाप पाइन्छ । सोरठीमा अटाउने देवीदेउता आराध्यदेवभन्दा बढी सौन्दर्यका प्रतीक लाग्छन् ।
'कहाँ बास्यो भाले मजुर
कहाँ बास्यो भाले मजुर
हो हो सपनीमा पार्वतीलाई देखेथेँ
उनैलाई भेट्न जान्छु म त हजुर'
०००
गीतबिनाको नाच
ठूलो भैलोको अर्को चिनारी हो- गर्रा नाच । गीतबिना मादलेको साथमा मारुनी वा पुरसिङे दुईजनामात्रै परिदृश्यमा देखिने गरी नाच्ने नाचको नाइके भने नेपथ्यको बाँसुरीवादक हुन्छ । बाँसुरीको मूल भाकामा साथ दिँदै मादलेले सँगैको मारुनी वा पुरसिङेलाई नचाउँछ ।
मादलेसँग नाच्ने मारुनी वा पुरसिङेमध्ये एक हुन्छ । सुरिलो बाँसुरी धुन, त्यसलाई साथ दिँदै बजिरहेको मादल र कम्मर मर्काउँदै, शिर हल्लाउँदै, घुम्दै, उफ्रिँदै, अनेकन हाउभाउ दिँदै नाचिरहेको मारुनी वा पुरसिङे । गर्रा नाच नाचिरहँदा मौनता छाउँछ माहोलमा मानौं, बाँसुरीको धुनभन्दा ठूलो आवाज संसारमा अर्को छैन । सबै आवाज निस्तेज भइदिन्छन् ।
०००
खेलीको खेल
'बस भन न
बस भन न
बिरन्तरी जोगीलाई
बस भन न'
नितान्त मौलिक खस शब्द । झट्ट बुझ्न पनि गाह्रो । गीतको लयमा साथ दिँदै बजिरहेको मादल र मुजुरा परिदृश्यमा देखिने गरी नाचिरहेका मादले र मारुनी वा पुरसिङे । यसैलाई भनिन्छ खेली नाच । ठ्याक्कै गर्रामा जस्तै तर बाँसुरीको स्थान लिएको खेली गीत । खेलीको खेलले रनभुल्ल पार्छ ।
०००
यत्तिमै सकिँदैन ठूलो भैलोको नाच । हरेक भैलोमा जस्तै अन्तिममा आउँछ दानदक्षिणाको चरण । गीतमै मागिन्छ दक्षिणा-
'पाम बिदा घर जाम
रंगापतिदेवो पाम बिदा घर जाम'
सिंगो मारुनी टोली नै गीत गाउँदै बिदा माग्छ । घरबेटी बज्यै नाङ्लोमा चामल, चामलमा दियो, छेउछाउमा रोटी (सेल, फिनी, झिनिया), अनि कड्कने नोट राखेर आँगनमा मूल दैलोमा राखिदिन्छिन् । पुरसिङे चलाख छ । चित्तबुझ्ने दक्षिणा छ÷छैन नाच्दानाच्दै हेरिभ्याउँछ ।
चित्त बुझ्दो छैन भने शिरमा नाङ्लो राखेर एकदुई फन्को घुमेर थपक्क आँगनमै राखिदिन्छ । घरबेटी बाजेबज्यैले कुरो बुझेर थपथाप गरिदिन्छन् । चित्त बुझ्ने भएपछि शिरमा नाङ्लो राखेर हातले नसमाई मादलुको तालमा फननन घुम्दा जब घाँघरले वृत्त बनाउँछ । तिहार टुप्लुक्क आँगनमा आइपुग्छ ।
मेरा गाउँमा, सधैंसधैं यसैगरी ठूलो भैलोले तिहार बोकिल्याउँछ । ठूलो भैलोको देखासिकी गर्दै केटाकेटी तीन÷चारजनाको टोली बनाई घरघर जान्छन् । नाचेजस्तो गर्छन् र दक्षिणा माग्छन्-
'छानामाथिी घिरम्ला
पैसा दिए झट्टै हिडम्ला' ।