हरिसिद्धि र आदर्शको राेचक जित
![हरिसिद्धि र आदर्शको राेचक जित](https://annapurnapost.prixacdn.net/media/albums/hari-sidhi-5840ff300d9509.74192449_2Iu07g2FGg.jpg)
काठमाडौः रेडबुल फुटसल लिगअन्तर्गत बिहीबार भएका खेलमा हरिसिद्धि फुटसल र आदर्श फुटसलले जित हात पारेका छन् । समूह ‘बी’ अन्तर्गतको खेलमा हरिसिद्धि फुटसलले तालिकाको शिर्ष स्थानमा रहेको शंखमुल फुटसललाई ४–१ गोलले हरायो ।
हरिसिद्धि फुटसलको जितमा राइफी महर्जन र रिपु भुलानले दुईदुई गोल गरे । शंखमुल फुटसलका अभय रानाले एक गोल गरे । हरिसिद्धि फुटसलका गोलरक्षक मनोज तामाङ प्लेयर अफ दी म्याच घोषित भए । हरिसिद्धि फुटसल आफ्नो घरेलु मैदानमा उत्रिएको थियो ।
समूहमा हरिसिद्धि फुटसल ११ खेलबाट २० अंक जोडेर तेस्रो स्थानमा छ । शीर्ष स्थानमा आसीन शंखमूल फुटसलको ११ खेलबाट २५ अंक छ । शंखमूल फुटसलले प्रतियोगितामा आठ जित, एक बराबरी र दुई हारको नतिजा निकालेको छ ।
१० खेलबाट २० अंक जोडेको कुमारी फुटसल दोस्रो स्थानमा छ । सामाखुसी फुटसल ११ खेलबाट १९ अंक जोडेर तालिकाको चौथो र ११ खेलबाट १९ अंक जोडेको ताहाचल फुटसल पाँचौं स्थानमा छन् ।
समूह ‘ए’ अन्तर्गतको खेलमा आदर्श फुटसलले रजनी फुटसलमाथि ५–४ गोलको रोमाञ्चक जित हासिल गर्यो । रजनी फुटसलको मैदानमा भएको खेलमा आदर्श फुटसलका लागि अविरल रिजालले दुई तथा दिनेश खड्का, राजु बुढाथोकी र सुरेन्द्र कटुवालले एकएक गोल गरे । रजनी फुटसलका रुसन केसीले दुई तथा विकेन शर्मा र सुमन कार्कीले एकएक गोल गरे । आदर्श फुटसलका अविरल रिजाल प्लेयर अफ दी म्याच घोषित भए ।
आफ्नो समूहमा ११ खेलबाट सात अंक जोडेको आदर्श फुटसल आठौं स्थानमा छ । ११ खेलबाट १२ अंक बटुलेको रजनी फुटसल पाँचौं स्थानमा छ । तालिकाको शीर्ष स्थानमा आसीन किक अफ फुटसलको ११ खेलबाट २७ अंक छ ।
प्रतियोगितामा किक अफ फुटसलले नौ जित र दुई हारको नतिजा निकालेको छ । ११ खेलबाट २२ अंक बटुलेको ढुकु फुटसल हब दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको बानेश्वर रिक्रिएसनल सेन्टरको १० खेलबाट २२ अंक छ । ११ खेलबाट २० अंक जोडेको वाइट हर्स चौथो स्थानमा छ । आमा इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा दुवै समूहमा आठआठ टोली सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)