प्यासिफिक ग्लोबलमा गाभिदै
काठमाडौः ग्लोबल आईएमई बैंक लिमिटेडले प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । ग्लोबल आईएमई बैंकको बुधबार सम्पन्न विशेष साधारण सभाले १३ करोड चुक्ता पुँजी भएको प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्झौता पारित गरेको छ ।
सभाले प्यासिफिक डेभलपमेन्ट बैंकको सय कित्ता सेयरलाई ग्लोबल आईएमई बैंक लिमिटेडको ६९.२६ कित्ता सेयर दिने गरी सेयर स्वाप अनुपात कायम गरेको छ । उक्त प्राप्ति पश्चात ग्लोबल आईएमई बैंक लिमिटेडको चुक्ता पुँजी ६ अर्ब २५करोड ६३ लाख पुग्नेछ ।
प्राप्ति सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको स्वीकृति लिई पुस १५ गतेभित्र एकिकृत कारोबार गर्ने बैंकले जनाएको छ ।
८१ अर्ब निक्षेप, ६९ अर्ब कर्जा लगानी रहेको बैंकका ९१ शाखा, नौ वटा राजस्व संकलन काउन्टर, एक सय तीन एटीएम, ६ एक्सटेन्सन काउन्टर, भारत तथा अस्ट्रेलियामा सम्पर्क कार्यालय, ४४ वटा शाखारहित बैंकिङ सेवा तथा एउटा सीडीएस काउन्टर छन् ।