प्राविधिक विषयको नतिजा कमजोर
काठमाडौं: सामुदायिक विद्यालयमा प्राविधिक विषय पढ्ने विद्यार्थीको उपलब्धि निकै कमजोर देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको कक्षा ११ को वार्षिक नतिजाले सामुदायिक विद्यालयलाई प्राविधिक विषय पढाउने सम्बन्धन दिनुअघि पर्याप्त तयारी नभएको देखाएको हो ।
कक्षा नौदेखि प्राविधिक विषय पढेर आएका विद्यार्थीमध्ये कक्षा ११ को परीक्षामा ८० प्रतिशत अनुत्तीर्ण भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार २१.५३ प्रतिशतमात्र उत्तीर्ण भएका छन् ।परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार परीक्षामा सहभागी दुई हजार एक सय ७८ जनामध्ये चार सय ६९ जनामात्र उत्तीर्ण भएका हुन् ।
८० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु भनेको मुलुकमा प्राविधिक शिक्षाको भविष्य नै संकटमा परेको हो कि भन्ने चिन्ता शिक्षा मन्त्रालयकै अधिकारीले गरेका छन् । मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. हरिप्रसाद लम्सालले भने, 'नतिजा घटेको विषयमा परीक्षा बोर्डमै गम्भीर बहस भएको छ । यसले हामी सबैलाई चिन्तित तुल्याएको छ ।' केही दिनभित्रै छलफल गरेर प्राविधिक शिक्षा सुधार्ने विषयमा मन्त्रालयले कार्ययोजना बनाउन लागेको पनि उनले जानकारी दिए ।
शिक्षा मन्त्रालयले गत वर्षदेखि सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सुरु गरेको थियो । पर्याप्त भौतिक संरचना अभाव, प्रयोगशालामा उपकरण अभाव तथा पढाउने शिक्षकको समेत कमी हुँदाहुँदै पनि प्राविधिक विषय पढाएको भन्दै मन्त्रालय र तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को समेत आलोचना भएको थियो ।
प्राविधिक विषयको पढाइ सञ्चालन गर्ने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) हुँदाहुँदै उच्च माध्यमिक शिक्षा परिषदन्तर्गत रहने गरी कक्षा ११ मा प्राविधिक विषयको पढाइ सञ्चालन गर्ने विषयमा मन्त्रालयकै सहसचिवबीच पनि मत बाझिएको थियो । सामुदायिक विद्यालयमा प्राविधिक विषय पढाउन दिनुपर्ने र दिन नहुने विषयमा लामो बहस भएपछि असोजमा मात्र सरकारले पढाउन दिने निर्णय गरेको थियो ।
'सामान्य धारको पढाइ सञ्चालन गर्ने विद्यालयले साउनदेखि कक्षा ११ को पढाइ सुरु गरे । हामीलाई भने असोजमा सम्बन्धनको निर्णय गरेर माघमा मात्र शिक्षक दिने निर्णय भयो', प्राविधिक तथा प्राविधिक शिक्षा विद्यालय सञ्जालका अध्यक्ष तथा भक्तपुरको त्रिपद्म उच्च माध्यमिक विद्यालयका प्राचार्य राम हाडाले भने, 'नतिजा खस्कनुमा सरकारी नीति मुख्य दोषी छ ।'
प्राविधिक धारबाट कक्षा ११ मा भर्ना हुने विद्यार्थी पहिलो ब्याच भएका कारण उनीहरूका लागि पर्याप्त पुस्तक नहुनु, विद्यार्थीलाई परीक्षामा कस्तो मोडलको प्रश्न आउँछ भन्ने विषयमा जानकारी नदिनु आदि नतिजा थोरै आउनुको मुख्य कारण भएको उनले बताए । विद्यार्थीलाई परीक्षा दिन सम्बन्धित विद्यालयभन्दा धेरै टाढाका जिल्लामा जान बाध्य पारिएका कारण पनि नतिजामा कमी आएको उनको दाबी छ ।
अहिले मुलुकभर ७७ वटा सामुदायिक विद्यालयले कक्षा ११ र १२ मा प्राविधिक धारको पढाइ सञ्चालन गरिरहेका छन् । यस्ता विषय पढेका विद्यार्थीले दुवै कक्षामा गरेर १२ सय पूर्णांकको परीक्षा दिनुपर्छ । जसमा ४० अंक सैद्धान्तिक तथा ६० अंकको प्रयोगात्मक परीक्षा हुन्छ ।
एसएलसीमा ग्रेडिङ विधिबाट नतिजा प्रकाशन गरिए पनि यी विद्यार्थीको कक्षा ११ को नतिजा भने प्रतिशतमा सार्वजनिक गरिएको छ । 'ग्रेडिङमा नतिजा सार्वजनिक भएपछि सबै विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाए तर प्रतिशतमा नतिजा सार्वजनिक गर्दा अनुत्तीर्ण भए', परीक्षा नियन्त्रक अर्यालले भने ।