ओलीबारे लेखकले भनेः ‘सपना देखाए देश ब्युँताए'(भिडियाेसहित)

ओलीबारे लेखकले भनेः ‘सपना देखाए देश ब्युँताए'(भिडियाेसहित)

काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओलीले बोल्ने कार्यक्रममा धेरै श्रोता उत्सुक र जिज्ञासु हुन्छन् । उनीहरू ओलीबाट केही न केही रोचक टिप्पणीको अपेक्षा गरेर बसिरहेका हुन्छन् ।

शुक्रबार तिनै ओली प्रमुख अतिथि थिए । उनको पछाडि उनकै बडेमानको फोटो राखिएको थियो, जसमा लेखिएको थियो, ‘म प्रधानमन्त्री छँदा ।' उनले प्रधानमन्त्री रहँदा औपचारिक रूपमा सार्वजनिक गरेका भनाइ र अन्तर्वार्ता समेटेर प्रेस चौतारी नेपालले तयार गरेको पुस्तक लोकार्पण कार्यक्रम थियो त्यो ।

पोखरामा हालै सम्पन्न जनवर्गीय संगठन भेलाको निर्णयबमोजिम यस कार्यक्रममा पनि कुनै माला, खादा र ब्याच थिएन । वक्ता र प्रमुख अतिथि, कार्यक्रमका सभापतिबाहेक सबै दर्शकदीर्घामा थिए । एमाले महासचिव ईश्वर पोखरेललगायत पदाधिकारी र शीर्ष नेता कार्यक्रममा सहभागी थिए ।

ओली प्रमुख अतिथि भएको कार्यक्रममा प्रायः भाषणको बजार उनकै पक्षमा हुन्थ्यो । तर हिजो भने उनको बजार अरूले कब्जा गरिदिए । उनलाई कुनै राजनीतिज्ञले होइन, लेखक तथा पत्रकारले ‘विस्थापित' गरेका थिए । त्यो पनि उनकै बारेमा विश्लेषण गरेर ।

‘केपी ओली त ठेट पूर्वेली भाषामा बोल्नुहुन्छ । त्यसको छाप बेग्लै छ । उहाँको यो बोल्ने शैली नेपाली गृहिणीलाई खुब मन पर्छ । त्यसमाथि उहाँजस्तो प्रभावशाली वक्ताले बोलेका कुरामा टिप्पणी गर्नु अति नै गाह्रो कुरा हो', लेखक श्रीकृष्ण अनिरुद्ध गौतमले आफ्नो भनाइ सुरु गरे । उनले ओली प्रधानमन्त्री बन्दा आफू सकारात्मक नभए पनि समयक्रमले त्यो सोचाइ गलत सावित गरिदिएको उनले बताए ।

‘एउटा मान्छे ऊ नै हो, जसले देशमा विकास हाम्रै पालामा सम्भव छ भन्यो । प्रधानमन्त्रीका रूपमा देशवासीलाई अब केही हुन्छ भनेर सपना देखायो ।' अनिरुद्ध गौतम

चीनसँग यातायात तथा पारवहन सन्धि भएपछि ओलीको व्यक्तित्वले शिखर छोएको र त्यहीँबाट उनलाई प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र भएको उनले दाबी गरे । ‘एउटा मान्छे ऊ नै हो, जसले देशमा विकास हाम्रै पालामा सम्भव छ भन्यो । प्रधानमन्त्रीका रूपमा देशवासीलाई अब केही हुन्छ भनेर सपना देखायो । तर हामीमध्ये त्यस्ता नेपाली पनि रहेछौं- सामाजिक सञ्जालमा कागजका नौका बनाएर त्यसलाई उडाइयो । अझ बालुवाटार अगाडि कागजका नौका प्रदर्शन गरेर गरिएको विरोध त्यही बेला हेर्न पाइयो', उनले भने ।

अर्का लेखक कृष्णमुरारी भण्डारीले ओलीलाई म्याक्सिम गोर्कीकी हजुरआमासँग तुलना गरे । ‘देश अब सिद्धियो, गयो, कोमामै पुग्यो भनेर हरेक नेपालीले छाती पिटिरहेका बेला केपी ओलीले ब्युँताए । मलाई त दक्षिण एसियामै उनको उचाइको नेता छैन जस्तो लाग्छ । मैले त लेखेँ पनि, नेपालमा पृथ्वीनारायण शाह, बीपी कोइराला र केपी ओलीलाई नै मान्नुपर्छ', उनको टिप्पणी थियो ।

पत्रकार विजय पाण्डेले आफूले कसैलाई पनि माननीय भनेर सम्बोधन नगरेको भन्दै अब ओलीलाई त्यो सम्बोधन गर्ने बताए । ‘मैले जिन्दगीमा कसैलाई पनि माननीय भनेर सम्बोधन गरेको छैन तर जिन्दगीभर ओलीजीलाई माननीय भन्नेछु । पदमा रहँदा होस् या नरहँदा । ओलीजी प्रधानमन्त्री हुँदा बालुवाटारमा भेटेर माननीय भनेको होइन', पत्रकार विजय पाण्डेले टिप्पणी गरे । मानवअधिकारकर्मी चरण प्रसाईंले ओली लाइट र हाइट दुवै भएको नेता भनेर टिप्पणी गरे । कार्यक्रममा अन्तिम वक्ता रहेका ओलीले भने सबै वक्तालाई धन्यवाद र आभार दिए । उनी आफूले भने भाषणमा धेरै समय खर्च गरेनन् ।

भिडियाे हेर्नुहाेस्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.