एमालेले संविधानका विषयमा भ्रम फैलायो : गृहमन्त्री निधि
पर्वत : उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले आफ्नो लोकप्रियता बढाउनका लागि एमालेल नयाँ संविधानका विषयमा भ्रम फैलाएको आरोप लगाए।
आइतबार पर्वतको कुश्मामा रहेको सहिद स्मारक आवासीय माध्यामिक विद्यालयको रजत जयन्तीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री निधिले एमालेले संघीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको आरोप लगाए ।
उनले एमालेले मधेशलाई अर्को देशको देख्ने गरेको र हिमाल पहाडको दुरी बढाउने काम गरेकाले मधेसीले उठाएका जायज मागसमेत पूरा गर्न नखोजेको धारणा राखे । एमालेले घिनलाग्दो राजनीति ग¥यो उनले भने–मधेसीलाई भारतीय देखेर पहाड र हिमालको दुरी बढाउने काम गरेको छ ।
मन्त्री निधिले संविधानको पूर्ण कार्यान्वयनका लागि देशमा चुनाव गर्नुपर्ने बताउँदै एमालेले संविधान संशोधन सघाउनुपर्ने बताए ।
देशमा चुनावका लागि पहिलो सर्त संविधान संशोधन हो उनले भने–त्यसका लागि एमाले समेत तयार हुनुपर्छ । उनले एमालेले पछिल्लो समय देखाएको लचकताले सकारात्मक देखिएको बताए ।
उनले संविधान कार्यान्वयनका लागि आगामी २०७४ माघ ७ गतेभित्र तिनै तहको चुनाव सक्नुपर्ने भएकाले सोही अनुरुप लाग्न कार्यकर्तालाई आग्रह गरे । संविधानको पूर्ण कार्यान्वयनका लागि आगामी एक वर्ष भित्रमा सबै तहको निर्वाचन गर्ने तयारी सरकारले गरेको बताउँदै निधिले कार्यकर्तालाई तयारी हुन निर्देशन दिए ।
चुनावको लागि आवश्यक पर्ने कानुनको शंसोधन गर्नुपर्ने भएकाले संसदमा पेश गरिएको र केही दिनमा नै त्यसले मूर्तरुप पाउने समेत मन्त्री निधिले बताए । सरकारले सबै तयारी सकेकाले वैशाख वा जेठको पहिलो सातामा नै चुनाव हुने उनको भनाइ छ।,
मन्त्री निधीले तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतले हस्ताक्षर गरेका विषय नै संशोधनका लागि दर्ता गरिएको दाबी गरे । आफूले गर्दा राष्ट्रघात नहुने र आफु सरकारबाहिर रहेका बेला सत्ता रहने पार्टीले संशोधन दर्ता गर्दा राष्ट्रघात भयो भन्नु जायज उनको भनाइ छ।
निधिले प्रदेश टुक्राउँदैमा मुलुक नडुब्ने भएकाले तिललाई पहाड नबनाउन आग्रह गर्दै नागरिकता र भाषाको विषयमा पनि सहमतिमा संशोधनलाई परिमार्जन गर्न सकने बताए ।