फागुन सात

 फागुन सात

एक अर्थमा प्रजातन्त्र अनुदार शासन व्यवस्था हो । त्यहाँ मूल्य, मान्यता र परम्परालाई अवज्ञा गर्न कठिन हुन्छ । तर प्रजातन्त्र उराठलाग्दो कर्मकाण्डी व्यवस्था बन्न पुग्यो भने त्यो जनताको चाहना र आकांक्षालाई प्रतिनिधित्व गर्ने जीवन्त प्रणालीका रूपमा स्थापित हुन सक्दैन । तर प्रजातन्त्र र जनताका बीचमा सम्बन्ध टुटेमा त्यसले प्रजातन्त्रको मौलिक मान्यतालाई समाप्त पार्दछ ।

नेपालमा ६७ औं प्रजातन्त्र दिवसलाई कर्मकाण्डीरूपमा मनाइए पनि त्यसमा त्यसका ‘हिरोहरू' लाई उचित सम्मान नदिइएको मात्र हैन, अपमानित गरिएको अवस्था छ । प्रजातन्त्र जनताद्वारा जनताका लागि को राज्यप्रणाली र शासन व्यवस्था हो । मुलुकको आत्मसम्मान, सार्वभौम हैसियत र स्वतन्त्रता अनि जनताको सामूहिक आत्मनिर्णयको अधिकारप्रति संवेदनशील, समर्पित र प्रतिबद्ध नभएको व्यक्ति या नेतृत्वले प्रजातन्त्र बलियो बनाउन सक्दैन । उ कर्मकाण्डी बन्न जान्छ । अहिले नेपालमा अधिकांश राजनीतिक नेतृत्व त्यस अर्थमा कर्मकाण्डी छन् र प्रजातन्त्रको रट लगाएर मुलुक र प्रजातन्त्रप्रति बफादार रहेको अर्थ या सन्देश प्रवाह गर्नका लागि मात्र ।

प्रजातन्त्रको स्थापना अक्सर उच्चतम उत्सर्ग र त्यागविना सम्भव हुँदैन । नेपाल कहिल्यै पनि बाह्य शक्तिको अधिनमा नरहेको मुलुकका लागि राष्ट्रियता र सार्वभौम हैसियतको निरन्तरताले बढी महत्ववपूर्ण स्थान लिनु अस्वाभाविक थिएन शासक र आम जनताका सोचाइ र बुझाइमा । प्रजातन्त्रले राष्ट्रियता र स्वतन्त्रता मजबुत बनाउँछ तथा हरेक नागरिक राष्ट्रका समान सरोकारवाला भएको सन्देश पनि जान्छ भन्ने सोचको विस्तार आवश्यक थियो ।

२००७ सालमा राजा त्रिभुवन र प्रजातन्त्रका लागि मुलुकभित्रै संगठित तर गोप्य अभियानमा लागेका ‘प्रजा परिषद्' बीचको सम्बन्ध तथा सहमति नेपालमा प्रजातन्त्रको दरिलो आधार बन्यो । त्यसपछि नै नेपालको अस्तित्वका लागि राष्ट्रियता र प्रजातान्त्रिक शक्तिबीच मेलमिलापपूर्ण सम्बन्ध र सहकार्य हुनुपर्छ भन्ने मान्यता विकसित भएको हो । मुलुकभित्रका ती शक्तिबीचको यही विश्वासका कारण नै राजा त्रिभुवनले विश्वास गरेका हुन् भारत र त्यहाँको तात्कालिन नेतृत्वलाई । आफू भर्खरै उपनिवेशबाट मुक्त भई प्रजातान्त्रिक मुलुकको नेतृत्व समालेको वर्गले नेपालको आन्दोलनलाई या प्रजातन्त्रतर्फको यात्रालाई सघाउन पुर्‍याउने छ भन्ने सोच विवेकसम्मत नै थियो, समग्र परिस्थितिको पृष्ठभूमिमा ।

विभिन्न उतारचढाव, आशंका, परस्पर विश्वास र राजा तथा दलका नेताहरूबीचको तिक्ततापूर्ण सम्बन्धले प्रजातन्त्रले जरा गाड्न नसकेको मात्र हैन दुर्भाग्यवश प्रजातन्त्र र राष्ट्रियताका प्रतिकात्मक शक्तिहरू अलग धु्रवमा उभिन पुगे नेपालमा । २०४६ को आन्दोलन र २०४७ को संविधानले ती दुर्भाग्यलाई सम्बोधन गर्ने कोसिस गरे पनि केही हदसम्म आन्तरिक, सामाजिक, आर्थिक परिवेश र आन्तरिक तथा बाह्य षडयन्त्रबाट माओवादी आन्दोलन जन्मियो ।

बाह्य उक्साहट र अभिभावकत्वमार्फत नेपाली समाजले व्यवस्थापन गर्न नसक्ने परिवर्तनको कारक बन्यो माओवादी शक्ति । फागुन ७ मात्र हैन, त्यसका लागि त्रिभुवन र नेपाली एकताका नायक पृथ्वीनारायण शाहलाई समेत, या अर्को हिसाबले नेपाली इतिहास अवमूल्यन गर्ने प्रयास पनि भित्रिए ०६३ को परिवर्तनसँगै ।

फागुन ७ लाई कर्मकाण्डमा सीमित राखेर प्रजातन्त्र दरिलो हुँदैन । जबसम्म ००७ को परिवर्तन र राजा त्रिभुवनसहित चार सहिद शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालाललाई अवमूल्यन गर्ने वर्तमान शैलीले निरन्तरता पाउँछ, जनताले सम्मान पाउन सक्दैनन् । नेपाली राज्यको अस्तित्व र प्रजातन्त्रप्रति उसको क्रमिक विकासको मूल तारिख हो फागुन ७ । यो दिन आत्मसमीक्षाको अवसर पनि हो ।

के राजनीतिलाई बाह्यनिर्देशकको दायरामा ल्याएर मुलुकको सम्मान र स्वतन्त्रता बच्ला ? के आत्मसम्मान र स्वतन्त्रताविना प्रजातन्त्र सुरक्षित रहला ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.