मिचेल ओबामाको भाषण : सबैका लागि भोको हुनोस्
(मिचेल ओबामा सम्भवतः ती पहिलो प्रथम महिला हुन् जसले ह्वाइट हाउसबाट संघर्ष, साहस र आशाको ज्योति संसारभर छरिन् । आठ वर्ष ह्वाइट हाउसमा रहेर उनले अझै पनि हेपाइ खपिरहेको कालो जातिको हिम्मत, साहस, धैर्य र संघर्षको परिचय दिइरहिन् । सन् २०१५ को जुन ९ मा सिकागोमा रहेको ‘किंग कलेज’मा दिएको यो मन्तव्यमा अमेरिकाको दक्षिणी किनारको दक्षिणी क्षेत्रमा रहेका अफ्रिकी अमेरिकी समुदायको गाथा कहँदै उनीहरूको क्षमता र साहसको चर्चा गरेकी छिन् । भोकलाई उनले सफलताको कामनाको रूपमा अथ्र्याउँदै सिंगो संसारको निम्ति भोको हुन आह्वान गरेकी छन् ।)
सबैलाई मेरो प्रेम । तपार्इंहरू अगाडि उभिँदा म निकै उत्साही छु । तपाईंहरू सबैलाई अभिवादन । अनि प्राचार्य नरेइनलाई पनि अभिवाद । त्यस्तै सम्पूर्ण शिक्षक, व्यवस्थापक र स्कुलका सदस्यहरूलाई अभिवादन । र, स्नातकहरू मलाई हामीले हाम्रा आमाबुवा, अभिभावक, हजुरबा हजुरआमा, काकाकाकी सबैलाई प्रेम गर्नुपर्छ जो सधैंभरि हाम्रो वरिपरि हुन्छन्, हाम्रो हेरविचार गर्छन्, बिहानै उठाउँछन् र होमवर्क नसकिँदासम्म सुत्न दिँदैनन् । ती सबैलाई चुम्बन गरौं । सबैभन्दा माथि त आमा हुनुहुन्छ, उहाँ अगाडि शिर निहुराउँ । तपाईंहरू ठूलो मेहनतले यहाँ आउनुभएको छ । तपाईंहरू सबैप्रति म गर्व गर्छु । यहाँसम्म आउन तपाईंहरूले निकै मेहनत गर्नुभएको छ । रातिसम्म अनिँदो बसी काम गर्नुभएको छ । मैंले तपाईंहरूबाट उत्साह अनुभूत गरेकी छु । तर, अहिले ठ्याक्कै अर्को अनुभूति पनि ममा छ । त्यो हो आश्चर्य । म तपाईंहरूको यो सफलतादेखि आश्चर्यचकित भने छैन । म तपाईंहरूको शिक्षकहरूको समर्पण, परिवारजनको त्यागदेखि पनि अचम्भित छैन । किनभने म यो समुदाय जान्दछु ।
म दक्षिण किनारको दक्षिणमा जन्मेँ, हुर्केँ र अहिले म जहाँ छु, जे छु। यही समुदायको कारणले छु । तपाईंहरूमध्ये धेरैले सामना गर्नुभएको संघर्ष म चिन्दछु । तपाईंहरूले घरदेखि यहाँसम्मको कति लामो बाटो पार गर्नुभयो, घरको हल्लाखल्लाको बीच पनि होमवर्क गर्न कति एकचित्त हुनुभयो, घरका समस्या जुधी पनि कसरी पढाइ गर्नुभयो, म त्यो सब जान्दछु । ती सबैभन्दा पनि बढी महत्वपूर्ण, म यो समुदायको शक्ति जान्दछु । म दक्षिणी क्षेत्रको परिवारबारे जान्दछु । उनीहरू विभिन्न आकार प्रकारका छन् तर प्रायः परिवार प्रेमको बलियो बन्धनले बाँधिएका छन् । त्यसैले ती बलिया पनि छन् ।
मेरो बुवाको मृत्यु नै मेरो मुटुको रिक्त स्थान हो । उहाँको सम्झनाले नै मलाई जीवनका हरेक कदम चाल्न प्रेरणा दिन्छ ।
दक्षिणी क्षेत्रका मानिस निकै कडा काम गर्छन्– निकै कडा जहाँ तपाईं आफूलाई बिर्सनुहुन्छ र केवल आफ्ना सन्तानलाई मात्र सम्झिनुहुन्छ । बसमा लामो यात्रा गरेर दुई÷तीन ठाउँमा काम गर्नु, उस्तै परे रातिमा पनि कुनै खतराको प्रभाव नगरी काम गर्नु उनीहरूको दैनिकी हो । मलाई थाहा छ, यो समुदायका बासिन्दामा आफंैप्रति गहिरो विश्वास छ ।
प्रथम महिलाको रूपमा मैले देशैभरका यस्ता धेरै समुदायहरूको भ्रमण गरेकी छु जहाँ प्रशस्त चुनौती र संकट छन् तर यो समुदायका मानिसहरूमा कामप्रति बलियो आस्था, बलिया मान्यताहरू र आफ्ना सन्तानप्रति ठूला सपनाहरू छन् । तर, दुर्भाग्यवश यी सम्पूर्ण सकारात्मक चीजहरू निकै कममात्र बेलुकीको समाचार बन्छन् । त्यसको साटो हामी हुर्केको ठाउँमा प्रायः गोली चलेको, नयाँ ड्रग्सले मानिसहरूको जीवन सखाप पारेको जस्ता समाचारले स्थान पाउँछन् ।
त्यसैले प्रायः हाम्रो समुदायमा अलि बेग्लै खालका कथा सुनाइन्छन् जसमा छिमेकी परिवारको मेहनती केटा कसरी ग्य्राजुएट गर्यो भन्ने गाथा हुन्छ ।
म तपाईंहरूलाई मानिसहरूले कतिपटक मेरी आमालाई ‘तपाईं दक्षिणी तटजस्तो ठाउँमा कसरी मिचेल र क्रेगजस्ता सन्तान बनाउनुभयो ? ’ भनेर सोध भन्ने बताउन सक्दिनँ । मेरी आमाले त्यसरी सोध्नेहरूलाई निकै अनौठो भावले हेर्नुहुन्छ र भन्नुहुन्छ, ‘मिचेल र क्रेग खासै विशेष होइनन् । यहाँ मिचेल र क्रेगजस्ता लाखौं छन् । र, मैले अरू आमाले भन्दा बढी केही पनि गरेकी होइन ।’ उहाँ भन्नुहुन्छ, ‘मैले उनीहरूलाई माया गरेँ, विश्वास गरेँ र उनीहरूसँग कहिल्यै पनि झिँजो मानिनँ ।’ (क्रेग मिचेलका दाजु हुन्, उनी बास्केटबलका सफल खेलाडी र कोच हुन् ।–अनु.)
र, म यहाँ छु किनभने म चाहन्छु सिंगो देशले दक्षिणी क्षेत्रको वास्तविक कथा जानोस् । त्यो कथा जहाँ मेरो परिवार र तपाईंहरूको परिवारले निकै चुनौती व्यहोर्छ र हरेक दिन सही निर्णय गर्छ । म यहाँ छु किनभने तपाईंहरू सबैलाई म तपाईंहरू सबैलाई हाम्रो समुदायको जरामा र स्कुलदेखि पाएको शिक्षामा तपाईंको सफलताको निम्ति चाहिने सबै छ भन्ने बताउन चाहन्छु । र, म यहाँ छु किनभने म मेरो जीवनमा सिकेका दुई आधारभूत शिक्षाहरू बताउन चाहन्छु ।
पहिलो शिक्षा निकै सरल छ । त्यो हो– कहिल्यै पनि सहयोग माग्न नहिच्किचाऊ । क्याम्पसका कलेजका चार वर्षभर तपाईंहरूको वरिपरि सघाउन चाहने थुप्रै दाइदिदी र शिक्षकहरू हुनेछन्, उनीहरूसँग सहयोग माग्न नहिच्किनाउनुस् । तपाईंले जीवनका अघिल्ला चरणमा पटकपटक आफैंसँग संघर्ष गर्नुपर्नेछ । र तपाईंलाई थाहा हुने छैन कहाँ, कोसँग सहयोग माग्नुपर्ने हो । त्यस्तो बेलामा तपाईंले सहयोग माग्न हिच्किचाउनुहुनेछ । मलाई थाहा छ त्यस्तो अवस्था कस्तो हुन्छ ।
जब मैले प्रिन्स्टनमा पढ्न सुरु गरेँ, त्यहाँको वातावरणले मलाई छपक्कै छोपेको थियो । मैले कलेजमा कहिल्यै पनि अर्थपूर्ण समय बिताएको थिइनँ । मैले कहिल्यै पनि घरबाट त्यति लामो समय बिताएकी थिइनँ । मलाई कसरी कक्षा पत्ता लगाउने र कसरी त्यति लामालामा लेक्चरको नोट गर्ने भन्ने पनि थाहा थिएन । म मेरा कक्षाका साथीलाई हेर्थें, उनीहरू भने सबै खुसी, सहज र आत्मविश्वासी देखिन्थे ।
अँ, सुरुमा मैले कसैलाई पनि मैले कति अप्ठेरो, एक्लो र असुरक्षित महसुस गरिरहिछु भनेर बताइनँ । तर जब मैले मेरा साथीहरूलाई चिनेँ, मैले केही निकै महत्वपूर्ण थोक थाहा पाएँ । उनीहरू सबै केही न केही अप्ठेराहरूसँग जुधिरहेछन् तर त्यसलाई लुकाएर एक्लै जुधिरहे छैनन् । उनीहरू सहयोग माग्छन् । कक्षामा केही नबुझे हात उठाएर सोध्छन् । प्रोफेसरहरूको कोठामै गएर सोध्छन् । त्यसो गर्दा कहिल्यै पनि लाज मान्दैनन् । अलिकति पनि लाज मान्दैनन् किनभने उनीहरूलाई थाहा छ जीवन कसरी सफल हुन्छ ।
हेर्नुस्, हुर्कंदै गर्दा नै उनीहरूसँग सफलताको कामना थियो र उनीहरूसँग त्यो लक्ष्य पूरा गर्ने साधनस्रोत पनि थियो । तयारी कक्षाहरू लिनु, गणितको ट्युसन पढ्नु, शिक्षकहरूबाट सल्लाह लिनुजस्ता प्राप्त सबै अवसरहरूको उपयोग गरेका थिए उनीहरूले ।
त्यसैले मैले पनि उनीहरूलाई नै पछ्याउने निधो गरेँ । मैले मलाई कक्षाहरू पत्ता लाउन सहयोग गर्ने सहयोगी फेला पारेँ । म बहुसांस्कृतिक विद्यार्थी केन्द्रमा गएँ र त्यहाँ पुराना विद्यार्थी फेला पारेँ जो मेरा सल्लाहकार भइदिए । छिट्टै नै मैले सिंगो कलेज चिन्न थालेँ । त्यसैले साथीहरू म ढुक्कसँग भन्छु, तपाईं जहाँ गए पनि तपाईंलाई सहयोग गर्ने कोही न कोही भेटिनेछ । तर उनीहरू तपाईंको ढोका ढक्कढकाउन आउने छैनन् । उनीहरूलाई फेला पार्ने तपाईंको काम हो ।
अब म मैले जीवनमा सिकेको अर्को ठूलो शिक्षा भन्छु । यो शिक्षा हो कसरी ती संघर्षबाट गुज्रने जसले तपाईंको असफलतामा पनि उत्साह देओस् । ती संघर्षलाई कसरी सफलताको भोकमा परिणत गर्ने । तपाईंहरूमध्ये प्रायःले जीवनमा पहिले नै केही गम्भीर क्षतिबाट गुज्रनु भएको होला । तपाईंहरूको परिवारमा कसैले जागिर गुमाएको होला वा कोही रोग वा रक्सीसँग जुधेको होला । हुन सक्छ तपाईंले निकै माया गर्ने मानिस गुमाउनुभएको हुन सक्छ ।
हुन सक्छ तपाईंले आफ्ना उमेरकाले भन्दा बढी चुनौती व्यहोर्नु भएको होला । तर साथीहरू आज म तपाईंहरूलाई भन्न चाहन्छु, जीवनमा तपाईंले पाएका चोटहरू केवल सम्झना हुन् जसबाट तपाईं हार खानुभएन बरू अझ अगाडि बढ्नुभयो । ती पीडादायक छन् र हामी सबैको मनमा त्यस्तै चोट छन् । तिनैले त हामीलाई एक अर्कोसँग जोडेका छन् । मुटुमा भएका ती रिक्त स्थानमा नै हामीले मानिसहरूका दुःख र पीडा अनि उनीहरूको खुसी र प्रेम राख्न सक्छौं । जसले हामीलाई रिक्तताको सोटो फराकिलो मुटुको अनभूति दिन्छ । त्यसैले केही गुमाउनुपर्दा दुःखी हुनु स्वाभाविक नै छ तर त्यो दुःखले पराजित गर्नको साटो उत्साहमा फेरिदिउँ । त्यसले तपाईंको यात्रालाई शक्ति देओस् । यो त हाम्रो समुदायले पहिले नै गरेको छ । एकपटक हाम्रै इतिहास हेर्नुस् त ।
लरेन ह्यान्सबेरीको कथा नै लिऊँ न, जो यही दक्षिणी क्षेत्रमा हुर्केकी थिइन् । लरेनले नाटककार हुने प्रण गरिन् । तर उनले पहिलो नाटकबाट पैसा कमाउन निकै संघर्ष गर्नुप¥यो यद्यपि उनी भोकै भइन् । त्यही नाटक ‘सूर्यको दाग’ नै अफ्रिकाली अमेरिकी महिलाको पहिलो नाटक हुनपुग्यो ।
अनि रिचर्ड राइटको कथा पनि त जसले यही दक्षिणी क्षेत्रमा आफ्ना वयष्क दिनहरू बिताएका थिए । रिचर्ड बुवाले परिवार त्यागिदिएका थिए । अनि पढ्न मन पराउने रिचर्डलाई स्थानीय पुस्तकालयले कालो जातिकै भएकाले किताब लिन दिँदैनथ्यो । त्यसैले रिर्चडले आफैंले किताब लेखे । ‘न्याटिभ सन्’ र ‘ब्ल्याक ब्वाई’ जस्ता किताबले उनलाई अमेरिकी इतिहासकै महान् लेखमध्ये उभ्यायो ।
अन्त्यमा म मेरै आमाबुवा– म्यारियन र फ्रेजर रबिन्सनलाई सम्झन्छु । उहाँहरू दुवै कलेज जानु भएन । उहाँहरूसँग खासै पैसा पनि थिएन । तर उहाँहरूले म र मेरो दाइलाई सकेसम्म राम्रो शिक्षा दिने प्रण गर्नुभयो । त्यसैले मेरी अमाले स्कुलमा स्वयम्सेवा गर्नुभयो ता कि हामीलाई ध्यान दिन सकियोस् ।
मेरा बुवा सहरको खानेपानी विभागमा पम्पचालक हुनुहुन्थ्यो । ३० वर्षको उमेरमा उहाँमा मल्टिपल स्क्लेरोसिसनामक रोग फेला प¥यो । उहाँलाई कपडा लगाउन र हिँडडुल गर्न गाह्रो हुन्थ्यो तैपनि जसोतसो बिहानै ब्युँझनु हुन्थ्यो । हरेक दिन म उहाँले बिस्तारै अपार्टमेन्ट पार गरेको र कामका लागि ढोकाबाट निस्केको हेर्थेँ ।
अहिले म ह्वाइट हाउसमा भएको देख्न मेरा बा हुनुहुन्न । म २० वर्षको हुँदा त्यही रोगका कारण उहाँको निधन भयो । उहाँ मेरो मुटुको त्यही रिक्त स्थान हो, वेदना हो । तर म तपाईंहरूलाई अवश्य भन्छु, उहाँको सम्झनाले नै मलाई जीवनका हरेक कदम चाल्न प्रेरणा दिन्छ । हरेक दिन म उहाँलाई गर्विलो बनाउन काम गर्छु । हरेक दिन म चिन्ता गर्छु मेरोबारे होइन, उहाँ र आमाबारे पनि होइन, ती बच्चाहरूबारे जसलाई मैले हुर्काएँ र जसले कहिल्यै पनि मेरो परिवारले मलाई दिए जत्ति अवसर पाएका थिएनन् ।
त्यसैले साथीहरू म तपाईंहरूलाई त्यसरी नै अघि बढ्नुस भन्छु । तपाईंको स्कुल र परिवारमा थुप्रै मानिसहरू छन् जसले तपाईंको निम्ति त्याग गरेका छन्, तपाईंलाई माया र आशा पोखेका छन्, तपाईंसँग सपना देखेका छन् । तपाईं उनीहरू सबैका लागि सफलताको भोको भइरहन जरुरी छ । धेरै मानिसहरू छन् जसले तपाईंहरूले पढ्न पाइरहेको कलेजमा पढ्ने सपनामात्र देख्न सक्छन् । संसारका धेरै युवाहरूले स्कुलमा पाइला हाल्न पनि पाएका छैनन् । हाम्रै समुदायमा कसैको पनि साथ नपाउने धेरै युवा छन् । तपाईं ती सबैका निम्ति भोको भइरहन जरुरी छ ।
मलाई थाहा छ तपाईंहरू यो गर्न सक्नुहुन्छ । तपाईंहरू आफ्नो सपना पूरा गर्न गहिराइसम्म जान र संघर्ष गरिराख्न सक्नुहुन्छ । तपाईंले त्यसो गर्न जरुरी पनि छ किनभने तपाईंको समुदायको कथा परिवर्तन गर्ने जिम्मा तपाईंमै छ ।
अनुवाद: लक्ष्मण श्रेष्ठ