कहिले पाइएला स्वस्थकर मासु
काठमाडौः उपत्यकामा दैनिक तीन सय मेट्रिक टनभन्दा बढी माछामासु खपत हुने गरेको सरकारी एवं निजी क्षेत्रको तथ्यांक छ । तर, स्वस्थ बधशाला, शीतघर (चिस्यान गृह) र रेफ्रिजेरेटर भ्यान नहुँदा उपत्यकावासीले अस्वस्थकर मासु खाँदै आएका छन् । काठमाडौं र ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर, मध्यपुर थिमी नगरपालिकालगायत अन्य स्थानीय निकायको संलग्नतामा तयार पारिएको कार्यविधिमा पनि उपत्यकामा बढी अस्वस्थकर मासु बिक्री हुँदै आएको तथ्य उल्लेख गरिएको छ ।
खुला स्थानमा मासु बिक्री, पशुको पूर्ण सरसरफाइ नगरी बधशालामा मारकाट गरी मासुको बिक्री एवं ओसारपसार गर्ने, मासुको अस्वस्थ ढंगले भण्डारण गर्नेलगायत व्यवसायीको कमजोरीका कारण उपत्यकावासीले अस्वस्थकर मासु खाँदै आएका छन् । बिक्रीका लागि राखिएको स्थानमा सरसफाइमा ध्यान दिए पनि सुरुको उत्पादन स्थलमै सरसफाइ गर्न नसक्दा अधिकांश पसलमा मासु खानयोग्य नरहेको ठम्याइ महानगरपालिकाको छ ।
काठमाडौं महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले तयार पारेको प्रतिवेदनअनुसार अधिकांश मासु बिक्रीका लागि राखिएका पसल मापदण्डविपरीत छन् । खुला स्थानमा मासु बिक्री गर्नेदेखि लिएर स्वस्थ्य ढंगले मासुको भण्डारणसमेत नगर्ने उपत्यकाका मासु व्यवसायीलाई नियमन गर्न नसकिएको उनी स्विकार्छन् । उत्पादन, ढुवानी, भण्डारण र बिक्रीसम्मको चरणमा आइपुग्दा मासु अस्वस्थकर बढी हुने गरेको जानकारी श्रेष्ठले दिए । कार्यविधिअनुसार उपत्यकामा पशु ओसारपसार गर्दा ‘ह्याप्पी एनिमल’ को अवधारणाविपरीत ओसारपसार गरेको बुझाइ छ । २० फिटको ट्रकमा २४ देखि २६ वटासम्म चौपाया (भैंसी) बाँधेर १२ देखि २५ घन्टा उभ्याएर ल्याउने गरेको जानकारी श्रेष्ठले दिए ।
महानगरवासीलाई स्वस्थकर मासु उपलब्ध गराउन महानगरपालिकाले तीनवर्षे अवधारणा अगाडि सारेको छ । जसअनुसार पहिलो वर्ष सरकारबाट उपत्यकाबाहिर रहेका बधशाला सुधार गरी सञ्चालनमा ल्याउन सहयोग गर्ने, मासु प्रशोधनका लागि विभिन्न ठाउँमा स्थापना भएका १० वटा बधशालालाई स्तरोन्नतिका लागि प्रस्ताव अह्वान गर्ने जानकारी श्रेष्ठले दिए । दोस्रो वर्ष सञ्चालनमा आएका बधशालाको मूल्यांकन गर्ने तथा पुनव्र्यवस्थित गर्ने, सुधार गर्न गरिएको सहयोग परिमाणमुखी छ वा छैन मूल्यांकन गरी आवश्यक देखिएमा सामान्य सुधारका लागि पुनः प्रोत्साहन गर्ने र तेस्रो वर्ष नेपालमा भएका बधशालाको मूल्यांकन गर्ने, खारेजी गर्ने तथा पूर्ण व्यवस्थित गर्ने, सुधार गर्न चाहेका र नचाहेका बधशालाको वर्गीकरण गरी पूर्ण व्यवस्थापन वा खारेजी गरी मासु उत्पादन व्यवस्थित गर्न समय सापेक्ष र परिष्कृत बनाउने अवधारणा महानगरपालिकाले अगाडि सारेको छ ।
त्यसैगरी, गुणस्तरीय मासु ढुवानीका लागि पनि तीनवर्षे अवधारणा छ । जसअनुसार पहिलो वर्ष बधशालाको मासु ढुवानीका लागि रेफ्रिजेरेटर भ्यानको व्यवस्थापन तथा सञ्चालन गर्ने, उत्पादित मासु भण्डारण र बिक्री व्यवस्थापनका लागि फरक-फरक क्षमताका भ्यान खरिद गरी ठेक्का प्रक्रियाबाट व्यवस्थापनमा सहयोग उपलब्ध गराउने जानकारी श्रेष्ठले दिए । उनका अनुसार दोस्रो वर्ष यातायात व्यवस्थापन मूल्यांकन गर्ने, ठेक्का प्रक्रियाबाट काम गरिरहेका समूहको कामको प्रगति हेरी आवश्यक देखिएमा पुनः लगानी तथा व्यवस्थापनमा सहयोग गर्ने र तेस्रो वर्ष मासु ढुवानीका यातायातको पूर्ण व्यवस्थित गर्ने र सुधार गर्ने वा नगर्ने मासु व्यवसायीको वर्गीकरण गरी नगर्नेलाई खारेजी गरी ढुवानी क्षेत्र बलियो बनाइनेछ ।
महानगरपालिकाले भण्डारण क्षमता सुधार गर्न उपत्यकामा उपयुक्त स्थानमा शीतघर (चिस्यानगृह) निर्माण गर्न व्यवसायीलाई सहयोग गर्ने अवधारणासमेत अगाडि ल्याएको छ । त्यसका लागि भण्डारणमा स्थापित समूहलाई सरकारले स्तरोन्नतिका लागि प्रस्ताव माग्ने भएको छ । मासु बिक्रीलाई व्यवस्थित र सुधार गर्न महानगरपालिकाले तीनवर्षे अवधारणा अगाडि सारेको छ । जसअनुसार स्वस्थकर मासु बिक्रीका लागि अह्वान गर्ने र त्यो नगरेको पाइएमा व्यवसायीलाई बिक्रीमा रोक लगाउनेदेखि लिएर सुधारका लागि पहल गर्नेसम्मका योजना छन् ।
बधशालादेखि काठमाडौंसम्म मासु ढुवानीका लागि तत्काल ६ वटा १४ टन क्षमताका रेफ्रिजेरेटर भ्यान र कोल्ड स्टोरबाट बिक्री स्थलसम्म पुर्याउन कम्तीमा ६ टन क्षमताका ६ वटा रेफ्रिजेरेटर भ्यान खरिद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न महानगरपालिकाले सरकारलाई सुझाव दिने भएको छ ।
कोल्ड स्टोर व्यवस्थापन गरी सञ्चालनमा ल्याउन सीतापाइलास्थित बुढाथोकी कोल्ड स्टोर र सानेपास्थित मिन्दा फुड प्रालिलाई उपयोगमा ल्याउनुपर्ने र दीर्घकालीन व्यवस्थापनका लागि निर्माणाधीन कीर्तिपुर कोेल्ड स्टोर, ह्युमत र रामहिटी जोरपाटीलगायत स्थानका बधशालालाई कोल्ड स्टोरमा परिणत गर्नुपर्ने राय श्रेष्ठको छ । उनका अनुसार हाल सञ्चालनमा रहेका खुद्रा मासु व्यवसायीलाई पायक पर्ने स्थानमा कोल्ड स्टोरसँग समन्वय गरी मासु आपूर्तिको व्यवस्था मिलाउने र न्यूनतम मापदण्डको पसल सञ्चालन गर्न कडा निर्देशन दिई अनुगमन प्रभावकारी गराउनु उपयुक्त हुनेछ ।
हाल निर्माण भइरहेका बधशाला
- सांग्रिला इन्टरनेसनल फुड प्रालि, दुवही सुनसरी
- सि म्याक्स, सुनसरी
- मलंगवा बधशाला
-कृति मिट प्रोडक्ट प्रालि, ढल्केबर
- हिमालय इन्टरनेसनल फुड प्रालि, बारा
- हिरो फुड प्रोडक्ट, बारा
- बफेलो क्वालिटी फुड प्रालि, हेटौंडा
- चाइना लुङ फुड प्रालि, बर्दिया
- स्यान्डिङ फुड प्रालि, बर्दिया
- बुटवल नगरपालिकाबाट निर्मित बधशाला