डिप्रेशनले बढायो आत्महत्या
धरान: डिप्रेशन रोगको समय उपचार गरिए आत्महत्याका घटना नियन्त्रण हुने चिकित्सकहरुले बताएका छन्। विश्व स्वास्थ्य दिवसको अवसरमा शुक्रवार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागले आयोजना गरेको जनचेतनामुलक कार्यक्रममा मानसिक रोग विशेषज्ञ चिकित्सकहरुले डिप्रेशन रोगबारे सर्वसाधारणले खुल्ला रुपमा अस्पतालसम्म आए यसको न्यूनिकरण हुने बताए।
जनचेतना कार्यक्रममा प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ डा. मधुर बस्नेतले डिप्रेशनका कारण आत्महत्याका घटनामा बृद्धि भएको भन्दै चिकित्सकहरुले डिप्रेशन रोगबारे खुलेर कुरा गर्न र समयमा उपचार गरी स्वस्थ हुन सर्वसाधारणलाई आग्रह गरे। डिप्रेशनका बिरामीहरुले समयमा नै आफ्नो समस्याबारे खुलेर चिकित्सकलाई भनेर उपचार गराए देशभर घटिरहेका आत्महत्याका घटनासमेत न्यून हुने उनको भनाइ थियो।
कार्यक्रममा अर्का मानसिक रोग विशेषज्ञ डा. निर्देश सापकोटाले इलाम, झापालगायतका जिल्लामा आत्महत्याका घटना सार्वजनिक भएको भन्दै प्रतिष्ठानको मानसिक रोग विभागबाट जनचेतनामुलक कार्यक्रमको माध्यमबाट सर्वसाधारणलाई डिप्रेशन रोगको उपचार र रोगथामबारे जानकारी गराइने बताए। कार्यक्रममा डिप्रेशनको समस्या भोगिरहेका सर्वसाधारणले आफ्ना समस्याबारे खुलेर चिकित्सकहरुलाई जानकारी गराएका थिए।