नयाँ स्कुल
कमला ६ वर्षकी भइन् । यो उमेरमा केटाकेटी विद्यालय जानलाई निकै उत्सुक हुन्छन् । कमला पनि भोलिदेखि एक कक्षामा पढ्न विद्यालय जाने भएकी छिन् । विद्यालय जाने सम्झेर उनलाई रमाइलो लागिरहेको छ । तर रमाइलोको साथै उनलाई कताकता मनमा डर जस्तो पनि लागिरहेको छ ।
आमाबाबाले कुराकानीको क्रममा ‘अब त छोरी ठूली भइसकिन्, कक्षा एकमा पढ्ने भइसकिन्' भनेको सुन्दा उनलाई खुसी लाग्छ । बाबाआमाको यस्तो कुरा सुनेर उनी पनि मनमनै ‘म पनि अब आमाबाबा खुसी हुने गरी पढ्छु । गृहकार्य पनि ध्यान दिएर गर्छु' भनेर सोच्ने गर्छिन् ।
कक्षा यूकेजीबाट एकमा पुगेपछि उनले आमालाई यसो भन्ने गरेकी छिन्, ‘अब म ठूली केटी हँ हगि आमा ? म तपाईंको घरको काममा पनि मद्दत गर्छु है ।' छोरीको कुरा सुनेर खुसी भएकी आमाले उनलाई यसरी सम्झाइन्, ‘हो नि । तिमी अब ठूली भइसक्यौ । त्यसैले अब बेलुका धेरै ढिलासम्म टीभी हेर्नु हुँदैन । समयमै सुत्नुपर्छ र बिहान पनि बेलैमा उठ्नुपर्छ ।'
आज मलाई ‘असल केटी' कथा सुनाउनुस् न आमा भनेर छोरीले भनेपछि आमाले उनलाई कथा सुनाउनुभयो । आमाको कथा सुनेपछि पनि उनलाई निद्रा नलागेपछि उनले आमालाई ‘तपाईं जानुस् म आफैं सुत्छु' भनिन् ।
त्यतिबेला पनि उनलाई ‘भोलि विद्यालय जानुपर्छ, नयाँ कक्षाका साथीहरू कस्ता होलान्, नयाँ मिस कस्तो हुनुहुन्छ होला, यूकेजीमा सँगै पढेका साथीहरू होलान् कि नहोलान्' जस्ता कुराको तर्कना गर्दागर्दै उनी निदाइन् । बिहान आमा उनको कोठामा आएर भन्नुभयो, ‘शुभ प्रभात छोरी ! उठ्ने बेला भयो । स्कुल जान तयार होऊ ।'
कमला जुरुक्क उठेर आफ्नो काम धमाधम गर्न थालिन् । नयाँ झोलामा किताबकापी राखिन् । पानीको भाँडोमा पिउने पानी भरेर त्यसलाई पनि झोलामा हालिन् । अनि खाजाको बट्टा समाउँदै यसमा के राख्ने आमा भनेर उनले सोधिन् । आमाले छोरीका लागि भनेर बारीमा फलेको हरियो भटमासका गेडा साँधेर त्योसँगै खानका लागि चिउरा पनि तयार पारिदिनुभएको थियो । त्यो खाजा छोरीलाई असाध्यै मनपर्ने हुनाले आमाले आज बनाइदिनुभएको हो । ‘आहा कस्तो मीठो खाजा ! म सबै सिध्याउँछु', खुसी हँदै उनले भनिन् ।
विद्यालयको गाडी आउने बेला भएकोले आमालाई बाईबाई गर्दै उनी आफ्नो बाबासँग बसस्टपतिर लागिन् । बस भित्रबाट ‘कमला मैले तिमीलाई सिट राखिदिएको छु' भनेर उनीसँगै यूकेजीमा पढेकी साथी कृपाले भनेको सुनेर उनी खुसी हुँदै बाबालाई पनि बाईबाई गरिन् र कृपासँगै गएर बसिन् । विद्यालय पुगेपछि कमलाले आफू समूह बीमा परेको थाहा पाइन् । आफ्नो पहिलेदेखिकै साथी कृपासँग नपरेकोमा भने उनलाई अलि दिक्क लाग्यो ।
आफूले चिनेको मिसहरू उनले कतै देखिनन् । कक्षामा घन्टी बजेपछि भित्र पस्ने बेलामा उनले रमोला र शिलालाई पनि त्यही लाइनमा देखिन् । उनीहरू पनि कमलासँगै यूकेजीमा पढेका थिए । कक्षाभित्र उनीहरूको सिट भने सँगै थिएन । तर पनि कक्षामै चिनेको साथी भएकाले उनलाई खुसी लागेको थियो।
मिस कक्षाभित्र पसेर सबैलाई शुभ प्रभात भनेर आफ्नो परिचय दिनुभयो । उनीहरूको पनि परिचय पालैपालो माग्नु भयो । सबैले उठेर आफ्नो परिचय दिए । नयाँ भर्ना भएका विद्यार्थीसँग भने पहिले कहाँ पढेको, त्यहाँ छाडेर यहाँ किन आएको भनेर पनि मिसले सोध्नुभयो । विद्यार्थी सबैले आआफ्नो कारण पनि बताए । यसै क्रममा एउटै अनुहार, उत्रै उचाइ, उस्तै आवाज भएका दुईवटा छात्राको परिचय दिने पालो आयो । उनीहरूलाई देखेर कक्षाका सबै विद्यार्थी छक्क परे । मिसले पनि उनीहरूलाई आफ्नो परिचय दिन बताउनुभयो ।
‘हामी एकैदिन जन्मिएका जुम्ल्याहा हौं । मेरो नाम शिक्षा हो । मभन्दा १० मिनेटपछि जन्मिएकी उनको नाम दीक्षा हो' परिचय दिँदै शिक्षाले भनिन् । दीक्षाले पनि शिक्षाको कुरामा जोड्दै भनिन्, ‘कहिलेकाहीँ त बाबाआमा पनि कुन शिक्षार कुन दीक्षा भनेर झुक्किनुहुन्छ मिस ।' शिक्षा र दीक्षाको कुरा सबैले चाख मानेर सुने । कमलालाई नयाँ मिस कस्तो हुनुहुन्छ होला भनेर डर लागेको थियो । तर उहाँ त रमाइलो कुरा गर्ने, सबैलाई माया गर्ने, कहिलेकाहीँ कक्षामा रमाइलो कथा पनि भन्ने असल मान्छे पो हुनुहुँदो रहेछ ।
शिक्षा र दीक्षाको सिट आफूसँगै भएकोले उनलाई झन् रमाइलो लाग्यो । मनमनै उनले ‘कक्षा एक त केजीभन्दा पनि रमाइलो होला जस्तो छ' भनेर सोच्न थालिन् । यसैबीच उनको पनि परिचय दिने पालो आएकोले उनले उभिएर आफ्नो परिचय दिइन् । कक्षामा पढ्दै जाँदा उनलाई आफ्नो विद्यालय पनि रमाइलो लाग्दै गयो । ००००