प्रमोसनको अधिकार

प्रमोसनको अधिकार

विगत ११ वर्षमा प्रशासनिक व्यवस्था ध्वस्त नभए पनि त्यसमा देखिने गरी दलीय राजनीति र अक्षमता प्रवेश गरेका छन् । राजपत्रांकित प्रशासनिक तहसम्मैलाई राजनीतिक दलहरूसँग आबद्ध ट्रेड युनियनमा लाग्ने छुट दिइएको छ भने उपल्लो तहका सहसचिवबाट सचिवमा पदोन्नति मन्त्री या दलहरूबीचको भागबन्डाबाट निर्धारण गर्ने परम्परा बसेको छ । दलीय ध्रुवीकरणबाट प्रशासनतन्त्रको निष्पक्ष चरित्र समाप्त हुँदा त्यसको प्रत्यक्ष प्रभाव 'सेवा प्रदान' मा देखा परेको छ ।

निजामती प्रशासनजसरी नै अब आम जनताको सुरक्षाको दायित्व बोकेको नेपाल प्रहरी पनि दलीय राजनीति, सरकारी हस्तक्षेप र उदासीनताको सिकार भएको छ, एकैचोटि । हालै प्रहरी नेतृत्वको छनोटमा सरकार, सत्ता तथा प्रतिपक्षी दलहरूसँगै सर्वोच्च अदालतले देखाएको चासोले प्रहरी संस्था कसरी विभिन्न शक्ति समूहहरूको भकुन्डो बनेको छ, त्यो आम जनताको नजरमा समेत छर्लंग भएको छ ।

खासगरी नेपाल प्रहरीजस्तो सुरक्षा निकायको दलीयकरणसँगै संस्थाको सक्षम सञ्चालनमा सरकारले देखाएको उदासीनताका कारण केही मौलिक प्रश्न उठाउनु जरुरी छ । राजनीतिक दलहरूबीचको खिचातानी र लेनदेनको राजनीतिका कारण प्रहरी नेतृत्वमा अपवादबाहेक कुनै प्रमुखले पूर्ण कार्यकाल पाएका छैनन् ।

दोस्रो सेना र सशस्त्रभन्दा फरक ढंगले नेपाल प्रहरीको सेवा, सर्त र अवकाशसम्बन्धी नियम राजनीतिक दल या विभिन्न सरकारका स्वार्थका कारण फेरबदल भइरहेका छन् । त्यति मात्र हैन, रिक्त पदहरूको प्रमोसनद्वारा पूर्ति नियम र ऐनभन्दा राजनीतिक दलसँगै गृहमन्त्री र गृहसचिवको चाहनाबाट निर्देशित हुने गरेका छन् ।

'दरबन्दी' पाएका कुनै पनि पदहरू २० दिनभन्दा बढी राख्न नमिल्ने ऐन र यसअघिका प्रचलनहरू कार्यान्वयन नहुँदा योग्य, क्षमतावान् र उपयुक्त अधिकृतहरू प्रमोसन नपाई असमयमै सेवा निवृत्त हुन बाध्य भएका छन् । अहिले राजनीतिक खिचातानीबीच आईजीपी नियुक्ति विवादमा पर्दा एआईजीका पदहरू रिक्त रहिरहेका छन् । त्यसका कारण त्यसका दाबेदार डीआईजीहरूमा निराशा देखा पर्नु स्वाभाविकै हो । त्यस्तै आफ्नो क्षमता प्रदर्शन गरी एसएसपीमा निर्धारित अवधि पूरा गरेकाहरू डीआईजी दरबन्दी रिक्त रहँदा पनि पदोन्नतिबाट वञ्चित रहेका छन् । त्यसको असर प्रहरीका सबै 'चेन अफ कमान्ड' मा परेको छ ।

सम्भवतः 'पदोन्नति' अधिकार हो या सरकारको 'निगाह', यो विषयलाई नीतिगत रूपमा स्पष्ट गर्नु आवश्यक छ । सरकार यदि आफ्नो अस्थिरताका कारण उपयुक्त र योग्य अधिकृतहरूलाई पदोन्नतिबाट वञ्चित गरिरहन चाहन्छ भने त्यसले संस्थाका सबै तहमा मनोबल गिराउनुका साथै अकल्पनीय परिस्थितिमा विद्रोह जन्माउन सक्छ । त्यसैले यो अति संवेदनशील विषयमा सरकारले संवेदनशीलता र न्याय प्रदर्शन गर्नु अनिवार्य छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.