गोमन र गाम्छा
माई तरकारी टिप्न बारीमा जान लाग्दै हुनुहुन्थ्यो । ‘तरकारी लिन म गइहाल्छु नि माई ' पुरनले बारीतिर जान लाग्दै भन्यो । ‘आज लौकीको तरकारी खाने विचार गरेकी छु । लौकी टिप्न त परै पो पुग्नुपर्छ, सक्छौ त ? ' माईले पुरनतिर हेर्नुभयो । ‘बेटा कसको ? ' पुरनले पाखुरा देखाउँदै भन्यो । माईको हातमा गम्छा थियो । गाम्छाले मुख छोप्दै उहाँ हाँस्नुभयो । पुरन पनि हाँस्यो । ऊ लौकी टिप्न बारीतिर हिँडिहाल्यो ।
‘बेटा' माईले भन्नुभयो, ‘दुईओटा लिएर आऊ है ? लखनको माईले पनि माग्नुभएको छ ।' उहाँले पुरनलाई गाम्छा दिँदै भन्नुभयो, ‘सुन त, लाऊ यो गम्छा लिएर जाऊ । यही गम्छामा हालेर ल्याउनु ।' ‘ह्या ! दुईओटा लौकी ल्याउन पनि गाम्छा चाहिन्छ त ? लादिनँ म गाम्छा ' पुरन त्यत्तिकै जान लाग्यो । ‘लिएर जाऊ न, सजिलो हुन्छ । यसो टाउकोमा राख्यो भने लौकीको झालको धुलो पनि पर्दैन ।' माईले पुरनको हातैमा दिनुभयो गाम्छा । पुरनले गाम्छालाई काँधमा हाल्दै भन्यो, ‘बापुले जस्तै गरेको हि हि !' ‘साह्रै बापुको नक्कल गर्छ,' माई पुरनलाई हेर्दै मुसुक्क हाँस्नुभयो ।
पुरन गीत गाउँदै बारीतिर लाग्यो । ऊ लौकीको झालमा पुग्यो । झालमा सानाठूला धेरै नै लौकी फलेका थिए । ‘अँ कुन टिपौं त ? दुईओटा पो टिप्नुपर्छ त ।' पुरनले लौकीहरूलाई हेर्यो । झालको अलि माथितिर फलेको लौकी टिपौं जस्तो लाग्यो उसलाई । लम्किएर लौकी टिप्न लाग्यो पुरन । लौकीनेर हात पुग्नै लागेको थियो, उसले अनौठो आवाज सुन्यो ।
‘के कराउँछ यहाँ ? ' पुरनले लौकी टिप्न नलागी आवाजतिर ध्यान दियो । स्वाँ...स्वाँ..फुँ...निकै कडा गरी आवाज आइरहेको थियो । ‘ओहो ! भैंसीले प्mवाँ प्mवाँ गरेको जस्तो छ । कताबाट आयो त यहाँ भैंसी ? ' उसले यताउता हेर्यो । कतै पनि केही देखेन । ‘लौ न ..ओ माई...ओ बापु...अरे तोरी के...!' उसलाई त रिंगटा लागेको जस्तो भयो । के गर्नु ! कसो गर्नु ! केही सोच्न सकेन । उसको नजिकै दुईओटा गोमन साँप थिए । दुवै साँप उसलाई खाउँला झैं गरेर फणा फिँजाउँदै थिए । धेरै रिसाएका थिए दुवै साँप । त्यहाँबाट भाग्नुबाहेक उसले विकल्प देखेन । ऊ बेतोडले दौडन लाग्यो । लौ न ! साँपले त उसलाई लखेट्न पो लागे । ऊ पछिपछि आए साँप । साँपले उसलाई लखेट्न छोड्दै छोडेन ।
‘माई बचाउनुस् । मलाई साँपले लखटिरहेको छ !' आत्तिदै, रुँदै र दौडदै ऊ घर आइपुग्यो । ‘कहाँ साँप ! कता साँप ? ' पुरन आत्तिएको देखेर माई पनि आत्तिनुभयो । ‘ऊ ऊ मलाई लखेट्दै आइरहेछ !' पुरन एक्कासि माईको बुई चढ्यो । माईले यताउता हेर्नुभयो । कतै थिएन साँप ।
‘खै छैन त साँप !' माई अझै यताउता हेर्दै हुनुहुन्थ्यो । पुरनले आत्तिँदै अघिको घटना सुनायो । ‘ओहो ! तराईमा साँपको खुब डर हुन्छ । त्यसैले बाटोमा खुब हेरेर हिँड्नुपर्छ ।' उहाँले पुरनलाई हेर्दै भन्नुभयो, ‘लौ, खै त गाम्छा ? कि काँधबाट गाम्छा झर्यो अनि त्यसैलाई साँप भनेर दौडियौ कि क्या हो !' माईले शंका गर्नुभयो । आपूmसित गाम्छा नभएको अहिले पो थाहा पायो पुरनले ।
‘होइन माई, साँच्चै दुईओटा साँपले लेखट्यो मलाई । कस्तो डर लागिरहेको छ ।' पुरन अझै आत्तिँदै थियो । ‘ल हिँड त हेर्न जाऔं ।' गाम्छालाई नै साँप सम्झिएछ क्यार पुरनले भन्ने लाग्यो माईलाई । ‘नाइँ म त जान्नँ !' पुरन डरायो । ‘माई छु नि साथमा ।' माईले लामो लठी लिएर भन्नुभयो ‘ल हिँड ।'
डराउँदै, यताउता हेर्दै पुरन र माई बारीतिर लागे । अलिपर पुग्नेबितिक्कै माईले साँप देख्नुभयो । अलिपर साँप त गाँम्छामा बेरिँदै थिए । यो कुरा पुरनले पनि देख्यो । ‘ऊ... माई साँप !' पुरनले माईलाई घरतिर तान्दै भन्यो ‘गाम्छा पनि त्यहीँ छ ।'
‘ओहो ! कसो टोकेन मेरो पुरनलाई !' माई पनि आत्तिनुभयो ‘कति ठूलाठूला गोमन साँप रहेछन् । धन्न गाम्छाले बचायो ।' ‘गाम्छाले बचायो रे !' पुरनले माईतिर हेर्दै भन्यो, ‘म त कस्तरी दौडेर बचेको !'
‘धन्न मेरो बौवा !' माईले पुरनको टाउको मसार्नुभयो, ‘धन्न दौडिएछौ । तर तिमीले गाम्छा ल्याएर धेरै ठीक गर्यौ । मान्छेले बोकेको गाम्छामा मान्छे जस्तै बास्ना आइरहेको हुन्छ । मान्छेको गन्ध हुन्छ अनि साँपले त्यसैलाई मान्छे हो भन्ने ठान्छ र त्यसैमा अल्मलिन्छ । यदि गाम्छा तिम्रो काँधबाट नझरेको भए, तिमीलाई साह्रै गाह्रो हुने थियो ।'
पुरनलाई पनि माईको कुरा साँच्चै हो जस्तो लाग्यो । साँप अभै गाम्छामै अल्मलिरहेको थियो । प्mवाँ प्mवाँ गर्दै थियो । ‘साँप धेरैबेर एकै ठाउँमा बस्दैन । केही पछि यिनीहरू जान्छन् अनि गाम्छा लिन आऔंला ' माईले भन्नुभयो अनि पुरनलाई अघि लगाएर माई लौरो टेक्दै घरतिर हिँड्नुभयो ।