हिंसा र निर्वाचन

हिंसा र निर्वाचन

स्थानीय तह दोस्रो चरणको निर्वाचन प्रचार-प्रसारका क्रममा अहिलेसम्म आधा दर्जनभन्दा बढी विस्फोट र हिंसाका घटना सार्वजनिक भएका छन् । मंगलबार धनगढीमा एकजना व्यक्ति आफैंले राखेको बम विस्फोट भएपछि ठहरै भएका छन् । प्रहरीले ती व्यक्ति निर्वाचन बहिष्कार गर्ने विप्लव समूहका कार्यकर्ता भएको दाबी गरेको छ भने विभिन्न विस्फोटहरू स्वयं नै निर्वाचनमा सहभागी दलहरूले गराएको र त्यसको लागि दोष आफूलाई दिएको तर्क विप्लवले गरेका छन् ।

के धनगढीमा विस्फोटमा परी मर्ने व्यक्ति कुनै आपराधिक समूहका 'आत्मघाती' दस्ताका सदस्य त हैनन् ? या उनी केवल एकजना असावधान र अपरिपक्क 'आदेशपाल' हुन् कुनै भूमिगत संगठनका ? तत्काल स्पष्ट नहोला, तर यो घटनाले खतरनाक मनोविज्ञान पैदा गरेको छ ।

त्यस्तै केही अन्य ठाउँमा माओवादी र कांग्रेसका उम्मेदवारहरूका घर तथा कार्यक्रमस्थलमा विस्फोटक पदार्थ राखिएको घटनाहरूले भयको वातावरण सिर्जना गरेको छ । निर्वाचन आयोगले ढुक्क भएर मतदान गर्न सबैसँग आग्रह गरे पनि खासगरी धनगढी विस्फोटनबाट भएको मृत्यु र त्यसले जनमानसलाई आतंकित पारेको घटनालाई तत्काल बिर्सन सहज हुने छैन । हिंसाको पृष्ठभूमि बोकका दलहरू निर्वाचन बहिष्कारमा लागेकाले थप असहज बनेको छ, वातावरण । यसैबीच सरकारले निर्वाचनमा परिआएमा सेना परिचालन गर्ने संकेत दिएर आम मतदातालाई आश्वस्त पार्ने कोसिस गरे पनि त्यति सहजै विद्यमान वातावरणलाई बेवास्ता गर्न कठिन हुनेछ आम जनताको लागि ।

प्रधानसेनापति राजेन्द्र छेत्रीको हालै एक सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली सेना मुलुकको अखण्डता र एकता अक्षुष्ण राख्न सक्षम भएको आश्वासन दिनुभएको छ । तर मुलुकको एकता र अखण्डतामा भूगोलसँगै आम नागरिकको जीवन्त प्रतिबद्धता पनि अपरिहार्य तत्व हो । जीवन्त प्रतिबद्धताको लागि राष्ट्रिय पहिचानमा संलग्नता, अवसरमा समानता, राज्यद्वारा सम्मानजनक व्यवहार, संविधानमा वर्णित अधिकारको निर्वाध उपभोग आदि सर्तहरू अनिवार्य हुन्छन् ।

भयरहित वातावरणमा र आस्थाका आधारमा मतदाताको अधिकार कुण्ठित हुँदा या त्यो अधिकार उपभोगको उचित वातावरण नबन्दा जनताले चोटअनुसार आफ्ना प्रतिनिधिहरू चुन्न पाउने छैनन् । पहिलो र दोस्रो चरण गरी ७४४ मध्ये ६१३ मा निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिए पनि आतंक र विस्फोटको वातावरणमा हुने चुनावको वैधानिकतासमेत विवादित हुन सक्छ ।

वितग केही वर्षयता जनताले बन्दको संस्कृतिलाई अवज्ञा गर्दै आएका छन्, यद्यपि सरकार र राजनीतिक दलहरूले परिआउँदा त्यस्ता बन्दबारे दोहोरो मापदण्ड अपनाएका छन् । जनताको मतधिकार बलपूर्वक खोस्ने या बिथोल्ने कुनै पनि बन्द र बहिष्कारलाई सम्भवतः आपराधिक गतिविधि घोषित गरी तदनुसारको दण्डको लागि कानुन बनाउनु एउटा उपयुक्त र चेतावनीमूलक व्यवस्था हुन सक्थ्यो । त्यो नहुँदा जनताको उत्साहलाई अवमूल्यन गर्ने यस्ता गतिविधिलाई प्रशासनिक र कानुनी रूपमा कसरी नियन्त्रित गर्न सकिन्छ, त्यो अझै पनि निर्वाचन आयोग र सरकारको मुख्य चासो बन्नु आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.