राष्ट्रपति सीका विश्वास पात्र चेन चोङकिङ पार्टी प्रमुख

राष्ट्रपति सीका विश्वास पात्र चेन चोङकिङ पार्टी प्रमुख

संघाई/बेइजिङ : चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सि चिनफिङका उत्तराधिकारी मानिएका चेन माइनर शनिबार दक्षिण पश्चिमी महानगर चोङकिङको कम्युनिस्ट पार्टी प्रमुखमा नियुक्त भएका छन् । चेन राष्ट्रपति सिका सबैभन्दा नजिक र मन परेका उदीयमान नेता मान्छि ।

चिनियाँ कम्युनिस्ट पार्टीको आगामी शरद्मा बस्ने कंग्रेसमा हुने पार्टीको फेरबदलअघि चेनलाई चोङकिङको पार्टी प्रमुखमा बढुवा गरिएको छ । महासचिव तथा राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालिरहेका सिले यस वर्ष नयाँ पोलिटब्युरो स्ट्यान्डिङ कमिटि गठनको तयारी गरिरहेको अनुमान गरिएको छ । सिले उनका विश्वासपात्र चेनलाई बढुवा गरी पार्टी र सत्तामा आफ्नो पकड अझै सुदृढ नै रहेको संकेत पनि दिएका छन् । चेनले यसअघि राष्ट्रपति सि मातहत झेजियाङ प्रान्तमा काम गरिसकेका छन् ।

झेजियाङमा सि पार्टीका प्रान्तीय प्रमुख थिए र पार्टीभित्र तीव्र गतिमा माथि उक्लिरहेका थिए । चेनले आफू सिको निकट भएको सार्वजनिक रुपमा नै भन्ने गरेको उनीसँग भेट गरेका विदेशी कूटनीतिज्ञहरूले बताउने गरेका छन् । सि कम्युनिस्ट पार्टी सत्तामा पुगेपछि पार्टीभित्र चेनको पनि छिटो छिटो पदोन्नती भएका छ ।

चेनले चोङकिङ पार्टी प्रमुख सुन झेङकाईलाई विस्थापन गर्नेछन् । यसअघि चेन दक्षिण पश्चिमको गरिब प्रान्त गुइझाऊका पार्टी प्रमुख रहेको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । तर सुनलाई कहाँ पठाइने हो उल्लेग गरेको छैन । सुनलाई राजधानी बेइजिङको पार्टी प्रमुखमा नियुक्त गरिने अनुमान गरिएको छ ।

सुनलाई पनि यसअघि पदोन्नति हुने र केन्द्रीय पदमा पुग्ने सम्भावना भएका नेताका रुपमा हेरिए पनि अहिले उनको राजनीतिक यात्रा ओरालो लागेको संकेत देखिएको छ । यसै वर्ष भ्रष्टाचारविरोधी निकायले बोको प्रभाव घटाउन नसकेको भन्दै भ्रष्टाचार मामिलामा चोङकिङ प्रशासनको आलोचना गरेको थियो ।

यसअघि चोङकिङको व्यापक चर्चा त्यहाँका शक्तिशाली तथा सम्भावित पार्टी नेताका रुपमा चिनिएका बो सिलाईका कारण विश्वभर नै चर्चित भएको थियो । बोलाई भ्रष्टाचार र एक बेलायती व्यवसायीको हत्या अभियोगमा सन् २०१३ मा जन्मकैदको सजाय सुनाइएको थियो ।

सन् २०१२ मा गुइझाऊ प्रान्तको कम्युनिस्ट पार्टीमा सचिव नियुक्त गरिएको चेन एक वर्ष पनि नपुग्दै र सि राष्ट्रपति निर्वाचित भएको एक महिना नबित्दै गभर्नर नियुक्त भएका थिए । सन् २०१५ मा फेरि उनको पदोन्नति गरेर गुइझाउको पार्टी प्रमुख बनाइएको थियो ।

पार्टी उच्च स्रोतका अनुसार सिको सहायताले चेन विपक्षी खेमाका प्रतिस्पर्धीलाई उछिनेर चिनियाँ कम्युनिस्ट पार्टीको स्ट्यान्डिङ कमिटीमा सोझै पर्न सक्छन् । उनलाई कमिटीका लागि ‘डार्क हर्स’ उम्मेदवार मानिएको छ ।पिछडिएको गुुइझाऊ प्रान्तबाट चर्चित महानगर चोङकिङ प्रमुखका रुपमा नियुक्ती पाउनुले पार्टीको केन्द्रीय पोलिटब्युरोमा चेनको उपस्थिति लगभग निश्चित संकेत मानिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं कंग्रेस यसै वर्ष शरदमा बस्ने भएकाले उनले फेरि अर्को पदोन्नतिका लागि केही समय कुर्नुपर्ने पनि हुनसक्छ । किनभने एउटा ‘हाई प्रोफाइल’ पदमा नियुक्ति पाएको एक÷दुई महिनामै अर्को ठूलो पदोन्नति हुनु असामान्य हुनेछ ।

चीनले तीव्र गतिमा आर्थिक विकास गरिरहँदा गुइझाऊ भने अझै पनि अत्यन्त पिछडिएको प्रान्तका रुपमा रहेको छ । अहिले भने बल्ला संघीय सरकारले गुइझाऊमा गरिबी निवारण गर्न अर्बौ रकम खनाउन थालेको छ । सिन्ह्वाका अनुसार गुइझाऊका गभर्नर सुन झिगाङले प्रान्तको पार्टी प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.