सञ्चारकर्मी कल्पनाको तीज गीत सार्वजनिक (भिडियो)
काठमाडौं : सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीत सार्वजनिक भएको छ। प्रसारण पत्रकारिता अन्तर्गत टेलिभिजनमा समाचार वाचिकाको छवी बनाएकी कल्पनाले ‘मै कति भाग्यमानी..’ बोलको गीतमा स्वर दिएकी हुन्। १३ मिनेट लामो भिडियोमा उनको अभिनय देख्न सकिन्छ।
आधुनिक गीत निकाल्ने तयारीमा रहेकी कल्पनाले तीज गीत सार्वजनिक गरेकी हुन्। विपिन किरणको शब्द र नारायण सुवेदीको संगीत रहेको यो गीतमा गायक, गीतकार र संगीतकार तीनैजनाको तीज गीतमा पहिलो प्रयास हो।
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतसँग पहिलोपटक गायन सिकेकी कल्पना १२ वर्षभन्दा बढी समयदेखि टेलिभिजन पत्रकारितामा संलग्न छिन्। ‘गीत, संगीत मेरो सौखमात्र हो, पेशा त मेरो पत्रकारिता नै हो’, उनले अन्नपूर्णसँग भनिन्, ‘प्रायः तीज गीतहरुमा दुखेसो पोख्ने, कुनै पात्रलाई गाली गर्ने, सासुससुरा, नन्दआमाजुलाई नकारात्मक ढंगले प्रस्तुत गर्ने गरिन्थ्यो त्यसैले यसमा अत्यन्तै सकारात्मक रुपमा प्रस्तुत गरिएको भएर पनि यो तीज गीत गाएकी हुँ।’
तीज विशेषमा नारीले नाच्ने, गाउने र रमाइलो गर्ने भएकोले यो गीतको भिडियोमा पुरुष कलाQकार समावेश नगरिएको उनको भनाई छ। गीतमा सासु र श्रीमानले माया गरेको विषय समावेश छ।