संस्कृति साट्दै सार्क कलाकार
काठमाडौं : कला संस्कृति साटासाट गर्दै सार्क राष्ट्रका कलाकार काठमाडौंमा सुमधुर सम्बन्ध विस्तार गरिरहेका छन् । हरियालीको बीचमा गोकर्ण फरेस्ट रिसोर्टभरि छरिएका कलाकार आफ्ना भावना क्यानभासमा पोतिरहेका छन् । शुक्रबारदेखि सुरु भएको 'सार्क आर्टिस्ट क्याम्प एन्ड एक्जिविसन अफ पेन्टिङ्स २०१७'मा सहभागी कलाकारमा नेपालप्रतिको बेग्लै उत्सुकता छ ।
नेपालको प्राकृतिक सुन्दरताका बारेमा सुनेका उनीहरू यहीँ बसेर त्यो सुन्दरतालाई क्यानभासमा सजाउन उत्साहित देखिए । बंगलादेशबाट आएका प्रोफेसर सेख अफजललाई नेपालको सुन्दरताले लोभ्याएको छ । सिर्जनाका लागि उनलाई यो वातावरण निकै उपयुक्त लाग्यो । बंगलादेशकै अर्का कलाकार रेजउन नवी सार्क देशका कलाकारसँग भेट्न पाउँदा निकै खुसी छन् । नेपालमा चौथोपटक आएका उनले ३० वर्षदेखि कलाकारिता गरिरहेका छन् । यो भेटमा नयाँ साथीहरूबाट नयाँ विषय जान्ने अपेक्षा उनको छ ।
सहभागी कलाकारलाई सुन्दरता र प्रकृति विषय दिइएको छ । नेपाली कलाकार एरिना ताम्राकार महिलामा आधारित रहेर सुन्दरता र प्रकृतिको विषयमा चित्र बनाउँदैछिन् । समूहमा काम गर्न पाउँदा उनले बेग्लै अनुभव गरिरहेकी छन् । नयाँ पुस्ताकी कलाकार शुभ जोशी पहिलोपटक अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी भइरहेकी छन् । उनले सिक्ने मौका त धेरै पाएकी छन् । तर धेरै अग्रज कलाकारको अगाडि अलिकति डर पनि लागिरहेको बताइन्।
अर्कोतिर श्रीलंकाका कलाकार एबीजे पुष्पकुमारा र एमएएसएस अवय सिं नेपाल आउन पाउँदा खुसी देखिए । बुद्ध धर्मावलम्बी उनीहरू बुद्ध जन्मेको देश आइपुग्दा आनन्दित थिए । आउँदाआउँदै होटेलमा बुद्धलाई सजाइएको दृश्यले भने उनीहरूलाई दुःखी बनायो । आफूले पूजा गर्ने गरेको भगवान्लाई होटेलमा सजावटको वस्तु बनाइएकोमा उनले चित्त दुखाए । उनीहरू पनि बुद्धको चित्र बनाउँछन् । नेपालमा बनाइने बुद्धका चित्रहरूलाई इन्टरनेटमा खोजीखोजी हेर्छन् ।
नयाँ शैली खोज्ने यो मौका अझै राम्रो लागेको अनुभव उनले सुनाए । कार्यशालामा अफगानिस्तान बाहेकका सात राष्ट्रका कलाकार भेला भएका छन् । 'सार्क कल्चर सेन्टर श्रीलंका' र नेपाल सरकार संस्कृति मन्त्रालयको आयोजनामा भएको कार्यशालामा बनेका चित्रहरू अन्तिम दिन सोमबार प्रदर्शन गरिनेछ ।
नेपाली कलाकारहरू लोक÷परम्परागत कलाकारहरू लोक चित्रकार, उदयचरण श्रेष्ठ र एससी सुमनले लोककलामा पनि नेपाली समसामयिक कलाको विम्ब प्रस्तुत गर्दैछन् । कलाकार अनिता भट्टराई, ज्योतिप्रकाश बीके, सुनीता राणा, जस्मिन राजभण्डारी, नम्रता सिंह र शुभ जोशीले आआफ्ना शैलीमा प्रकृति र लुकेका सौन्दर्यलाई कलामा प्रस्तुत गर्दैछन् ।