नीरू गोसाईंको छाता
काठमाडौं : ‘इन्डियन माइम थिएटर' कलाकारले सोमबार बेलुका राजधानीको आर्मी अफिसर्स क्लबको अडिटोरियममा ‘माइम' नाटक मञ्चन गर्यो। रंगकर्मी निरञ्जन गोस्वामीको समूहले प्रस्तुत गरेको ‘अम्ब्रेला अफ नीरू गोसाईं' नाटकमा छाताको बहुप्रयोजन प्रस्तुत गरिएको थियो।
घामपानीमा त छाता प्रयोग गरिन्छ नै; त्यसबाहेक लौरोको रूपमा, आफ्नो सुरक्षा गर्ने हतियारका रूपमा पनि प्रयोग गरिन्छ । छाता धेरै महँगो पर्दैन, यसलाई धेरै महत्व पनि दिइएको हुँदैन। तर, नाटकमा मुख्य कलाकारका रूपमा प्रस्तुत भएका गोस्वामीले छातामोहलाई रोचक शैलीमा प्रस्तुत गरेका थिए। कहिलेकाहीँ त उनलाई आफ्नो परिवारभन्दा छाताको बढी माया लागेजस्तो देखिन्थ्यो। एकैछिन छाता हराउँदा सपनामा पनि त्यही छाता देख्छन् । छाता प्रयोग गरिसकेपछि जतन गरेर राख्ने बानी पनि उनले निकै सुन्दर रूपमा प्रस्तुत गरे।
नाटकमा थुप्रै छाताको प्रयोग गरिएको थियो। छाताका भेराइटीमा मुख्य पात्रको छाता बेग्लै थियो। अरूको भन्दा अलि ठूलो, लामो चुच्चो भएको जसलाई नेपाली जनबोलीको भाषामा ‘बूढो छाता' भनिन्छ। परिस्थितिअनुसार थरीथरीका रङ र साइजका छाताको प्रयोगले नाटकलाई रमाइलो बनाएको थियो। कुनै संवाद नहुने माइम शैलीमा हाउभाउको पक्ष महत्वपूर्ण हुन्छ।
नाटकका कलाकारको अनुहारमात्र नभई शारीरिक हाउभाउ, हातका औंलाहरूको हाउभाउ सबै प्रस्ट थिए। चिया पकाउँदाको, चिया पिउँदा, खाना खाँदा, सामान उठाउँदा, पानी पर्दा कुदेको दृश्यहरूमा हाउभाउले सजिलै विषयवस्तु प्रस्ट्याएका थिए। हास्यरस माइमको आधारभूत पक्ष हो। यस नाटकमा रमाइला पक्ष प्रशस्तै थिए। नाटक बुझ्ने दर्शकले मनोरञ्जन लिइरहेका थिए।
नाटकका दृश्यले सानी बालिकालाई पनि बेस्सरी हँसाइरहेको थियो। पानी पर्दा छातामा ओत लाग्नका लागि आउनेहरू, ओत लाग्न नपाउँदा हिलो छ्यापेको दृश्यले दर्शकलाई निकै हँसायो । छाता चोरले ठूलो छाता लगेर सानो छाता साटो राखिदिएको, चोरलाई लखेटेको दृश्य पनि रमाइला थिए। छाता छोडेर हिँडेका व्यक्तिलाई टाढासम्म बोलाई बोलाई दिन जाने, छाता प्रयोग गरेर सुरक्षित फिर्ता गर्नेजस्ता राम्रा प्रवृत्ति पनि नाटकमा देखाइएको थियो।
भारतको स्वतन्त्रता दिवसको ७०औं वर्षका अवसरमा भारतीय सांस्कृतिक केन्द्र र मण्डला थिएटरको सहकार्यमा नाटक मञ्चन गरिएको हो। नाटक मञ्चनअघि मण्डला थिएटरमा माइम कार्यशाला आयोजना गरिएको थियो। पाँचदिने कार्यशालामा गोस्वामी र रंगकर्मी विजय बरालले नेपाली कलाकारलाई तालिम दिएका थिए।