आकर्षक अवतारमा सुजुकी डिजायर
काठमाडौं : नेपाली कारपारखीमाझ लोकप्रिय सुजुकी डिजायर आकर्षक अवतारमा भित्रिने भएको छ । सुजुकी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले डिजायरको ‘फेसलिफ्ट भर्जन' सार्वजनिक गर्न लागेको हो ।
नेपाली सेडान कार बजारमा डिजायर बिक्रीका हिसाबले अग्रणी छ । आसन्न अटो मेला र दसैंलाई लक्षित गरेर नयाँ स्वरूपमा नयाँ डिजायर भित्र्याउन लागिएको कम्पनीले जानकारी दिएको छ । नेपालमा डिजायर लोकप्रिय बनेपछि कम्पनीले नयाँ अवतारमा यसलाई भित्र्याउन कस्सिएको हो । भदौको मध्यतिर आयोजना हुन लागेको ‘नाडा अटो सो'अघि नै नयाँ डिजायर सार्वजनिक गर्ने कम्पनीको भनाइ छ ।
नयाँ डिजायरमा सुजुकी बलेनोमा प्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको छ । नयाँ प्लेटफर्मले कारको तौलमा कमी ल्याउनुका साथै यात्रुलाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ ।
नयाँ डिजायरको भित्री तथा बाहिरी डिजाइन आकर्षक छ । यसका फिचर्स पनि अपग्रेड गरिएको छ । यसको बाह्य तथा भित्री डिजाइन पछिल्ला संस्करणको तुलनामा थप स्टाइलिस छ । अघिल्लो संस्करणले झैं यसले पनि नेपाली कारपारखीको मन जित्न सफल हुनेमा कम्पनी ढुक्क छ ।
कम्पनीका अनुसार नयाँ डिजायर अधिक स्पेसियस हुनुका साथै बुटस्पेस पनि छ ।
१२ सय सीसी भीभीटी पेट्रोल इन्जिन
प्रतिलिटर १२ किलोमिटर माइलेज
इन्धन ट्यांकी ३७ लिटर
ग्राउन्ड क्लियरेन्स १६३ मिलिमिटर
कारमा की-लेस इन्ट्री, डीआरएल, रियर भेन्टसहितको अटो एसी, डायमन्ड कट अलोइज तथा स्टेट अफ आर्ट इन्फोटेनमेन्ट सिस्टमलगायत अत्याधुनिक सुविधा जडान गरिएको छ । यसमा प्रयोग गरिएको इन्फोटेनमेन्ट सिस्टममा दिइएको एन्ड्रोइड अटो सुविधा भारतमा निर्मित कारमै पहिलो भएको कम्पनीको दाबी छ । साथै, यसमा ठूलो टच स्क्रिनको माध्यमबाट एप्पल कार प्ले सुविधा पनि उपलब्ध छ ।
कारमा यात्रुको सुरक्षालाई विशेष ध्यान दिइएको छ । यसमा डुअल एयर ब्याग र स्ट्यान्डर्ड सेफ्टी फिचरका रूपमा एबीएस सुविधा पनि छ । कारको फ्रन्ड डिस्क ब्रेक र ब्याकमा ड्रम ब्रेक प्रयोग गरिएको छ । गाडीको यात्रा सुविधायुक्त बनाउन गुणस्तरीय सस्पेन्सन जडान गरिएको छ । कारमा १२ सय सीसीको भीभीटी पेट्रोल इञ्जिन जडान गरिएको छ । यसले एक लिटर पेट्रोलमा २२ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । कारमा ३७ लिटर पेट्रोल अटाउने इन्धन ट्यांकी छ । कम्पनीका अनुसार इन्जिन पावर र माइलेजका लागि नयाँ डिजायर उत्कृष्ट छ ।
यसको ग्राउन्ड क्लियरेन्स एक सय ६३ मिलिमिटर छ । यसमा पाँच स्पिड म्यानुअल गियर छ । यसको टर्निङ रेडियस ४.८ मिलिमिटर छ । सिटी र हाइवे दुवै सडकमा कुदाउन नयाँ डिजायर उपयुक्त रहेको कम्पनीले जनाएको छ । कारमा पाँचजनाले आरामदायी यात्रा गर्न सक्छन् । नयाँ डिजायर एल, बी, जेड र जेड प्लस गरी चारवटा भेरियन्टमा उपलब्ध छ ।