पलेँटीमा मीनाको एकल गायन

पलेँटीमा मीनाको एकल  गायन

काठमाडौं : नेपालयको 'आर' शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुने गरेको सांगीतिक शृंखला पलेँटीमा यस पटक संगीतकार आभासले गायिका मीना निरौलामार्फत आफ्ना सिर्जनाहरू प्रस्तुत गर्ने भएका छन् । नेपाली चलचित्र संगीतमा अहिले चर्चित गायिका मीना झन्डै एक दशक पहिलेदेखि पलेँटीसित आबद्ध गायिका हुन् ।

मीनाले यसभन्दा पहिले गीतकार रत्नशमशेर थापा, किरण खरेल, राममान तृषित, दिनेश अधिकारी र संगीतकार अम्बर गुरुङ, शान्ति ठटाललगायतसँग दर्जनौं पलेँटीमा आफ्नो सहगायन प्रस्तुत गरिसकेकी छन् । यसपालिको पलेँटी भने मीनाको एकल गायनको पहिलो पलेँटी हुनेछ ।

संगीतकार आभासले पलेँटीलाई प्रारम्भदेखि नै संयोजन गर्दै आइरहेका छन् । सन् २००६ मा पलेँटीले दार्जिलिङका नेपालीभाषी कलाकारलाई पनि समेट्न सुरु ग¥यो । सन् २००७ मा यसको दायरा अझै फराकिलो पार्ने उद्देश्यले संगीतकार आभास भारतको उत्तरपूर्वी राज्यहरूको भ्रमणमा निस्के । मनिपुर पुगेपछि उतै काङ्लातुम्बीका अगुवा कलाकार शान्तनुकुमार लिम्बू पलेँटीका लागि निम्त्याइए । शान्तनुमार्फत नेपालमै घरजम गरेर भित्रिएकी मीनाको पलेँटीमा प्रवेश भएको थियो ।

आभासले यसपालिको पलेँटीमा मीनाका निम्ति नयाँ र पुराना गरेर १६ वटा गीत छानेका छन् । केही युगल गीत पनि रहने छन् जसलाई आभास आफैंले मीनाका साथ प्रस्तुत गर्नेछन् । यासपालिको पलेँटीका निम्ति छानिएका गीतमा वैरागी काइँला, मञ्जुल, दिनेश अधिकारी, श्रवण मुकारुङ र आभासका शब्दहरू रहेका छन् ।

संगीतकार आभासले मीनाकै स्वरका लागि सिर्जना गरेका नयाँ गीतहरू पनि यसपालिको पलेँटीमा पहिलोपल्ट प्रस्तुत हुनेछन् । गायिका मीना निरौला र बेनुका राईलाई साथमा लिएर संगीतकार आभासले केही महिनापहिले तीन दर्जनभन्दा धेरै बालगीतहरू रेकर्ड गराएका छन् । मीनाले नेपालयले पुस्तकसहित प्रकाशन गर्ने तयारी गरिरहेका बालगीतहरूको केही झलक पनि प्रस्तुत गर्नेछिन् । यो महिनाको पलेँटी २५ अगस्ट शुक्रबारको साँझ कालिकामार्गस्थित नेपालयको 'आर'शालामा हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.