मिस मंगोललाई सम्मान
काठमाडौं : सभामुख ओनसरी घर्तीले मिस मंगोल नेपाल २०१६ र २०१७ का विजेताहरूलाई सम्मान गरेकी छन् । सिंगापुर इन्टरप्राइजेजको आयोजनामा राजधानीमा शुक्रबार आयोजित तीज विशेष कार्यक्रममा सभामुख घर्तीले मिस मंगोलका विजेतासहित विभिन्न व्यक्तिलाई सम्मान गरेकी हुन्।
सम्मान पाउनेमा मिस मंगोल नेपाल २०१६ प्रीति गुरुङ, फस्ट रनरअप बरुना राई, सेकेन्ड रनरअप योजना थापामगर, मिस मंगोल नेपाल २०१७ अनिता लामा, फस्ट रनरअप खुसी मगर र सेकेन्ड रनरअप श्वेता थापामगर रहेका छन् ।
कार्यक्रममा लोकगायिका हरिदेवी कोइराला, सञ्चारकर्मीद्वय कृष्ण कँडेल र प्रकाश थापा, समाजसेवीद्वय गणेश गुरुङ र केशव थापा, खेलाडीद्वय अरुणा गुरुङ र विमला रानामगर, कलाकार कल्पना गुरुङलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी सम्पूर्ण तमु समाज ललितपुर, मगर समाज केन्द्र ललितपुर र सातमुहाने तमु समाज ललितपुरलाई सभामुख घर्तीले सिंगापुर इन्टरप्राइजेजका तर्फबाट सम्मान गरेकी थिइन् ।
कार्यक्रममा हरिदेवी कोइरालादेखि नयाँ पुस्ताका डेढ दर्जनभन्दा बढी कलाकारले तीज गीत तथा नृत्य प्रस्तुत गरी सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै सभामुख घर्तीले नेपाल सांस्कृतिक विविधताले धनी भएकाले यस्ता चाडपर्वमा सबै नेपाली एक भएर मनाउने गरिएको बताइन् । यता तीजको रमझम भए पनि तराईमा बाढीपीडितको पीडाले आफूलाई मर्माहत बनाएको बताउँदै उनले उनीहरूलाई सबैले सक्दो सहयोग गर्न आग्रह पनि गरिन् ।