तीजको शृंगार
तीजमा कोभन्दा को राम्रीको होड चल्छ । तीज आउनु अघिदेखि नै शृंगारको तयारी गरिन्छ । सोह्र शृंगार गरेर भगवान् शिवको पूजा आराधना गरिन्छ । तीजमा आफूलाई चिटिक्क बनाउन केही शृंगार टिप्सलाई ध्यान दिनुपर्छ । ब्युटिसियन रेनु शाक्यको शृंगार टिप्स :
तीजभन्दा केही दिनअघि नै आवश्यकताअनुसार कपाल काट्ने, ट्रिम गर्ने, कलर गर्नेजस्ता उपचार गर्नुपर्छ । दर खानेभन्दा अघिल्लो दिनमा फेसियल गर्दा राम्रो हुन्छ । तीजको दिनमा तयार हुन सबैभन्दा पहिले अनुहार क्लिन्जिङ गर्नुपर्छ । अब बेस लगाउनुपर्छ । प्राइमर लगाइसकेपछि काउन्टरिङ गर्नुपर्छ । अनुहारलाई सही आकार दिन काउन्टरिङ गरिन्छ । लाम्चो अनुहार भएकालाई काउन्टरिङ गर्नु आवश्यक हुँदैन । गोलो अनुहारमा गालाको मोटो भाग लुकाई पातलो देखाउन डार्क सेड प्रयोग गरेर काउन्टरिङ गरिन्छ । काउन्टरिङ गरेपछि आफ्नो छाला सुहाउँदो फाउन्डेसन वा कन्सिलर लगाउनुपर्छ ।
तीजमा प्रायः ओपन नेक ब्लाउज लगाइन्छ । घाँटी र ढाडको देखिने भागमा पनि क्लिन्जिङ गरेर फाउन्डेसन लगाउनुपर्छ । ढाडलाई राम्रो देखाउन स्क्रब, ब्लिज पनि गर्न सकिन्छ । अरूभन्दा फरक देखिन चाहनेले ढाडमा नक्कली टाटु वा मेहन्दीको बुट्टा पनि बनाउन सक्छन् । अनुहार र शरीरको छाला फरक देखियो भने मेहनतसँग गरेको मेकअपको कुनै अर्थ रहँदैन । अब छालालाई सुहाउने पाउडर लगाउने । अब आँखाको मेकअप सुरु गर्ने । आँखाको मेकअप पहिले नै गरे पनि खासै फरक पर्दैन । पहिला रातो सेडको आई मेकअप चलेको थियो ।
अहिले स्मोकी आई बनाउने चलन छ । रातो, गोल्डनमा कालो, हरियो वा पहिरन सुहाउँदो सेडले स्मोकी बनाउन सकिन्छ । गाजल लगाएर आई लेस लगाउनुपर्छ । यसले परेला लामो देखाई आँखालाई सुन्दर र आकर्षक बनाउँछ । मस्कारा लगाई आँखाको शृंगार बिट मारेपछि गालामा ब्लसर लगाउने । गालाको बनोट हेरेर काउन्टरिङ गरेको ठाउँमा ब्लसर लगाउनुपर्छ । ओठको सेप चट्ट मिलाएर लिप लाइनर लगाउने । अनि लिपस्टिक लगाउने । प्रायः रातो लिपस्टिक धेरैको रोजाइमा पर्छ । यसपालि कलेजी रङको लिपस्टिक चल्तीमा छ । मेकअप पूरा भएपछि वाटर स्प्रे वा मेकअप लङलास्टिङ स्प्रे प्रयोग गर्ने । यसले मेकअपलाई लामो समय टिकाउँछ । गर्मी मौसम र दिनभरिका लागि मेकअप टिकाइरहन स्प्रे एकदम जरुरी छ ।
तीजमा कपाल प्रायः धागोले बाट्ने गरिन्छ । हिजोआज हेयर एसेसोरिज पनि खुब चलेको छ । बजारमा रोजाइ अनुसारका जुरोहरू पनि पाइन्छ । जुरो बनाएर गोल्डेन, सिल्भर वा फूल भएको एसेसोरिज बनाउँदा ट्रेन्डी देखिन्छ । झुम्कावाला एसेसोरिज पनि रोजाइमा पर्नसक्छ । धागोले बाट्ने हो भने साइडमा गुलाबको फूल राख्दा राम्रो देखिन्छ । बजारमा थरीथरीका डेकोरेसन काँटाहरू पनि पाइन्छ । लामो कपाल हुनेले धागो बाटेकै राम्रो हुन्छ । शृंगार र भारी पहिरन लगाउँदा गहना पनि धेरै भारी भयो भने भद्दा देखिनसक्छ । गहना छनोटमा पनि विशेष ध्यान दिनुपर्छ । तीजको विशेष भनेको छड्के तिलहरी र लगनको पोते हो । घाँटीमा साधारण गहना लगाएर छड्के तिलहरी लगाउनु राम्रो हुन्छ । चुरा र टीका पहिरन सुहाउँदो छान्नुपर्छ । नेल आर्ट र मेहन्दी पनि तीजको शृंगारमा महत्वपूर्ण हुन थालेका छन् ।
दिनभरिको व्रत, नाचगानले बेलुकी धेरै थकान महसुस हुन्छ । थकाइ लाग्यो भनेर मेकअप रिमुभ नगर्ने गल्ती कदापि गर्नु हुँदैन । मेकअप रिमुभ गरेर क्लिन्जिङ गर्नु अति आवश्यक हुन्छ । नभए छाला ड्यामेज हुनसक्छ । घाममा सकेसम्म छाता र सनग्लास छुटाउनु हुँदैन ।