दर भर्सेस विपद्
हिन्दू नारीहरूको महान् पर्व तीज नजिकिँदो छ । धेरैले विविध योजना बनाइसके । कतिले सुनका गहना, सारी किनिसके । अझ हुनेखानेहरूलाई त एक महिना अघिबाटै दर खाने कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ छ । तर, केही महिलालाई यो महान् चाड जतिजति नजिकिन्छ उति नै तनाव हुन थाल्छ । बुद्धनगरमा तीन वर्षदेखि चार जना परिवारका लागि महिनाको ३५ सय तिरी एउटा कोठा लिएर बस्दै आएकी सानुमाया तामाङलाई तीजले अझै छोएको छैन । तर, उनले काम गर्ने घरहरूका साहुनीहरूलाई लागेको तीजले उनको मन भने अमिलिएको छ ।
बिहान र बेलुकी गरी दुईपटक दुई घरमा भाँडा माझ्ने, भुइँ पुछ्ने र कपडा धुने काम गरी महिनाको १० हजार रुपैयाँ उनको कमाइ छ । तीजको चर्चा चलिरहँदा उनले भनिन्, ‘आ... कसैलाई केको धन्दा घरज्वाइँलाई खानकै भनेझैं, तीज लाग्या छ साहुनीहरूलाई ।' उनले काम गर्ने एउटा घरमा साउनदेखि नै तीज लागेकाले तीन दिनजति सानुमायाले काममा जान पाइनन् । नगएको दिनको ज्याला काट्ने कारणले उनलाई तीज नजिकिएकोमा दुःख लागेको छ । भनिन्, ‘अब तीजसम्म कति दिन पो हो यसरी पैसा काट्ने । हामी जस्तालाई त चाडबाडले उल्टो तनावमात्र दिन्छ ।' उसो त सानुमाया पनि तीजको दिन यसअघिको दसैंमा साहुनीले दिएको साडी ढल्काएर पशुपति जाने योजनामा छिन् ।
थापाथली प्रसूतिगृहअगाडि पानीपुरी र चट्पटे बेचेर दैनिक गुजारा गर्ने देवकी न्यौपानेलाई पनि तीज आउँदा रमाइलोभन्दा दिक्क लाग्छ । लोग्नेले सौता हालेपछि मौखिक पारपाचुके गरेकी उनी आफैंले दुईवटी छोरीलाई पढाइरहेकी छन् । यो महँगीको सहरमा सानो कोठा लिएर बसेकी उनलाई कोठाभाडा, छोरीहरूको पढाइ र खुवाइ खर्च टार्न धौधौ छ । त्यसमाथि तीज नजिकिँदै गर्दा छिमेकी र घरबेटीलाई लागेको तीज देखेर देवकी आफूलाई निकै अभागी ठान्न थालेकी छन् । छोरीहरू उनलाई हेर्दै सोध्छन्, ‘आमा हाम्लाई किन कसैले दर खान बोलाउँदैनन् ? , हामीलाई पनि त्यस्तै रातो कुर्था किनिदिनुस् न, त्यो आन्टीहरूको त कत्ति धेरै गहना, फेरी फेरी लाउनुहुन्छ, तपाईंसँग किन त्यस्तो केही छैन ? ' उनीहरूका यी निर्दोष प्रश्नले देवकी केही रात सुत्न सकिनन् ।
छोरीहरूको मनोविज्ञानमा असर गर्ला भन्ने डरले उनले न्युरोडबाट उस्तै डिजाइनको रातो कुर्ता दुवैलाई किनिदिइसकिन् । मलिनो हाँसो ल्याउँदै भनिन्, ‘दुइटा कुर्थालाई ३३ सय पर्यो । सिलाइ खर्च पनि कस्तो बढेको भने अब भोलि कुर्था लिन जाँदा ६ सय बुझाउनुपर्छ ।' तीजको अघिल्लो दिन हरेक वर्षजस्तै माइती जानेछिन् देवकी । अहिलेबाट आफू र छोरीहरूको बसभाडा र माइती लैजाने कोसेलीको जोहो गर्दैछिन् । सानुमाया र देवकी प्रतिनिधि पात्र मात्र हुन् ।
उनीहरूजस्ता धेरै महिलालाई तीजले छोएको छैन । हुनेलाई खिरैखीर नहुनेलाई पिरैपीर भनेजस्तो धेरै दिदीबहिनी अहिले तीजको रमझममा डुबिसके । घाँटी हेरेर हाड निल्नुपर्छ, तीजमा तँ राम्रो कि म भन्ने तडकभडकले मानसिक तनाव र घरायसी झगडामा सहयोगी भूमिका खेल्नसक्छ । उपभोक्तावाद बजारलाई प्र श्रय दिने महिलाले यस्तो समय उत्पादनशील र उपयोगी कार्यमा लगानी गरे फाइदा उनीहरूलाई नै हुनसक्छ । अझ देशमा बाढीले बितन्डा मच्चाउँदा अहिले तराईका लाखौं मानिस घरबारविहीन भएका छन् । यो दुःखद क्षणमा बाढीपीडितको घाउमा मल्हम लगाउन सबैले केही न केही सहयोग गर्न सक्छौं । अविरल वर्षापछिको बाढीपहिरोले पूरै तराई डुबानमा परेर पाँच दर्जनभन्दा बढीको मृत्यु, धेरैजना विस्थापित भएका खबरहरू आइरहँदा पनि सुकिलामुकिला महिला तीजकै चटारोमा पार्टी प्यालेसमा रमाइरहे भने शोभा दिँदैन ।
संसारमा जस्तासुकै मै हुँ भन्नेले पनि प्राकृतिक विपत्तिको सामना कहाँ कति बेला गर्नुपर्छ ठेगान हँदैन । हुन त सबै मान्छे आफ्नो मर्जी बाँच्न र रमाउन पाउँछन् । तर, सामाजिक सञ्जालको युगमा एउटै समयमा कतै रुवाबासी र बिजोग भएकाहरूको फोटो त कतै स्टाइल स्टाइलको हप्ता अघिदेखिको स्टार होटलमा गरिएका दर पार्टीको फोटो ? धेरैको घरमा भएको अन्नपात डुबानमा परे, खेतबारीको बालीनाली डुबानमा परे, गाईगोठका चौपाया सबै मरे अब त्यो खेतबारीमा ऊब्जनी हुन धेरै समय लाग्छ ।
उता भोकमरीले सताउने खतरा छ, यता तीज आउनु धेरै अघिदेखि पार्टी प्यालेसमा उफ्रिने ? दर भनेको त व्रत बस्नुभन्दा एक दिनअगाडि शरीरलाई बल मिलोस् भनेर खाइने मिठोमसिनो खानेकुरा हो । विवाहित छोरी माइती आउने, दर खाने अनि भोलिपल्ट निराहार व्रत बसी दिनभर नाचगान गरी रमाइलो गर्ने चाड हो तीज । हाम्रा यी र यस्ता चाडपर्वले नै एउटै सूत्रमा बाँधेको छ सबैलाई । यसको संरक्षण गर्नु हाम्रो दायित्व पनि हो । महँगा होटलमा गरिने दर पार्टीको खर्च बरु बाढीपहिरो पीडितलाई सहयोग गरौं । दर खाने दिन क्यालेन्डरमा तोकिएकै दिन जुराऔं, भोलिपल्ट तीज पनि मनाऔं । यसो गरे कसो होला?