रसुवागढीबाट करिब तीन अर्ब राजस्व
त्रिशूली (नुवाकोट): रसुवागढी नाकावाट राजस्व संकलन वृद्धिभएको छ। गत आर्थिक वर्ष टिमुरेमा रहेको रसुवागढी भन्सार कार्यालयले लक्ष्यभन्दा एक सय २० प्रतिशत बढी अर्थात् दुई अर्ब ९३ करोड रुपैयाँ रुपैयाँ राजस्व संकलन गरेको छ।
चालू आर्थिक वर्षमा रसुवागढी भन्सार कार्यालयले दैनिक एक करोड रुपैयाँ राजस्व संकलन गरिरहेको छ। आव २०७३/०७४ मा रसुवागढी भन्सारले दुई अर्ब ४३ करोड राजस्व असुली लक्ष्य राखेकामा लक्ष्यभन्दा एक सय २० प्रतिशत बढी असुली गरेको भन्सार प्रमुख केदार पनेरुले जानकारी दिए।
आव २०७२/०७३ मा रसुवागढी भन्सारले दुई अर्ब चार करोड रुपैयाँ राजस्व असुली गरेको थियो। दसैंका लागि व्यापारीले सामान ल्याइरहेका कारण हाल रसुवागढी भन्सारमा सरदर दैनिक ४० थान कन्टेनरका सामान जाँचपास हुँदै आएको छ।
रसुवागढी भन्सारले चालू आव २०७४/०७५ मा तीन अर्ब ६३ करोड राजस्व संकलन असुली लक्ष्य छ। डेढ महिनाको अवधिमा १८ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ। साउनमा मात्र ६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। सोहीअनुसार राजस्व संकलन गर्दै जाँदा आर्थिक वर्ष सकिनु अगावै भन्सारले आफ्नो असुली लक्ष्य पूरा गर्ने भन्सार कार्यालयले जनाएको छ।
रसुवागढी भन्सारबाट केरुङ हुँदै नेपालतर्फ स्याउ, तयारी पोसाक, विद्युतीय सामग्री, जुत्ता चप्पल र चियापत्ती आयात हुँदै आएको छ। नेपालबाट चीनतर्फ मैदा, कस्मेटिक सामग्री, चाउचाउ, हस्तकलाका सामग्री निर्यात हुँदै आएको छ।