आफ्ना उत्पादनबारे के भन्छन् अटो व्यवसायी ?

आफ्ना उत्पादनबारे के भन्छन् अटो व्यवसायी ?

रेनल्ट

नेपालका लागि रेनल्ट गाडीको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल्स प्रालि हो । प्रालिले नेपाली बजारमा तीन मोडलका कार बिक्री गर्दै आएको छ । रेनल्टका कार निर्माता कम्पनी फ्रान्स भए पनि यो अहिले भारतमै उत्पादन हुन्छ । नेपाली बजारमा इन्ट्री लेभल र एसयूभी कारको माग बढ्दो छ । कम्पनीले भने सोहीअनुसारको प्रडक्ट बजारमा ल्याउन सफल भएको छ । त्यसैले, छोटो समयमै ग्राहकको मन जित्न सफल भएको कम्पनीको दाबी छ ।

नेपाली अटो बजारमा रेनल्टका कार टप थ्रीमा पर्न सफल भएको कम्पनीले बताएको छ । नेपाली बजारमा रेनल्टका डस्टर, क्विड र लजी मोडलका कार उपलब्ध छन्, यिनको मूल्य न्यूनतम १७ लाखदेखि अधिकतम ५६ लाख रुपैयाँसम्म रहेको छ । ग्राहकले रेनल्टका गाडीमा विश्वास गर्नु र किन्नुपर्ने प्रमुख कारण नेपालको सडकसुहाउँदो ग्राउन्ड क्लिरेन्स नै भएको कम्पनीको भनाइ छ ।

रेनल्टका गाडीको बुट स्पेस, सजावट, डिजाइन, माइलेज र इन्जिन क्षमता नै ग्राहकको मन जित्न सक्ने आधार भएको कम्पनीका जनरल म्यानेजर अधिकुमार श्रेष्ठले बताए । कम्पनीले प्रति १० हजार किलोमिटरमा सर्भिस सेवा दिने गरेको छ भने पाँच वर्षको वारेन्टी पनि उपलब्ध गराएको छ । साथै रेनल्ट गाडीका पार्टपुर्जा रिजनेबल मूल्यमा सहजै पाउन सकने श्रेष्ठको भनाइ छ ।

डाट्सन

डाट्सन गाडीका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटर कर्प प्रालि हो । कम्पनीले नेपालमा तीन मोडलका पाँच भेरियन्टका कार बिक्री गर्दै आएको छ । डाट्सन गाडीको उत्पादन भारतमा हुन्छ । कम्पनीले बजारमा रेडी गो टी, रेडी गो एस, गो प्लस र गो भेरियन्टका गाडी बिक्री गर्दै आएको छ । डाट्सन गाडी नेपाली बजारमा न्यूनतम १४ लाखदेखि २६ लाख २९ हजार रुपैयाँसम्ममा उपलब्ध छ । डाट्सन नेपाली बजारमा प्रवेश गरेको तीन वर्ष मात्रै हुँदै छ । यति छोटो अवधिमा पनि कम्पनीले वार्षिक १५ सयको हाराहारीमा कार बिक्री गर्दै आएको छ ।

कम्पनीले बजारमा उपलब्ध गराएका कार बाइकको विकल्प बन्दै आएका छन् । कम्पनीले उपलब्ध गराएका सबै कारको मूल्य इन्ट्री लेभलअन्तर्गत नै छन् । प्रालिका सिनियर सेल्स प्रमुख विपीन बस्नेतका अनुसार नेपाली ग्राहकका लागि उपयुक्त मूल्यकै कारण डाट्सनका गाडी लोकप्रिय भइसकेको छ । नेपाली सडक सुहाउँदो, ग्राउन्ड क्लियरेन्स, माइलेज, सस्तो मर्मत शुल्क, युवापुस्तालाई लक्ष्य गरी तयार गरिएको सजावट र डिजाइकै कारण डाट्सनले नेपालीको मन जित्न सफल भएको उनको दाबी छ ।

महिन्द्रा

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्निइन्कर्पोरेटेड प्रालि हो । प्रालिले भारतमा उत्पादन हुने जिप तथा स्कार्पियो गाडी बिक्री गर्दै आएको छ । प्रालिले नेपाली बजारमा पाँच मोडलका गाडी बिक्री गर्दै आएको छ । साथै महिन्द्राले नेपाली बजारमा विद्युतीय कार पनि बिक्री गर्दै आएको छ ।

प्रालिका सेल्स प्रमुख वरदान बस्नेतका अनुसार महिन्द्राले मासिक ५ सयको हाराहारीमा गाडी बेच्दै आएको छ । महिन्द्रा गाडी नेपाली बजारमा न्यूनतम २७ लाखदेखि ७५ लाख रुपैयाँसम्ममा पाइन्छ।

साथै प्रालिले नेपाली बजारमा बिक्री गर्दै आएको विद्युतीय कारको ईटूओको मूल्य भने २६ लाख रुपैयाँ तोकेको छ । प्रालिले बिक्री गर्दै आएको गाडी अफ रोड तथा सहरी दुवै क्षेत्रका लागि उपयुक्त भएको दाबी गरेको छ । गाडीको ग्राउन्ड क्लिरेन्स नेपाली सडक सुहाउँदो भएको बस्नेत बताउँछन् । सुरक्षाका हिसाबले महिन्द्राका गाडी बढी बिक्री हुने गरेको कम्पनीको दाबी छ । गाडी सानो र ठूलो दुवै किसिमको परिवारका लागि उपयुक्त छ ।

पावर र इन्जिन नै गाडीको प्रमुख विशेषता रहेको बस्नेतको भनाइ छ । देशका जुनसुकै भागमा पनि महिन्द्राका गाडी मर्मत गर्न सकिने कम्पनीले जानकारी दिएको छ । साथै गाडीका पार्जपुर्जा पनि सहजै पाउन सकिने कम्पनीको दाबी छ ।

टाटा

टाटा गाडीका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो । टाटाका गाडी भारतमै उत्पादन हुन्छन् । नेपाली बजारमा साना र ठूला गरी टाटाका ४० मोडलका गाडी उपलब्ध छन । आफूहरू नेपाली बजारमा सबैभन्दा बढी गाडी बिक्री गर्ने कम्पनी भएको कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर सावन्त सिजापतिको दाबी छ । चार्डपर्व सुरु भएसँगै मार्केट बढेको उनले बताए । बजारमा टाटाका कार मात्रै १० मोडलका २० भेरियन्टमा उपलब्ध छन् । टाटाका गाडीको नेपाली बजारमा न्यूनतम मूल्य २१ लाख देखि ७५ लाख रुपैयाँसम्म छ ।

गाडीको प्रमुख विशेषता भनेको इन्जिन नै हो । नेपाली बजारका आएका टाटाका कार सबैभन्दा नयाँ प्रविधिका छन् । त्यसमा पनि गाडीको स्पेस, आकर्षक डिजाइन र सवाजट सबै वर्गका लागि सुहाउँदो भएको उनको दाबी छ ।

सहरी तथा ग्रामीण दुवै सडकमा चलाउन मिल्ने ग्राउन्ड क्लिरेन्स भएको उनले बताए । टाटा गाडी सर्भिसका लागि देशभर पाँच सय सर्भिस सेन्टर भएको उनको दाबी छ । टाटाका साना गाडीको पार्टपुर्जा बिक्री पसल मात्रै २४ र ठूलाको पार्टपुर्जा बिक्री गर्ने ३२ वटा पसल रहेको कम्पनीले जानकारी दिएको छ ।

अशोक लेल्यान्ड

अशोक लेल्यान्ड गाडीका लागि नेपालको आधिकारिक बिक्रेता आईएमई मोटर प्रालि हो । प्रालिले नेपालमा अशोक लेल्यान्डले उत्पादन गर्दै आएका एक सयभन्दा बढी मोटलका पिकअफ, ट्र्याक्टर टेलर, टिपर र बस बिक्री गर्दै आएको छ । सरकारले ठूला बस आयातमा दिएको सहुलियत र प्राथमिकताका कारण व्यापार राम्रो रहेको कम्पनीका कपिल शिवाकोटीले बताए ।

कम्पनीले १९ लाख रुपैयाँदेखिका साना पिकअप, ५० लाख रुपैयाँभन्दा बढी मूल्यका ट्र्याक्टर टेलर, २३ लाखदेखि ७० लाख रुपैयाँसम्मका टिपर र २६ लाख रुपैयाँभन्दा माथिका १६ देखि एक सय सिटसम्मका बस बिक्री गर्दै आएको छ । अहिले मासिक एक सय ५० भन्दा बढी ठूला सिटी बस पनि बिक्री भइरहेको उनले बताए ।

 

महिन्द्रा : हेभी इक्विपमेन्ट

महिन्द्राको महिन्द्रा हेभी इक्विपमेन्ट नेपालका लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालि हो । कम्पनीले सन् २०१५ देखि ब्याकहो लोडर बिक्री गर्दै आएको छ । कम्पनीले यसबाहेक लोडर, क्रेन र ग्रेडर गरी चार मोडल हेभी इक्विपमेन्ट बिक्री गर्दै आएको छ । पुनर्निर्माणले तीव्रता पाइरहेको अवस्थामा हेभी इक्विपमेन्टको व्यापार बढ्दो रहेको कम्पनीका सेल्स प्रमुख दिनेश कोइरालाले बताए ।

नेपालमा अहिले बिक्री गरिरहेको हेभी इक्विपमेन्ट अन्य कम्पनीको तुलनामा बढी कोपड ठूलो र इन्धन कम लाग्ने रहेको कम्पनीले जनाएको छ । भारतमा उत्पादन हुने हेभी इक्विपमेन्ट मर्मत गर्नुपरेको अवस्थामा काम गरिरहेकै स्थानमा गएर गरिने उनले बताए । अहिले बजारमा महिन्द्राका हेभी इक्विपमेन्ट न्यूनतम ३० लाखदेखि ७० लाख रुपैयाँमा उपलब्ध छन् ।

यामाहा

बाइक तथा स्कुटर बजारमा यामाहाको एउटा पृथक् पहिचान छ । नेपालमा भित्रिएको ४५ वर्षभन्दा बढीको अवधिमा यामाहाका उत्पादनले नेपाली ग्राहकको मन जित्न सफल भएका छन् । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज प्रालिले पनि नेपाली ग्राहकको माग र परिवेशअनुसारका उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले नेपालमा अहिले सबै सेग्मनेन्टका बाइक तथा स्कुटर बिक्रीवितरण गरिरहेको छ । कम्पनीले माइलेज चाहने ग्राहकका लागि माइलेज सेग्मेन्ट, स्पोर्ट लुक्स चाहने ग्राहकलाई स्पोर्ट सेग्मेन्टका बाइक तथा स्कुटर बजारमा ल्याएको छ । टेक्नोलोजी, कार्यक्षमता, टिकाउपन र इको फ्रेन्ड्ली बाइकका रूपमा रहेको यामाहाका बाइक ग्लुको टेक्नोलाजीमा आधारित छन् ।

बजारमा कम्पनीको आर१५, एफजेड२५, एफजेड एक्सएफआइ, एफजेड एफआई, एजेडआरआर, सलुटोलगायत बाइक छन् । कम्पनीले बजारमा एक लाख २५ हजारदेखि आठ लाख ९५ हजार नौ सय रुपैयाँसम्मका बाइक र स्कुटरमा फ्यासिनो, रे-जेडआर (डिक्स र ड्रम) र रे-जेड गरी चार मोडल उपलब्ध गराएको छ । यिनको बजार मूल्य एक लाख ७७ हजार नौ सयदेखि एक लाख ९९ हजार नौ सय रुपैयाँसम्म रहेको कम्पनीका असिस्टेन्ट मार्केटिङ म्यानेजर विनोद महर्जनले जानकारी दिए ।

टीभीएस

जगदम्बा मोटर्स प्रालि टीभीएसका बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता हो । आफ्टर सेल्स सर्भिस र बाइक तथा स्कुटरमा प्रयोग भएको टेक्नोलोजीका कारण नेपाली बजारमा टीभीएस परिचित छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्ष्य गर्दै सबै रेन्जका बाइक भिर्‍याएको छ । टीभीएसको नेपाली बजारमा सयदेखि दुई सय सीसीसम्मका बाइक उपलब्ध छन् ।

स्टार सिटी प्लस, स्टार स्पोर्ट्स, भेक्टर, स्ट्राइकर, फिनिक्स, अपाचे आरटीआर छन् । यिनको मूल्य एक लाख ५० हजारदेखि दुई लाख ९१ हजार रुपैयाँसम्म रहेको कम्पनीले जानकारी दिएको छ । स्कुटरमा एक लाख ६७ हजारदेखि एक लाख ९३ हजार रुपैयाँसम्मका लिगो, जुपिटर, जेस्ट मोडल रहेको जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले बताए ।

हिरो

‘भ्यालु फर मनी’का रूपमा हिरोको बाइक नेपालमा चिनिएका छन् । पैसा खर्च गरेर त्यसको सही प्रतिफल चाहने ग्राहकका लागि हिरोका उत्पादन सबैभन्दा प्रभावकारी छन् । पारिवारिक मानिसका लागि सबैभन्दा उपयुक्त हुन्छ । माइलेज अनि यसको कार्यक्षमताले पनि ग्राहक हिरोका बाइकमा आकर्षित भएका हुन् । नेपाल जनरल मार्केटिङ प्रालिले हिरोका बाइक तथा स्कुटरको आधिकारिक बिक्रेताका रूपमा रहेर काम गर्दै आएको छ ।

यहाँ हिरोको सय सीसीदेखि दुई सय २५ सीसीसम्मका बाइक उपलब्ध छन् । त्यसमा एचएफ डिलक्स, स्प्लेन्डर एनएक्सजी, आई स्मार्ट ११०, आई ३एस, सुपर स्प्लेन्डर, ग्ल्यामर (डिस्क र ड्रममा) एचिभर १६९ आई३एस, एक्स्ट्रिम स्पोर्टलगायतका १४ मोडल छन्, जसको बजार मूल्य एक लाख ५५ हजार रुपैयाँबाट सुरु भएर दुई लाख ७५ हजार रुपैयाँसम्म रहेको छ । त्यस्तै स्कुटरतर्फ प्लेजर, मेस्ट्र एज, ड्युटलगायत छन् । यिनको बजारमूल्य एक लाख ६५ हजार रुपैयाँबाट सुरु भएर एक लाख ८१ हजार रुपैयाँसम्म रहेको नेपाल जनरल मार्केटिङ प्रालिका अध्यक्ष अभिक ज्योतिले जानकारी दिए । कम्पनीले नेपालभर ७५ वटा सेल्स पोइन्टमार्फत बिक्री तथा सर्भिस सेवा प्रदान गरिरहेको उनले बताए ।

हिट्को प्रालि

३४ वर्षदेखि हिट्को प्रालिले नेपालमा सञ्चालन भएका वर्कसपलाई आवश्यक सवारी बनाउने, सफा गर्ने तथा मर्मतका लागि आवश्यक औजार सप्लाई गर्दै आएको छ ।
नेपालमा सञ्चालित वर्कसपमध्ये ९० प्रतिशतमा आफैले सामान सप्लाई गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीपमान प्रधानको दाबी छ । कम्पनीले भारतीय बजारमा उत्पादित सामानको व्यापार गर्दै आएको छ । काठमाडौं उपत्यकामा फ्रि डेलिभरी सेवा पनि दिँदे आएको छ । उपत्यकाबाहिरका लागि भने जडानमा कुनै शुल्क नलिएको उनको भनाइ छ । प्रालिले सामान खरिद गर्ने वर्कसपलाई एक वर्षको वारेन्टी पनि दिँदै आएको छ । प्रधान नाडाका सहकोषअध्यक्ष पनि हुन् ।

हजुरलाई नमस्ते ट्रेडलिंक प्रालि

हजुरलाई नमस्ते ट्रेडलिंक प्रालिले १० वर्षदेखि लुब्रिकेन्स, टायर र हेभी इक्विपमेन्टका स्पेयर्स पार्ट्स बिक्री गर्दै आएको छ । कम्पनीले इटालियन ब्रान्डको आईटीआर लुब्रिकेन्ट्स बिक्री गर्छ । आईटीआर लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेताका रूपमा ट्रेडलिंक प्रालिले काम गरेको भने दुई वर्ष भइसकेको छ । यसबाहेक पनि अमेरिकन ब्रान्डको विश्वकै नम्बर एकमा पर्ने जीपी लुब्रिकेन्ट्सको समेत बिक्री गर्दै आएको कम्पनीका सीईओ तथा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले दाबी गरे ।

गुणस्तरीय लुब्रिकेन्ट्स प्रयोग गरेको अवस्थामा सवारीसाधनको सुरक्षा र खर्च पनि कम लाग्ने उनको भनाइ छ । आफूहरूले बिक्री गर्ने लुब्रिकेन्ट्स प्रयोग गर्दा पाँच हजार किलोमिटरसम्म मोटरसाइकल चलाउन सकिने उनको दाबी छ । कम्पनीले न्यूनतम चार सय ३० देखि ७ सय रुपैयाँसम्मका लुब्रिकेन्ट्स बिक्री गर्दै आएको छ ।

बोल्ट लुब्रिकेन्ट्स

नेपाली बजारमा नयाँ उत्पादनका रूपमा एक वर्षदेखि बोल्ट लुब्रिकेन्ट्स प्रवेश भएको छ । भारतीय बजारमा उत्पादन हुने बोल्टका लागि आधिकारिक बिक्रेता लक्ष्मीपति कन्सर्न प्रालि हो । कम्पनीले सबै प्रकारका सवारीका लागि उपयुक्त लुब्रिकेन्ट्सको बिक्रीवितरण गर्दै आएको छ ।मोटरसाइकलमा प्रयोग हुने बोल्ट लुब्रिकेन्ट्सको मूल्य भने ६ सय १० रहेको छ ।

गल्फ लुब्रिकेन्ट्स

गल्फ नेपालमै उत्पादन हुने पुरानो लुब्रिकेन्ट्स हो । ३० वर्षदेखि नेपालमै उत्पादन भइरहेको गल्फ ब्रान्डका लुब्रिकेन्ट्स बजारमा उपलब्ध सबै प्रकारका सवारीलाई मिल्छ । कम्पनीका मार्केटिङ म्यानेजर प्रद्युम्न न्यौपानेले आफूहरू नेपालको एक नम्बर भएको दाबी गर्छ । मोटरसाइकलमा प्रयोग हुने लुब्रिकेन्ट्सको मूल्य चार सय ७० देखि पाँच सय ५० रुपैयाँमा उपलब्ध छ ।

म्याक लुब्रिकेन्ट्स

भारतमा उत्पादन हुने म्याक लुब्रिकेन्ट्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो । कम्पनीले १५ वर्षदेखि नेपालमा चल्ने सबै प्रकारका सवारीमा प्रयोग हुने लुब्रिकेन्ट्स बिक्री गर्दै आएको छ । अटोमोबाइल्स लुब्रिकेन्टमा आफूहरू एक नम्बर रहेको प्रालिका ल्युब डिपार्टका उपमहानिर्देशक रोशनकुमार श्रेष्ठको दाबी छ ।

कम्पनीले सबैभन्दा बढी ठूला सवारीमा प्रयोग हुने लुब्रिकेन्ट्सको बिक्रीवितरण गर्दै आएको छ । कम्पनीले गतवर्ष मात्रै २३ लाख किलोलिटर लुब्रिकेन्ट्स बिक्री गर्न सफल भएको उनको दाबी छ । म्याक लुब्रिकेन्ट्स बजारमा प्रतिलिटर दुई सय ८० रुपैयाँदेखि नौ सय रुपैयाँसम्ममा उपलब्ध छ।

प्रस्तुति : उत्तम काप्री/रञ्जनहरि कोइराला


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.