झरनाको अनुभव: अभिनय भन्दा निर्देशन गाह्रो
चलचित्र ए मेरो हजुर २ बाट निर्देशनमा डेब्यु गरेकी झरना थापा अहिले फुरुङ छिन्। शुक्रबार रिलिज भएको यो चलचित्रलाई दर्शकले रुचाएका छन्। तीन दिनमै तीन करोड २३ लाख रुपैयाँको व्यापार गरेको छ। राजधानी र मोफसलका ९० भन्दा बढी हलमा प्रदर्शन भइरहेको चलचित्रले चौथो दिन सोमबार पनि सुखद व्यापार गरेको छ। २०५३ सालमा चलचित्र दाइजोबाट अभिनय आरम्भ गरेकी झरना २०५४ सालमा चलचित्र धर्म संकटबाट नायिकाका रूपमा देखिन थालेकी हुन्। उनले सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन्।
नायिका, निर्मात्री र निर्देशकमध्ये कुन भूमिका ह्रो हुँदोरहेछ?
निर्देशन नै गाह्रो। चलचित्र निर्माण गर्दा सुनील (पति) भएकाले गाह्रो भएन। अभिनयमा आफ्नो काम गर्यो हिँड्यो। राम्रो अभिनय गरे भइहाल्यो। तर निर्देशनमा सबै बोझ उठाउनुपर्ने भएकाले तनाव बढी हुने रहेछ।
चलचित्र रिलिजको अघिल्लो दिन बिहीबार बेलुकीको समय कसरी बित्यो ?
डरैडरमा बित्यो। राम्रै काम गरेको छु भन्ने त लाग्थ्यो तर आफूलाई मात्र मन परेर नहुने। बिहीबार बेलुकी प्रिमियर पनि थियो। चलचित्र हेरेपछि जस्तो प्रतिक्रिया पाएँ त्यसपछि अलि सहज लाग्न थाल्यो।
तीनवटै भूमिकामा अब्बल सावित हुनुभयो, कस्तो लागिरहेको छ?
अहिले चाहिँ आत्मविश्वास बढेको छ। ढुक्क भएकी छु। मेहनत सार्थक भएकोमा खुसी छु। ठूलो भारी बिसाएजस्तो लागिरहेको छ।
तपाईंबाट अन्य चलचित्रकर्मीले सिक्नुपर्ने पक्ष के जस्तो लाग्छ ?
मेहनत नै हो । अर्को कुरा कहिले कता, कहिले कता नलागी एउटै क्षेत्रमा धैर्यका साथ निरन्तरता दियो भने सफल भइन्छ ।
ए मेरो हजुर २ के कारणले दर्शकले रुचाएजस्तो लाग्छ ?
चलचित्रको सबै पक्षलाई दर्शकले राम्रो मानेका छन्। अब ए मेरो हजुर थ्री कहिले सुरु गर्ने भनेर सोध्न थालेका छन्।
चलचित्र बनाउनभन्दा चलाउन गाह्रो भनिन्छ, तपाईंलाई कस्तो लाग्यो ?
चलचित्र चलाउन सजिलो छैन। तर यसपटक सबै चलचित्रकर्मीको साथ पाएकाले मिति, हल पाउन सजिलो भयो। पहिले चलचित्र चलाउन हल माग्नुपथ्र्यो अहिले हलवालाले तपाईंको चलचित्र दिनु पर्यो भनेर मागिरहेका छन्।
यो चलचित्रबाट छोरीलाई डेब्यु गराउने चर्चा थियो नि?
त्यो चाहिँ हल्लामात्रै हो। छोरीले अभिनयमा चाहना देखाएकै छैन। चलचित्रमा उसको पनि सहभागिता होस् भन्ने मेरो चाहना छ। सम्भवतः दुई, तीन वर्षपछि डेब्यु गर्न सक्छिन्।
अब कुन विधामा बढी समय दिनुहुन्छ ?
पहिले जस्तो अब अभिनय गर्ने समय गयो । सुहाउँदो भूमिका पाएँ भने अवश्य गर्छु । अब म निर्माण निर्देशनमै म केन्द्रित हुनेछु।
कुन कलाकारलाई लिएर चलचित्र निर्देशन गर्ने चाहना छ ?
त्यसरी त सोचेको छैन । नेपाली चलचित्रमा नयाँ अनुहार आउन जरुरी लाग्छ । चलचित्र निर्माण एवं निर्देशन गरी नयाँ र राम्रो कलाकार जन्माउने चाहना छ ।
नायिकाका रूपमा काम गर्दा रेखा थापा र तपाईंबीच प्रतिस्पर्धा थियो निर्देशनमा लागेपछि आत्मीयता देखियो नि ?
हाम्रो समयमा दुवै उत्तिकै सफल थियौं। को अगाडि जाने, कसले राम्रो चलचित्रमा काम गर्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो। तर अहिले त्यस्तो छैन। सायद दुवैले समयलाई बुझ्यौं। परिपक्व भयौं। अब सहकार्य गर्नुपर्छ भन्नेमा दुवै पुग्यौं होला। आत्मीयता बढेको छ।