३६ वर्षपछि रंगमञ्चमा
काठमाडौं: ‘प्रविधि, प्रकाश, मञ्च, निर्देशन सबै नौलो भइसकेछ', ३६ वर्षपछि रंगमञ्चमा आफ्नो पुनर्जन्म भएको घोषणा गर्दै अभिनेता टीका पहारीले भने । एउटा युग काटेर रंगमञ्चमा फर्कंदा उनले भर्खरै जन्मिएको कलाकारले जसरी नै काम गर्नुपर्यो।
समयसँगै रंगमञ्चको शैली फेरिएको छ। नाटक ‘लाटीको छोरो' बाट फेरि रंगमञ्चमा फर्किएका टीकालाई नाटक सकिएर बाहिर निस्कनासाथ उनका समकालीन हरिहर शर्माले झ्याम्म अंकमाल गरे र खुसी साटे। वर्षौंपछि मञ्चमा आफ्ना मित्रलाई देख्दा शर्मालाई पुरानो समय स्मरण भयो। भने, ‘उहाँमा केही परिवर्तन देखिन, अलिअलि भएको चाउरी पनि अभिनयले छोपिदियो।'
रंगमञ्चमा शर्माको ‘कमब्याक' भएको पनि धेरै भएको छैन। दुवैको अनुभव एउटै थियो, ‘नयाँ पुस्तासँग काम गर्न सजिलो छैन।' नयाँ पुस्ता सिर्जनशील र क्रियाशील पनि छन। उनीहरूको अनुशासन र लगनशीलताले टीकालाई मोहित पारेको छ। आफू पनि उनीहरूभन्दा कमजोर नबन्ने कोसिस उनले गरे। ‘अहिलेका युवाले जति मेहनत हामीले गरेका थिएनौं।' चलचित्रको पृष्ठभूमिबाट आएका टीकाले रंगमञ्चबाटै हुर्किएका नयाँ पुस्तासँगै काँध मिलाएर काम गरे। ‘मलाई अप्ठ्यारो लाग्यो, यति स्मार्टसँग कसरी काम गरेँ होला, नयाँ स्कुल गएजस्तो लाग्यो', उनले अनुभव सुनाए। गाउँमा गएर ३६ वर्ष बिताए पनि काठमाडौँ आउँदा उनी रंगमञ्च चाहिँ चाहरिरहन्थे।
प्रकाश दाहालको परिकल्पना र श्याम साहको कथालाई सुलक्षण भारतीले निर्देशन गरेका हुन्। प्रकाशसँगको चिनाजानीले टीकालाई यो टिमसँग काम गर्ने संयोग जुरायो। तराईको परिवेशमा मञ्चन भएको नाटकका लागि टीका उपयुक्त पात्र सावित भए । तराईमै हुर्केका टीकालाई पनि त्यो परिवेशमा काम गर्न सजिलो भयो । निर्देशकले पत्याएर नाटकमा भूमिका पाएको बताए । ४० दिनको अभ्यासपछि सोमबारदेखि मण्डला नाटकघरमा नाटक मञ्चन सुरु भएको छ।
आर्ट स्टुडियोको प्रस्तुति यो नाटकले समाजमा प्रतिष्ठित भनिएकाको भित्री कर्तुत छर्लङयाएको छ । देशका ठूला नेताहरूको चरित्रमाथि प्रश्न गरेको छ। समाजमा ठूलाको इज्जतको लागि सानालाई बलि चढाइने पुरानो चलनको निरन्तरतामाथि व्यंग्य गरिएको छ। लाटीको भूमिकामा देखिएकी केनिपा सिंहको अभिनय निकै प्रभावशाली लाग्छ । भित्र गलत काम गरेर दुनियाँको अघि सज्जन देखिने नेता विषनाथको भूमिकामा टीकाको अभियनले नाटकलाई ओझिलो बनाएको छ।
हबलदार बच्चु यादवको भूमिकामा प्रकाश दाहाल पनि जमेका छन। नाटकमा पशुपति राई, सन्देश लामिछाने, कुन्दन चौधरी, रियर राई, रोशन सुवेदी, राजन काफ्ले, सुदीप खतिवडा, आयान खड्का, मिलन कार्की, अर्बिन खड्का र अर्चना पन्थीको पनि अभिनय छ। यसअघि सुलक्षणको निर्देशनमा मञ्चन गरिएका अन्य नाटकको तुलनामा ‘लाटीको छोरो' केही कमजोर झैं लाग्छ।