अलैंचीको मूल्य १० वर्ष यताकै कम

अलैंचीको मूल्य १० वर्ष यताकै कम

फिदिम : अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले नयाँ उत्पादनको १० मन अलैंची प्रतिमन (४० के.जी) ३० हजार रुपैंयामा खरिद गरे । अलैंचीको मूल्यमा भारी गिरावट आएपछि नेपालले १० वर्ष यताकै सस्तोमा अलैंची खरिद गरेका हुन् । उनी भन्छन्, ‘अलैंचीको मूल्यमा सुधार आउने छाँट छैन । दसैंपछि मूल्य अझै ओराले लाग्ने सम्भावना छ ।'

गत साल यही सिजनमा नेपालले नयाँ उत्पादनको अलैंची प्रतिमन ६० हजारमा खरिद गरेका थिए । तर, अहिले अलैंचीको मूल्यमा भारी गिरावट आएको भन्दै नेपालले ५० प्रतिशत कम मूल्यमा नयाँ उत्पादनको अलैंची खरिद गरेका हुन् । किसानको प्रतिष्ठासँग जोडिएको अलैंचीको मूल्य विगत १० वर्ष यताकै कम मूल्यमा कारोबार भइरहेको छ ।

‘२०६० सालतिर प्रतिमन ३० हजार मूल्यमा अलैंचीको खरिद विक्रि भएको थियो', फिदिमका अलैंची व्यापारी नरेन्द्र अधिकारीले भने, ‘अलैंचीको मूल्यमा आएको गिरावटले कृषक मात्र हैन व्यापारी पनि हैरान छन् ।'

चाडबाडको मुखमा मूल्यमा सुधार होला र पुरानो उत्पादनको अलैंची पनि बिक्री गरौंला भनेर बसेका किसानलाई ओरालो लागेको मूल्यले निरास बनाएको छ । व्यवसायीका अनुसार विगत केही वर्ष अलैंचीको उत्पादनमा अत्यधिक ह्रास आएको थियो । उत्पादन घटे पनि व्यवसायीले स्टक गरे । बजारमा अलैंचीको कृत्रिम अभाव भएपछि मूल्य ह्वात्तै बढ्यो । गत सालेखि अलैंचीको उत्पादन पनि वृद्धि भयो । उत्पादन वृद्धि भएको र स्टक राखेको अलैंची एकैसाथ बिक्री गर्न खोजिएकाले अन्तर्राष्ट्रिय बजारमा अलैंचीको मूल्य खस्किएको हो । ‘बजारको मागभन्दा उत्पादन बढी भएकाले पनि अलैंचीको मूल्यमा भारी गिरावट आएको हो', नेपालले भने ।

पाँचथरसहित देशका ४० जिल्लामा अलैंची उत्पादन हुन्छ । यी जिल्लाबाट वार्षिक पाँच हजार मेट्रिकटनभन्दा धेरै अलैंची बाहिरी देश निर्यात हुने गरेको छ । अलैंची व्यवसायी महासंघका अनुसार यसको निर्यातबाट वार्षिक ६ अर्ब रुपैयाँ नेपाल भित्रिने गरेको छ । यसमध्ये पाँच अर्ब रुपैयाँ किसानको हातमा पुग्ने व्यवसायी बताउँछन् । पाँचथर, ताप्लेजुङ, इलाम र संखुवासभावमा उल्लेख्य मात्रामा अलैंची उत्पादन हुन्छ । यी जिल्लामा कृषिउपजको निर्यातमा सबैभन्दा ठूलो हिस्सा अलैंचीले नै ओगटेको छ । नेपालबाट निकासी भएको ९९ प्रतिशत अलैंची भारतीय बजारमा निर्यात हुन्छ । भारतले नेपालमा उत्पादन भएको अलैंची गुणस्तरहिन दोष दिएपछि यहाँ उत्पादित अलैंचीले मूल्य गुमाएको एकथरि व्यवसायीको भनाइ छ ।

देशका ४० जिल्लामा अलैंची उत्पादन हुन्छ । यी जिल्लाबाट वार्षिक पाँच हजार मेट्रिकटनभन्दा धेरै अलैंची विदेश निर्यात हुने गरेको छ ।

‘मूल्यमा गिरावट आउनमा धेरै कारण छन्', नेपालले भने, ‘हाम्रै हेलचेक्राइले पनि समस्या आएको हो ।' जस्तोसुकै अलैंची उत्पादन गरे पनि बिक्छ भन्ने मानसिकता किसानको छ । यस्तो मान्यताले गर्दा गुणस्तरहिन अलैंची उत्पादनमा वृद्धि हुँदैछ । अलैंचीको मूल्य आकासिएपछि अलैंचीमा मिसावट गर्ने र तौल बढाउन राम्ररी नसुकाउनेलगायत कारण अलैंचीको गुणस्तर खस्किएको हो ।

पहाडका अलैंची व्यवसायीले तराईका अलैंची व्यवसायी इमान्दार नभएकाले अलैंचीको गुणस्तरमा ह्रास आएको बताउँछन् । अलैंचीका ठूला व्यवसायी बिर्तामोडका छन् । अलैंची व्यवसायी महासंघको केन्द्रीय कार्यालय पनि विर्तामोडमै छ । अधिकांश जिल्लाको अलैंची बिर्तामोडमा संकलन भएर विदेश निर्यात हुन्छ । यो वर्ष पहाडी जिल्लामा उत्पादन भएको अलैंची बिर्तामोडको बजासम्म पुग्न नपाउँदै गुणस्तरमा दोष देखाएर मूल्यमा कमी आउनमा बिर्तामोडका व्यापारीको दोष रहेको बताइन्छ ।

यहाँ उत्पादन भएको अलैंचीले टे«ड मार्क (सामूहिक व्यापार चिन्ह) पाएपछि भारतले नेपालको अलैंचीलाई दोष दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ‘तेस्रो मुलुक निर्यातका लागि प्रक्रिया अघि बढेको बेला भारतबाट यस्तो कुरा आएको हो', महासंघका एक पदाधीकारीले भने, ‘यहाँको अलैंची तेस्रो मुलुक निर्यात हुन नदिन भारतको ठूलै चलखेल छ ।'




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.