निन्दनीय अतिवाद

निन्दनीय अतिवाद

 

मानव समाज र राजनीतिमा धार्मिक अतिवाद हावी हुँदै जाँदा त्यसले विश्वमा हत्या, हिंसा, अस्थिरता र अशान्ति मच्याएको छ । यसको सबैभन्दा पछिल्लो नजिर बनेको छ, वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या । भारतको बेङलुरुमा हिन्दु अतिवादीद्वारा वरिष्ठ पत्रकार लंकेशको यही भदौ २० गते उनकै घरअगाडि गोली हानी हत्या गरिएको थियो । अधिकारकर्मीसमेत रहेकी ५५ वर्षकी गौरी कन्नड भाषामा प्रकाशित हुने ‘गौरी लंकेश पत्रिके’ नामक साप्ताहिक पत्रिकाकी संस्थापक तथा प्रधानसम्पादक थिइन् । उक्त पत्रिका वामपन्थी विचारधाराको समर्थक मानिन्छ । धर्मनिरपेक्षता, दलित, सीमान्तकृत र अल्पसंख्यकको पक्ष लिने लंकेश हिन्दुवादी राजनीति र त्यसका नाममा मौलाएको अधिनायकवादी चरित्रको निर्भीक भएर विरोध गर्थिन् । नक्सलवादी माओवादीलाई मूलधारमा ल्याउन प्रयत्नरत लंकेशको हत्याको जति निन्दा गरे पनि कमै हुनेछ ।

भारतीय जनता पार्टी (भाजपा) सरकारमा आएपछि हिन्दुवादी राजनीतिको खुलेर विरोध गर्ने र धर्मनिरपेक्षताको वकालत गर्नेहरूलाई धम्क्याउने र मार्नेसम्मका क्रियाकलाप हुँदै आएका छन् । यसअघि कर्नाटकको कन्नड विश्वविद्यालयका उपकुलपति भइसकेका बौद्धिक व्यक्तित्व एमएम कलबुर्गी, महाराष्ट्रका अन्धविश्वासविरोधी अधिकारकर्मी नरेन्द्र दाभोलकर र लेखक तथा भारतीय कम्युनिस्ट पार्टीसँग आबद्ध राजनीतिज्ञ गोविन्द पानसारेको पनि हिन्दुविरोधी भन्दै हत्या गरिएको थियो।

कलबुर्गी, दाभोलकर, पानसारे र लंकेश हत्या शृंखलाको कडी एकअर्कासँग जोडिएको अनुमान गरिएको छ, जसले यी हत्या सुनियोजित र सिलसिलेबार हुन् भनी लगाइएका आरोपलाई बल पुर्‍याएका छन् । यो थप चिन्ताको विषय हो ।

भारतमा सन् २०१४ को संघीय संसद्को तल्लो सदन लोकसभा निर्वाचनमा भाजपा एक्लैले बहुमत र भाजपासहितको गठबन्धनले आरामदायी बहुमत ल्याएपछि हिन्दुवादी राजनीतिका ज्यादती देखिन थालेका छन् । भ्यालेन्टाइन डेका दिनमा प्रेमीप्रेमिकाको जोडीलाई अपमान गर्नेदेखि धर्मनिरपेक्ष भारतको राज्यका अंगहरूमा देखिने गरी हिन्दु धर्मका प्रतीकको प्रयोगसमेत गर्न थालिएको छ ।

जवाहरलाल नेहरू विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयका धर्मनिरपेक्षताको वकालत गर्ने विद्यार्थीलाई ‘अराष्ट्रिय’ को आरोप लगाइएको दृष्टान्त ताजै छ । मुस्लिमहरूलाई सार्वजनिक स्थान र यातायातका साधनमा अपमान गर्ने मात्र होइन, ज्यानै मार्नेसम्मका अशोभनीय क्रियाकलाप भएका छन् । इस्लामका धर्मगुरुहरूलाई उनीहरूकै पवित्र धर्मस्थल गएर अपमानजनक व्यवहार गरिएको छ । धर्मनिरपेक्ष भारतमा यस्ताखाले धार्मिक अतिवादले टाउको उठाउनु दुर्भाग्यपूर्ण हो ।

भारतमा विपक्षी दलहरूले लंकेश हत्या प्रकरणको विरोध गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले भने यो प्रकरणमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । उदेक र चिन्तालाग्दो विषय के छ भने विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भारतका प्रधानमन्त्रीले पत्रकार हत्या घटनामा एक शब्द पनि नबोल्नु आलोच्य छ । उल्टै अतिवादी हिन्दुहरूले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा लंकेश हत्याको समर्थन गर्दै जे भयो ठीक भयोसम्म भनेका छन् । यसले भारतको राजनीति र समाज कतातिर गइरहेको छ भन्ने देखाउँछ । यो प्रवृत्ति चिन्ताजनक छ ।

लोकतान्त्रिक पद्धतिभित्र अधिनायकवादी चरित्र सुहाउने र सहन सकिने विषय होइनन् । वाक् स्वतन्त्रता र प्रेस स्वतन्त्रता कमजोर पार्न खोज्दा अधिनायकवाद, भ्रष्टाचार, शक्ति र अख्तियारको दुरुपयोग बढेर जान्छन् । मार्टिन लुथर किङ जुनियरले ‘कुनै पनि ठाउँमा हुने अन्याय अरू सबै ठाउँमा न्यायलाई चुनौती हो’ भनेका छन् । भारतमा वाक् र प्रेस स्वतन्त्रतामाथि भएको यो जघन्य आक्रमण नेपालको लागि पनि चिन्ताको विषय हो । यस्ता कायरतापूर्ण घटनाको हामी भत्र्सना गर्दछौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.