निराशाजनक सय दिन

निराशाजनक सय दिन

चुनावका बेला नेताले जनतालाई अनेक सपना बाँड्छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि नगरवासीलाई सपना देखाएर प्रमुखको कुर्सी हात पारे । मेयरको शपथ गर्दै गर्दा ‘एक सय एक’ वाचा गरेका उनी कार्यभार सम्हालेको सय दिन पुग्दा अत्यन्त निरीह देखिए । र, उनैले वाचाअनुसार काम गर्न नसकेको स्विकारे ।

भनिन्छ, दिउँसोको संकेत बिहानीले गर्छ । मेयर विद्यासुन्दरका हकमा आसलाग्दो बिहानी देखिएको छैन र दिउँसो सुखद हुने संकेत पनि मिलेको छैन । स्कुले विद्यार्थी घर फर्कंदा खाल्डोमा डुब्नुपर्ने नियति बोकेको महानगर नयाँ नेतृत्व पाएसँगै चोला फेरिनेमा विश्वस्त थियो । तर, सयदिने कार्यकालले त्यसलाई निराशामा परिणत गरिदियो ।

महानगरले सय दिनमा प्रत्येक वडा कार्यालयमा सीसीटीभी जडान गरेको विषयलाई उपलब्धिका रूपमा व्याख्या गरेको छ । सय दिनमा महानगर नेतृत्व मूलतः जनप्रतिनिधिका सेवा, सुविधा एवं कार्यालयको भौतिक पूर्वाधारकै विषयमा अलमलिएको देखिन्छ । निर्वाचित पदाधिकारीहरूको पहिलो बैठकले जनप्रतिनिधिका लागि ‘मोबाइल किन्ने’ जुन निर्णय गर्‍यो, त्यस्तो सस्तोलोकप्रियताको सबैतिरबाट विरोध भयो । ‘बर्खामा खाल्डा पुर्दा महानगरको खर्च मात्र हुने’ भन्ने प्रतिक्रिया दिनु, वडाध्यक्षहरूसँग सल्लाह नगरी महानगर कर्मचारी सरुवा गर्नु र महानगरका महत्वपूर्ण काम छाडेर आफ्ना नेताको चाकडीमा दौडिएको विषयले मेयर विवादमा तानिए ।

त्यसमाथि राजधानी अहिले फोहोरको डंगुरले कुरुप र दुर्गन्धित बन्दै गएको छ । चोक र गल्लीहरूका फोहोर उठाउन नसक्ने महानगर नेतृत्वले धुलोमैलो हटाउने, काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउने र यहाँ दुई वर्षभित्र मनोरेले र मेट्रोरेल कुदाउनेलगायत आकर्षक योजना कसरी पूरा गर्ला ? सय दिनको निराशाजनक कार्यकालले नै यसको लक्षण देखाइसकेको छ ।

पूर्वाधारका दृष्टिले काठमाडौं महानगरको विकास र व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण छ । निश्चय पनि सडक विगतको तुलनामा फराकिला भएका छन्, यद्यपि जनघनत्व बढ्दै छ र त्यसै अनुपातमा सवारीसाधन पनि बढिरहेका छन् । फराकिला भएका सडक पूर्णरूपमा व्यवस्थित नहुँदै साँघुरा महसुस हुन थालिसकेका छन् । ढल, खानेपानी र अन्य पूर्वाधारको अवस्थासमेत उस्तै छ ।

वर्षौंदेखि सडक विभागले सडक कालोपत्रे गर्ने र भोलिपल्ट खानेपानी विभागले पिच खनेर पाइप मर्मत गर्ने ‘संस्कार’ यथावत् छ । समन्वय र सहकार्यमा भन्दा आ-आफ्नै पाराले काम गर्ने प्रवृत्ति हाबी भएको यो महानगरलाई विकास र समृद्धिको पथमा अघि बढाउने काम कम्ती चुनौतीपूर्ण छैन । यस्तो चुनौती शाक्यको सुस्त र प्रभावहीन शैलीबाट सम्भव छैन । उनले आफ्नो काम गर्ने गति गम्भीरतासाथ बढाउन सक्नुपर्छ ।

एउटा महानगरका निम्ति सय दिन एकदमै लामो समय होइन । तर, केही गरेर देखाउने र राम्रो काम हुँदै छ भन्ने संकेत दिन भने यो समय पर्याप्त हो । शाक्यले सडकलगायत पूर्वाधार निर्माणमा आफूहरू लागिरहेको र यसको नतिजा कुर्न केही समय लाग्ने बताइरहँदा उनले ख्याल गर्नुपर्ने कुरो के छ भने नेतृत्वको सक्षमता अनुकूलतामा होइन, प्रतिकुलतामा जाँचिन्छ । सबै कुरा सहीसलामत भएको ठाउँमा त जोसुकैले सहजै काम गर्न सक्छ ।

धुलोहिलो, तारको जालो, अव्यवस्थित पार्किङ, असहज यातायातलगायत भौतिक पूर्वाधारलगायत सहरी समस्यालाई समाधानको विषयमा अहोरात्र खटिन छाडेर उही सनातनी भाषण, भ्रमण र उद्घाटनमा समय खर्चिने हो भने जसरी सय दिन बिते उसैगरी बाँकी सत्र सय दिन सकिनेछन् । यसर्थ, महानगर नेतृत्वसँग विद्यमान प्रतिकूलता चिर्दै काठमाडौंलाई सुन्दर र स्मार्ट सिटी बनाउनेतिर अर्जुनदृष्टि लगाउनुको विकल्प छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.