म्यानमारमा रोहिंग्या विद्रोहीले गरे युद्धविरामको घोषणा
काठमाडौं : म्यानमारका रोहिंग्या विद्रोहीले आइतबारदेखि नै लागू हुने गरी एक महिने युद्धविरामको घोषणा गरेका छन् । म्यानमारको पश्चिम क्षेत्रमा शुरु भएको मानवीय संकट घटाउने उद्धेश्यले यो युद्धविरामको घोषणा गरिएको बिबिसी हिन्दी सेवाले जनाएको छ । बिबिसी हिन्दी सेवामा प्रकाशित समाचारका अनुसार, रोहिंग्या विद्रोहीहरुले म्यानमारको सेनासँग पनि युद्ध विरामको लागि आह्वान गरेका छन् । उनीहरुले मानवीय सहायता संगठनहरुले गरिरहेको सहयोग फेरी शुरु गर्न समेत अनुरोध गरेका छन् ।
म्यानमारको सुरक्षा बललाई विद्रोही ‘आराकान रोहिंग्या साल्भेशन आर्मी’ (अरसा)ले आक्रमण गरेपछि म्यानमारको सेनाले दुई हप्तादेखि शुरु गरेको सशस्त्र अभियानको कारण करिब तीन लाख रोहिंग्या मुसलमानहरुले देश छोडेर बंगलादेशमा शरण लिएका छन् । भदौ ९ गते (अगस्ट २५) मा अरसाले ३० वटा प्रहरी चौकी र एउटा सैनिक क्याम्पमा आक्रमण गरेको थियो ।
म्यानमारको सरकारका एक मन्त्रीले बंगलादेश भागेका रोहिंग्या मुसलमानलाई देशमा फर्किन दिन नदिइने बताएको बिबिसी हिन्दी सेवाले जनाएको छ ।
संयुक्त राष्ट्र संघका अनुसार म्यानमारबाट भागिरहेका शरणार्थीहरुको सहयोगको लागि तत्काल सात करोड ७० लाख डलरको आवश्यकता छ । बगंलादेश पुगेका ती शरणार्थीहरु अहिले खाना, पानी र स्वास्थ्य सेवाको अभावमा छन् ।
म्यानमारका अल्पसंख्यक रोहिंग्या मुसलमानहरु म्यानमारको सेना र रखाइनमा भएका बौद्धहरुले उनीहरुको गाउँ जलाइदिएको र हत्या गरेको आरोप लगाएका छन् । म्यानमारको सरकारले भने यो आरोप अस्विकार गर्दै आएको छ । उसले म्यानमारको सेना रोहिंग्या चरमपन्थीहरुसँग लडिरहेको दावी गर्छ । म्यानमार सरकारले विद्रोहीले आह्वान गरेको एकतर्फी युद्धविरामप्रति कुनै पनि प्रतिक्रिया जनाएको छैन ।