पर्यटन पत्रकार संघमा नयाँ कार्यसमिति
काठमाडौ: पर्यटन पत्रकार संघ (जाट-नेपाल)को सातौं वार्षिक साधारणसभाले नारायण भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
सर्वसम्मत निर्वाचित संघको प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा शेखर अधिकारी, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा कुमार चौलागाई र कोषाध्यक्षमा राजीव जोशी रहेका छन्। त्यस्तै, सदस्यहरुमा शंकर प्रधानाङ्ग, किशोर खड्का, सविता उप्रेती, किशोर बस्नेत, अच्यूत रेग्मी, श्रीहरी श्रेष्ठ र मोहनप्रसाद मैनालीलाई चयन गरेको छ। १५ सदस्यीय कार्यसमितिमा दुई सदस्य अध्यक्षले मनोनित गर्नेछन्।
साधारणसभाको उद्घाटन सत्रमा पर्यटन पत्रकारिता मार्फत सगरमाथाको उचाइ समान योगदान पुर्याएको भन्दै नेपाल टेलिभिजनका बरिष्ठ सम्पादक राजु सिलवाललाई ८८४८ नगद पुरस्कारसहित ‘स्व.हरिराज जोशी पर्यटन पत्रकारिता पुरस्कार'बाट सम्मान गरिएको छ। त्यस्तै, संघलाई सात वर्षसम्मको यात्रामा निरन्तर सहयोग गरेको भन्दै नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ र खुम्बिला प्रतिष्ठानलाई कदर गरिएको थियो।
कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटनको विकासमा पत्रकारहरुले पुर्याएको योगदानको कदर गर्दै पर्यटनको प्रवद्र्धनमा एकसाथ अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए। उनले भूकम्प र नाकावन्दीपछिको यो समयमा पनि पर्यटक आगमन बढ्नुमा सञ्चारकर्मीहरुकै ठूलो योगदान रहेको बताए।
त्यस्तै ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले नकारात्मक सोचका साथ पर्यटन पत्रकारिता गर्नेहरुले अखडा जमाएको भन्दै सकारात्मक रिपोर्टिङ गर्नेहरुलाई जाट नेपालले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। त्यस्तै, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापाले नेपालमा पर्यटन प्रबद्र्धनका लागि जाट नेपाल र पत्रकार महासंघबीचको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटाले केही पत्रकारहरुले चुनावको बेलामा मात्र सञ्चारमाध्यमलाई सक्रिय पारेको र अरु बेला सुत्ने गरेको तीतो यथार्थ सुनाए। उनले जाट नेपालले विगतमा गरेको ऐतिहासिक कार्यक्रमहरुको प्रशंसा समेत गरे।
एनएमएका निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पाले जाट नेपाल नै पर्यटन क्षेत्रको विश्वासिलो संस्था रहेको भन्दै आगामी दिनमा यस संस्थाबाट धेरै अपेक्षा गर्न सकिने बताए।