स्पान्योलविरुद्ध मेसीको ह्याट्रिक
बार्सिलोना : स्पेनिस पावर हाउस बार्सिलोनाले ला लिगामा आफ्नो पुरानो लयलाई निरन्तरता दिने छनक देखाएको छ। लिगका तीन खेलमा लगातार शतप्रतिशत नतिजा निकालेको बार्सिलोनाले शनिबार राति खेलिएको खेलका स्पान्योललाई ५-० गोलको फराकिलोअन्तरले हरायो। एकपक्षीय खेलमा बार्सिलोनाका लागि लियोनल मेसीले ह्याट्रिक गरे।
पहिलो हाफमै २-० को अग्रता लिएको बार्सिलोनाका लागि मेसीले २९औं मिनेटमा खाता खोलेका थिए। मेसीले ३५औं मिनेटमा दोस्रो गोल गरेका थिए। दोस्रो हाफको पनि सशक्त प्रदर्शन गरेको बार्सिलोनाका लागि ६७औं मिनेटमा अर्को गोल थप्दै मेसीले ह्याट्रिक पूरा गरेका थिए।
खेलको अन्तिम समयसम्म रवाफिलो प्रदर्शन गरेको बार्सिलोनाका लागि चौथो गोल ८७औं मिनेटमा जेरार्ड पिकेले गरे। ९०औं मिनेटमा लुइस स्वारेजले अर्को गोल थप्दै बार्सिलोनालाई फराकिलोअन्तरको जित दिलाए।
जितसँगै बार्सिलोना नौ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट एक अंक बटुलेको स्पान्योल भने तालिकाको १५औं स्थानमा छ। अर्को खेलमा रियल सोसिएडाडले डेपोर्टिभो लाकोरुनालाई ४-२ गोलले हरायो। जितसँगै तीन खेलबाट नौ अंक बनाएको सोसिएडाड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। एक अंकमा सीमित ला कोरुना १४औं स्थानमा आसीन छ।
सेभिलले भने इबरलाई ३-० गोलले हरायो। जितसँगै तीन खेलबाट सात अंक बनाएको सेभिल तालिकाको तेस्रो स्थानमा छ। तीन अंकमा सीमित इबर भने तालिकाको १३औं स्थानमा छ। अर्को खेलमा रियल म्याड्रिड र लेभान्तेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे। खेलको ८९औं मिनेटमा रियलका मार्सेलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो।
तीन खेलबाट पाँच अंक बनाएको रियल तालिकाको छैटौं स्थानमा छ। पाँच अंक नै बटुलेको लेभान्ते गोलअन्तरका आधारमा सातौं स्थानमा छ। भ्यालेन्सिया र एट्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडे।