'नेपालको संविधान महत्वपूर्ण खम्बा'
नयाँ दिल्ली: भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले सामाजिक न्यायका लागि नेपालको संविधान महत्वपूर्ण खम्बा रहेको बताएका छन्।नयाँ दिल्लीमा आयोजित कार्यक्रममा राजदूत उपाध्यायले भने, 'संविधानले बिना कुनै भेदभाव नेपालीको मानव तथा मौलिक अधिकार सुरक्षित गरेको छ। पिछडिएका जनता तथा सबै समुदायका नेपाली समेटेको संविधानको एउटा महत्वपूर्ण उद्देश्य सामाजिक न्याय हो।'
उनले माओवादीको सशस्त्र द्वन्द्व शान्तिपूर्ण ढंगबाट राजनीतिक प्रक्रियामा रुपान्तरण गर्न सम्भव भएको दृष्टान्त नेपालले प्रस्तुत गरेको धारणा राखे। उनले भने, 'नेपालको संविधान राजनीतिज्ञका लागि अनुसन्धानको विषय बन्न सक्छ।'
भारतीय विदेश मामिला राज्य मन्त्री रिटायर्ड जनरल वी.के.सिंह प्रमुख अतिथि रहेको कार्यक्रममा राजदूत उपाध्यायले दुई वर्षअघि जारी संविधान कार्यान्वयन भइरहेको जिकिर गरे। २० वर्षपछि दुई चरणमा सम्पन्न स्थानीय तहको निर्वाचन तथा असहमत मधेसवादी दल समेत सहभागी भर्खरै सम्पन्न प्रदेश नम्बर २ को निर्वाचनले संविधान कार्यान्वयन अघि बढेको उनको दबी थियो।
भारतीय नेता, सांसद, वरिष्ठ सरकारी अधिकारी, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, पूर्व राजदूत, व्यवसायी, सञ्चारकर्मी, भारतमा बस्ने नेपाली समुदायका प्रतिनिधि कार्यक्रममा सहभागी थिए। संविधान कार्यान्वयनका क्रममा नेपालले प्रदेश र संसदको चुनावका लागि नोभेम्बर २७ र डिसेम्बर ७ को मिति तय गरेको छ।