'उत्तर कोरियामाथि अमेरिकाले आक्रमण गर्न सक्दैन'
मस्को : रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकाले उत्तर कोरियाका विरुद्ध सैनिक कारबाही गर्न नसक्ने बताएका छन् । उत्तर कोरियाली आकाश हुँदै अमेरिकी युद्धपोत विमान उडेको भनिएको एक दिनपछि रूसको यो प्रतिक्रिया आएको हो ।
रूसी विदेशमन्त्री लाभरोभले आइतबार एक रूसी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा यस्तो धारणा राखेका हुन् । उनले भने, ‘हुनत अमेरिकाले उत्तर कोरियामाथि हवाई तथा सैनिक कारबाहीको चर्चा पनि आएको छ तर अमेरिकाले त्यसो गर्न सक्दैन । उत्तर कोरियामा बम छ भन्ने कुरा अमेरिकालाई राम्ररी थाहा छ ।’ आफूले उत्तर कोरियाको बचाउ गर्न खोजेको व्याख्या नगर्न पनि स्पष्ट पारे । उत्तर कोरियामा बम भको कुरा संसारमा सबैलाई थाहा भएको उनले बताए ।
त्यसैले उत्तर कोरियालाई अमेरिकाले सीधै हवाई कारबाही गर्न नसक्ने उनले खुलासा गरे । उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा एक शक्तिशाली हाइड्रोजन बम मि िश्रत परीक्षण गरेको थियो । आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको थियो । उक्त परीक्षण अमेरिकाले सन् १९४५ मा जापानको हिरोसीमा सहरमा फालेको बमभन्दा १६ गुणा बढी शक्तिशाली भएकाले ऊसँगको शक्तिशाली बमका कारण अमेरिका वा अरू कुनै पनि देशले यसो गर्न नसक्ने उनको भनाइ थियो । उत्तर कोरियाले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो पछिल्लो बम तीन गुणा ठूलो छ ।
सन् २००६ देखि निरन्तर आणविक परीक्षण गरिरहेको उत्तर कोरियाको यो पछिल्लो छैटौँपटकको परीक्षण हो । रूसी विदेशमन्त्री लाभरोभले उत्तर कोरियासँग सैनिक वा हतियारको कारबाहीभन्दा पनि वार्ताका माध्यमबाट पहुँच पुर्याउन सके समाधान सहज र चाँडो निस्कने बताए । वार्ताको माध्यमलाई भने अमेरिकाले स्वीकार गरेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिएका थिए ।
उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकाले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले यस्तो धम्की दिएका थिए । उनले उत्तर कोरियाको आणविक बमको उत्तर शान्ति वार्ताले नभएर सैनिक कारबाहीले दिनुपर्ने दाबी गर्दै आएका छन् । यता अमेरिकाले दिएको धम्कीका विरुद्ध उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने जनाएको छ ।