रोहिङ्गा शरणार्थी शिविरमा हैजा फैलिन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
कोक्स बजार, (बङ्गलादेश) : विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरणार्थीका रुपमा शरण लिई बसेका म्यानमारका रोहिङ्गा सुमदायका नागरिक रहेको शरणार्थी शिविरमा हैजाको उच्च जोखिम रहेको बताएको छ। म्यानमारबाट भागेर बंगलादेशमा आइृ बसेका चार लाखभन्दा बढी शरणार्थी बसेको सो शिविरमा हैजाको उच्च जोखिम रहेको अनुमान सो संगठनले गरेको छ।
म्यानमार र बंगलादेशको सीमा क्षेत्र नजिकै चार लाख ३६ हजार शरणार्थीले शरण लिएर बसेका छन्। उनीहरुले उक्त क्षेत्रमा बडो कष्टपूर्ण जीवनयापन गरिरहेका बताइएको छ।
उनीहरुलाई विभिन्न ६८ वटा शिविर बनाएर राखिएको छ। तर आधारभूत आवश्यकताजस्तै खाने पानी, पौष्टिक आहार या सफा बस्ने स्थान, औषधोपचारको पनि उनीहरुलाई कमी छ।
यसै कारणले उक्त शिविरमा हैजाको उच्च जोखिम रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ। उनीहरु सो क्षेत्रमा बसेको एक महिनाभन्दा बढी भएको छ।
अहिले नै उनीहरुमा सफा खानेपानीको अभाव रहेको र सरसफाइका लागि पनि राम्रो ध्यान नदिइएकाले पानीजन्य रोगको प्रकोप देखिएको छ।
यसमाथि निगरानी राख्ने र आवश्यक उपचारको प्रबन्ध तथा अन्य व्यवस्था नगर्ने हो भने उनीहरुमा हैजाकै प्रकोप शुरु हुनसक्ने खतरा रहेको उक्त संगठनले जनाएको छ।
ती शिविरलाई लक्ष्य गरी घुम्ती स्वास्थ्य शिविर राखिएका छन् भने बंगलादेशले पनि यसको व्यवस्था गरेको छ। तर पनि उनीहरुमा यो समस्या भने बाँकी नै रहेको छ।