डिस होमलाई दिएपछि चलचित्र ‘रुद्रप्रिया’माथि हलमा चल्न अवराेध
काठमाडौं : डिस होमलाई प्रशारण अनुमति दिएपछि चलचित्र ‘रुद्रप्रिया’ सिनेमा हलमा चल्न नपाउने भएको छ । चलचित्र संघ नेपालले सिनेमा हलमा प्रशारण भएकै मितिमा डिजिटल र मिडिया र टिभीमामा प्रशारण गर्न दिने निर्णय रुद्रप्रियाको टिमले गरेको भन्दै चलचित्रलाई हलमा चल्न नदिने निर्णय गरेको हो ।
चलचित्रका निर्माता रमेश एमके पौडेलले डिजिटल मिडिया र डिसहोमलाई दिएकै नाममा हलमा चल्न प्रतिबन्ध लगाउनु चलचित्र संघको तानाशाही निर्णय भएको आरोप लगाए । ‘हलमा मात्र चलचित्र चलाउनुपर्ने संघको माग तानाशाही प्रवृत्तिबाट प्रेरित छ’, निर्माता पौडेलले भने, ‘प्रतिस्पर्धात्मक बजारमा खुला बजार नीति अनुसार हामीले चलचित्र चलाउन पाउनुपर्छ, संघको अवरोध हामीलाई स्वीकार्य छैन ।’
उता चलचित्र संघले भने उही मितिमा कुनै पनि डिजिटल मिडिया र टिभीमामा रिलिज गरेको खण्डमा कुनै पनि चलचित्रलाई हलमा चलाउन नसक्ने बताएको छ । रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिकामा निर्माण भएको चलचित्र रुद्रप्रिया कात्तिक २ गते बाट डिसहोम र सिनेमा हलहरुमा एकसाथ प्रदर्शन हुने तयारीमा छ ।
निर्मार्ता पौडेलले चलचित्र संघको बन्देजको नियमलाई अबिलम्ब सच्याउनुपर्नेमा जोड दिएका छन् । चलचित्र क्षेत्रलाई आर्थिक रुपले सबल बनाउन संघले उसको यो निर्णय सच्याउने विश्वास समेत चलचित्र ‘रुद्रप्रिया’को टिमले लिएको छ ।