पोखरामा गुञ्जिए नेपाल आइडल
पोखरा : सर्वाधिक चर्चित रियालिटी सो नेपाल आइडलका विजेता बुद्ध लामा शनिबार पोखरामा गुञ्जिए । नेपाल आइडलको ग्रान्ड फिनालेपछि राष्ट्रियस्तरमा पहिलोपटक पोखरामा भएको कन्सर्ट साँझ अबेरसम्म चलेको थियो । कन्सर्टमा नेपाल आइडलका विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र सन्ध्या जोशीको प्रस्तुतिले पोखरेली युवायुवती झुमेका थिए ।
मुन्टेज इन्टरनेसनलको आयोजनामा स्थानीय जक्सन डटकमको सहकार्यमा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको कन्सर्टमा नेपाल आइडलका विजेताले आधुनिक, पप र राष्ट्रिय गीत गाएर पोखरा तताएका थिए ।'
आफ्नो गृहनगर पोखरामा नेपाल आइडल बुद्ध लामाले पहिलो गीत ‘मविना कसै–कसैलाई मुस्किल छ पोखरामा’ गाएर प्रस्तुति सुरु गरेका थिए । वीर गोर्खालीलगायत गीत गाएर उनले पोखरेलीलाई नचाएका थिए । रनरअप निशान भट्टराईले परेलीमा लुकाइराख, छोरीभन्दा आमा तरुनी, उकाली ओरालीहरूमा, नेपथ्यको झम्क्याइदेऊलगायत गीत प्रस्तुत गरेका थिए ।
सेकेन्ड रनरअप प्रताप दासले हेर्दामा राम्रो माछापुच्छ्रे, गुराँसै फुल्योलगायत गीत गाएका थिए । कार्यक्रममा नेपाल आइडलकी टन नाइन सन्ध्या जोशीले रेलीमै रेलीमै रेलीमैलगायत गीत प्रस्तुत गरेकी थिइन् ।
नेपाल आइडलका टपटेन फाइनेलिस्टलाई कन्सर्टमा सहभागी गराउने उद्देश्य रहे पनि नेपाल आइडलका टपटेन फाइनेलिस्टको क्रेज नेपालमा मात्र होइन, विश्वभर भएकाले फाइनेलिस्ट गायक विभिन्न देश गएकाले सबैलाई सहभागी गराउन नसकिएको आयोजक मुन्टेज इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर रोशन पराजुलीले बताए ।
कन्सर्टमा नेपाल आइडलकै होस्ट सुशील नेपाल र निशा पन्थीले गरेका थिए । यससँगै असोज ३० गते उर्लाबारीमा नेपाल आइडल कन्सर्ट हुने मुन्टेज इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर पराजुलीले बताए । विश्वमै नेपाल आइडलको क्रेज भएकाले नेपाल आइडलका टप थ्री वल्र्ड टुरमा निस्कन लागेको पनि उनले सुनाए । नोभेम्बर पहिलो साता युकेका विभिन्न सहरमा नेपाल आइडलको कन्सर्ट आयोजना गरिने उनले जानकारी दिए ।