मनभित्रको मन विमोचित
काठमाडौं: लेखक एवं गीतकार कृष्णबहादुर थापा क्षेत्रीको गीतिसंग्रह ‘मनभित्रको मन' पाठकमाझ आएको छ। कृतिको राजधानीमा सोमबार आयोजित कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापा, गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटा, कृतिकार थापालगायतले संयुक्त रूपमा विमोचन गरेका हुन् । विमोचित कृतिमा राष्ट्रिय भावना, प्रेम, आत्मीयता, प्रकृति एवं दर्शनमा आधारित एक सय २० वटा गीत समेटिएका छन्।
कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार थापाले गीत साहित्य र संस्कृतिको संगम भएको बताए। ‘मनभित्रको मनमा समेटिएका गीत भावपूर्ण छन्', उनले भने, ‘तर गीतमा संगीत र स्वर नभरी पूर्ण हुँदैन । आशा गरौं यस कृतिमा समेटिएका गीतहरूले छिट्टै प्राण पाउनेछन् ।' कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष देवकोटाले गीतकार क्षेत्रीको गीत लेखनशैली प्रभावकारी भएको चर्चा गर्दै लेखन कार्यलाई निरन्तरता दिन आग्रह गरे।
बेलायत बस्दै आएका गीतकार क्षेत्री लन्डन अदालतमा इन्टरप्रेटरका रूपमा कार्यरत छन्। युनिभर्सिटी अफ सन्डरल्यान्ड लन्डनबाट एमएस्सी गरेका उनले यसअघि ‘खस क्षेत्रीको आन्दोलन किन', ‘भावनाका रङहरू भाग १', ‘भावनाका रङहरू भाग २' पुस्तक पाठकमाझ ल्याइसकेका छन् । त्यसैगरी ‘शब्दसागर', ‘म एक जात हराएको मान्छे', ‘मेरो अस्तित्व' नामक गीति एल्बमसमेत श्रोतामाझ ल्याइसकेका छन्।
कृतिमा समेटिएका सबै गीत बेलायत बसाइका क्रममा उनले रचना गरेका हुन्। ‘आफ्नो नयाँ कृति नेपालमा विमोचन गर्न पाउँदो जति खुसी लागेको छ सिर्जनात्मक लेखनमा त्यत्तिकै हौसला मिलेको छ', गीतकार क्षेत्रीले भने।