जिम्बाब्बेमा संवैधानिक समाधान खोज्ने प्रयास
हरारे : जिम्बाब्बेमा सेनाको ‘कू'पछि उत्पन्न राजनीतिक संकट समाधान गर्न दक्षिण अफ्रिकाले पठाएका मन्त्रीले सेनाको नजरबन्दमा रहेका त्यहाँका राष्ट्रपति रबर्ट मुगाबे र सैन्य नेताहरूसँग वार्ता गरी संकट समाधानको गरिरहेका छन्। उनीहरू मुगाबे र सैनिक नेतृत्व दुवै सहमत हुने सम्झौता गर्न प्रयासरत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सम्झौताले मुगाबे र जिम्बाब्बेको भविष्य तय गर्ने छ। अफ्रिकाको क्षेत्रीय समूह द साउदर्न अफ्रिकन डेभलपमेन्ट कम्युनिटी (एसएडीसी)ले बिहीबार आकस्मिक बैठक बस्दैछ।
मुगाबेसँग वर्षौं परिचित रोमन क्याथोलिक पादरी फादर फिडेलिस मुकोनोरीले सेना र उनीबीच सहमतिका लागि मध्यस्थता गरिरहेका छन्। दक्षिण अफ्रिकी रक्षामन्त्री नोसिभिवे मफिसा-न्काकुला र गृहमन्त्री बोङानी बोन्गोले एसएडीसीका तर्फबाट मुगाबेसँग वार्ता गरिरहेका छन्। दक्षिण अफ्रिकाले अहिले एसएडीसीको अध्यक्षता गरिरहेको छ। वार्तामा मुगाबे परिवारको सुरक्षा र मनगावाको भूमिकाबारे छलफल भइरहेको बताइएको छ।
सत्तारुढ दल जानु-पीएफका बेलायती प्रतिनिधि निक मङवानाले डिसेम्बरमा हुने पार्टी कंग्रेससम्म मुगाबे नाममात्रका राष्ट्रपति रहनसक्ने र मनगावालाई औपचारिक रुपमा पार्टी तथा राष्ट्रको प्रमुख बनाउन सकिने सम्भावना व्यक्त गरेको बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ। रोयटर्स समाचार एजेन्सीले भने स्रोतको हवाला दिँदै मुगाबेकी पत्नी ग्रेस अझै पनि समर्थक समूह ‘जेनेरेसन-४०'का वरिष्ठ नेताहरूसहित मुगाबेको आवास परिसरभित्रै रहेको उल्लेख गरेको छ। उनीसँग दुई मन्त्रीहरू जोनाथन मोयो र साभियर कसुकुवेरे पनि रहेको बताइएको छ।
‘कू'पछि सैनिक नेतत्व ग्रेस र उनका सहयोगीहरूले उत्पन्न गर्नसक्ने चुनौती समाप्त पार्न प्रयासरत रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सत्तारुढ दलको युवा भ्रातृ संगठनका उनका मुख्य सहयोगीमध्ये एक नेता कुद्जाई चिपांगाले बुधबार टेलिभिजनबाट ‘कू'अघि सेना प्रमुखको आलोचना गरेकोमा क्षमा मागेका थिए। उनी पनि सेनाको हिरासतमा रहेको अनुमान गरिए पनि उनले आफूले स्वेच्छापूर्वक क्षमायाचना गरेको भनेका थिए।
त्यहाँका स्थानीय सञ्चारमाध्यमले ग्रेससमर्थक ‘जेनेरेसन-४०' समूहका अधिकांश वरिष्ठ नेतालाई पक्राउ गरि हिरासतमा राखिएको जनाएका छन्।
सेनाको रक्तपातविहीन ‘कू'पछि आफ्नै निवासमा नजरबन्द राष्ट्रपति मुगाबेलाई गरिएको सम्मानजनक बहिर्गमनको प्रस्ताव नमानेको र पद त्याग्न नमानेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
उनले अझै पनि आफू नै त्यहाँको वैधानिक राष्ट्रपति भएको जिकिर गरिरहेको बताइएको छ। अफ्रिकी संघ (एयू) र एसएडीसीजस्ता क्षेत्रीय संगठनहरू संकटको समाधान ‘कू'को समर्थन गर्नेभन्दा पनि जिम्बाब्बेको संविधानअनुकूल निस्कियोस् भन्ने चाहन्छन्। मुगाबेले उनका उत्तराधिकारी मानिएका उपराष्ट्रपति इमर्सन मनगावालाई गतसाता पदबाट बर्खास्त गरेपछि सत्तारुढ दल जानु-पीएफ विभाजित भएको थियो। मुगाबेले पत्नी ग्रेस मुगाबेलाई आफ्नो उत्तराधिकारी बनाउन उपराष्ट्रपतिलाई बर्खास्त गरेको बताइन्छ। मनगावा पनि उपनिवेशविरोधी आन्दोलनका र सत्तारुढ दलका वरिष्ठ नेता हुन्।
उपराष्ट्रपतिलाई बर्खास्त गरेपछि मुगाबेसँग क्रुद्ध भएको सैनिक नेतृत्वले बुधबार ‘कू' गरेको थियो। सन् १९८० मा अल्पसंख्यक गोराहरूको शासन उन्मूलन गरेपछि मुगाबे ३७ वर्षयता निरन्तर सत्तामा छन्। गत साता चीन भ्रमणबाट स्वदेश फर्केपछि सेना प्रमुख जनरल कोन्स्टान्टिनो चिवेंगाले सोमबार सेना सत्तारुढ दल जानु-पीएफ सफा गर्न तयार रहेको बताएका थिए।
सेनाले ‘कू' गरेको अस्विकार गरेको छ। त्यहाँको सत्तारुढ दलले सामाजिक सञ्जाल ट्विटरमा मंगलबार सेनाले रक्तहीन कू गरेको र मुगाबेलाई नजरबन्दमा राखेको दाबी गरेको छ। उपराष्ट्रपति मनगावालाई बर्खास्त गरेपछि सेनाले राष्ट्रपति मुगाबेलाई चुनौती दिएको थियो। राष्ट्रपति मुगाबेले आफ्नो उत्तराधिकारीका रुपमा अघि सार्न खोजिएकी ग्रेसलाई उपराष्ट्रपति पक्षधरहरू आफ्नो ‘वास्तविक शत्रु' ठान्छन्। अहिले सेनाले गरेको कारबाही त्यहाँको सत्तारुढ दलको आन्तरिक सत्ता संघर्ष हो। यो संघर्षमा जसले जित्छ, पार्टी उसकै नियन्त्रणमा हुनेछ।