मानव अधिकारवादी चिनियाँ वकिललाई जेलसजाय
बेइजिङ : चीनको अदालतले मानव अधिकारवादी चिनियाँ वकिल जियाङ तियानयोङलाई दुई वर्षको जेल हालेको छ। चीनले मानव अधिकारवादीमाथि गरेको यो पछिल्लो कारबाही हो। जियाङलाई राज्य विप्लव र चिनियाँ शासन प्रणालीको अवमानना गरेको अभियोगमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको हो। बेलायती समाचार एजेन्सी रोयटर्ससँग उनकी पत्नी जिन बियानलिङले सजाय स्विकार्न नसकिने बताएकी छन्।
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संगठन एमनेस्टी इन्टरनेसनलले जियाङविरुद्धको मुद्दाको सुनुवाइ लज्जास्पद भएको भन्दै भर्त्सना गरेको छ।जियाङ चिनियाँ सरकारले विरोधीमाथि गर्ने कारबाहीको कडा आलोचक हुन्। त्यहाँ ३ सयभन्दा बढी वकिल, कानुन सहयोगी र विरोधीसँग सोधपुछ गरिएको र तीमध्ये दुई दर्जनविरुद्ध औपचारिक छानबिन नै गरिएको अनुमान सञ्चारमाध्यमले गरेका छन्।
जियाङले मानव अधिकारवादी कार्यकर्ताहरूको पक्षमा वकालत गर्दै आएका थिए। उनले मानव अधिकारवादीको पक्षमा मात्र नभएर धार्मिक सम्प्रदाय फालुङ गोङका अनुयायी र तिब्बती प्रदर्शनकारीका तर्फबाट समेत वकालत गर्दै आएका थिए।
अदालतले ४६ बर्से जियाङलाई सामाजिक सञ्जालको उपयोग गरी चीन सरकारमाथि विभिन्न आक्षेप लगाएको र सार्वजनिक रुपमा सरकारविरोधीहरूको भनाइ उल्लेख गरेको अभियोगमा पनि दोषी ठहर गरेको छ।उनकी पत्नी जिनले आफ्ना पतिलाई जेलसजाय दिएर राज्यले उनीजस्तै अरु मानव अधिकारका पक्षपाती वकिललाई ‘तर्साउने नत्र दबाउने’ रणनीति अख्तियार गरेको रोयटर्ससँग भनिन्। ‘म यो सजाय स्विकार गर्दिनँ’, उनले अमेरिकाबाट रोयटर्ससँग भनिन्।
जिनले सन् २०१६ नोभेम्बरमा जियाङ हराएपछि पतिसँग आफ्नो कुनै सम्पर्क हुन नसकेको पनि बताइन्। जियाङ उनका मानव अधिकारवादी मित्रको परिवारलाई भेट्न गएका बेला एक्कासी हराएका थिए। उनका ती मित्र त्यसबेला प्रहरी हिरासतमा थिए।
गत अगस्टमा जियाङमाथि मुद्दा चलाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका थिए। सरकारी सञ्चारमाध्यमले चीनको राजनीतिक शासन प्रणालीविरुद्ध काम गर्न विदेशमा आयोजित प्रशिक्षणमा आफू पनि सहभागी भएको बयान जियाङले अदालतमा पढेर सुनाएको उल्लेख गरेका थिए। मानव अधिकारवादी समूहहरूले जियाङको मुद्दालाई वकिलहरूको मानमर्दन गर्ने प्रयासका रुपमा व्याख्या गरेका छन्। चीनका आलोचकहरूले भने जियाङको जेलसजायलाई अब कानुनविरुद्ध चीनले युद्ध छेडेको आरोप लगाएका छन्।