राहुलको नेतृत्वमा कांग्रेस
नयाँदिल्ली : भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस पार्टीका नेता राहुल गान्धी पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
कांग्रेसको केन्द्रीय चुनाव प्राधिकारका अध्यक्ष मुल्लापल्ली रामचन्द्रनले सोमबार राहुल अध्यक्ष निर्वाचित भएको घोषणा गरेका थिए। उक्त पदका लागि राहुलले मात्र उम्मेदवारी दर्ता गरेका थिए। उनले कांग्रेसको नेतृत्व गान्धी परिवारकै अर्को पुस्ताले गर्न लागेको भन्दै खुसी प्रकट गरे।
उनको नाम ८६ जनाले प्रस्ताव गरेका थिए। गान्धी परिवारबाट पार्टीको नेतृत्वका लागि राहुललाई हस्तान्तरण हुनेगरी यस्तै निर्णय हुने अपेक्षा वर्षौंदेखि गरिएको थियो। यद्यपि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान फितलो भएको भन्दै कडा आलोचना भएको थियो। यसबीचमा राहुल नभएर उनकी दिदी प्रियंका गान्धीलाई पार्टी अध्यक्ष बनाउनुपर्ने माग गरिएका थिए। उनले १६ डिसेम्बरदेखि अध्यक्षको कार्यभार सम्हाल्नेछन्। आफ्नी आमा सोनिया गान्धीको उत्तराधिकारीको रूपमा उनले उक्त जिम्मेदारी पाएका हुन्। राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकोमा अहिले अध्यक्ष बनाइएको हो।
पाँचौं पुस्तादेखि कांग्रेसमा नेहरू—गान्धी परिवारको हालीमुहाली चल्दै आएको छ। कांग्रेसको अध्यक्ष हुनेमा राहुल त्यस परिवारका छैटौं व्यक्ति हुन्। मोतीलाल नेहरु सन् १९१९ मा १९२८ मा गरी दुईपटक पार्टी अध्यक्ष भएका थिए। उनका छोरा जवाहरलाल नेहरु सन् १९३६÷३७ र १९५०–०५४ अध्यक्ष भएका थिए। यसैगरी जवाहरलालकी पुत्री इन्दिरा गान्धी सन् १९५९ र १९७८–८४ मा कांग्रेसको अध्यक्ष पद सम्हालेकी थिइन्। इन्दिराको हत्यालगत्तै छोरा राजीव गान्धी १९८५–१९९१ अध्यक्ष भएका थिए। उनकी पत्नी सोनिया सन् १९९८ मा अध्यक्ष बनेकी थिइन्। सोनियाले १९ वर्षसम्म कांग्रेस पार्टीको नेतृत्व सम्हालिन्।
कांग्रेस पार्टीले भारतीय स्वतन्त्रतापछि आधा शताब्दीभन्दा लामो समय सत्ता चलाएको थियो। नेहरू–गान्धी परिवारका ४७ वर्षीय राहुलले कांग्रेसको गुमेको प्रतिष्ठा पुनः कायम गर्ने बताइएको छ। यद्यपि यसका लागि निकै कठिन अवस्था देखिन्छ। कुनै बेला देशभर प्रभाव जमाएको कांग्रेस हाल निकै कमजोर रहेको छ। हाल ६ वटा राज्य र केन्द्र शासित पुदुचेरीमा मात्र उसको सरकार छ। सन् २०१४ मा भएको विधानसभा निर्वाचनपछि कांग्रेस ओरालो लागेको अवस्थामा छ। त्यसयता पञ्जाबको विधानसभा बाहेक अन्यत्र कांग्रेसले पराजय भोगेको छ। आफू अध्यक्ष भएको प्रमाणपत्र भने राहुल गान्धीले १६ डिसेम्बरमा मात्र पाउनेछन्।
सोनियाले १३२ वर्ष पुरानो पार्टीको बागडोर पनि त्यसै दिन सुम्पनेछिन्। त्यस दिन राहुलले कांग्रेस मुख्यालयमा पार्टीका देशभरका नेतालाई भेट्ने कार्यक्रम मिलाइएको छ। हाल राहुल गुजरातमा कांग्रेसको प्रचार प्रसारमा खटिएर लागेका छन्। २२ वर्षदेखि भारतीय जनता पार्टीको एकछत्र प्रभाव रहेको गुजरातमा आफ्नो पार्टीलाई शक्तिशाली बनाउन उनी खटिएका छन्।
दिल्लीमा पार्टी मुख्यालयबाहिर अत्यधिक संख्यामा पार्टी कार्यकर्ता उपस्थित थिए। राहुल अध्यक्ष भएकोमा उनीहरूले खुसियाली मनाए। ‘धेरै वर्षदेखि म यो दिनको प्रतीक्षामा थिएँ। मेरो हर्षको सीमा छैन’, लामो समयदेखि कांग्रेस पार्टीको सदस्य रहेका प्रेम चौधरीले भने। उनीहरूले रंग छरी बत्ती बाली खुसी प्रकट गरेका थिए। उत्साहित कार्यकर्ताले राहुल गान्धी जिन्दाबादका नारा लगाएका थिए। उनीहरूले बाजागाजा सहित राहुलको स्वागत गरेका थिए।
अन्य राज्यमा पनि कांग्रेस कार्यालयमा पूरै उल्लासमय वातावरण देखिन्थ्यो। राज्य सभामा विपक्षी नेता गुलाम नबी आजादले भने, ‘सिंगो देशले राहुल गान्धीबाट थुप्रै अपेक्षा गरेको छ। उहाँ आफ्नो कर्तव्य बारे राम्रो जानकार हुनुहुन्छ।’