यसरी बनाउँ नयाँ कम्युनिस्ट पार्टी
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने विषय यतिखेर चर्चाको विषय बनेको छ। पार्टी एकताको सैद्धान्तिक वैचारिक, कार्यनीतिक एवं संगठनात्मक विषयको अन्तरवस्तु समावेश भएको घोषणापत्रका आधारमा एक डेढ महिनाभित्रै पार्टी एकीकरण घोषणा हुने सम्भावना देखिएको छ।
पार्टी एकता भनेको ठूलो पार्टी बनाउने र सरकार बनाउनका लागि र निर्वाचनमा बहुमत हासिल गर्ने उद्देश्यसँग मात्रै हो कि, ६० वर्षदेखि विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै नेपालमा आर्थिक तथा सामाजिक क्रान्तिको उद्घोष गर्ने ? नेपाली क्रान्तिलाई पूर्णता प्रदान गर्दै समाजवाद स्थापना गर्ने लक्ष्य प्राप्तिका लागि नयाँ ढंगको नेपाल कम्युनिस्ट पार्टी निर्माणको दिशामा अघि बढ्नुपर्ने चुनौती छ। यद्यपि यी सबै विषयलाई सैद्धान्तीकरण गरेर नयाँ पार्टीको सैद्धान्तिक वैचारिक, संगठनात्मक पक्षसहितको दस्तावेजीकरण गर्न त कार्यकर्तास्तरमा छलफल गरेर त्यसलाई संश्लेषित गरेपछि मात्र नयाँ ढंगको एकीकृत कम्युनिस्ट पार्टी निर्माणको आधार तयार हुन्छ।
अब पार्टी एकताबाट निर्माण हुने कम्युनिस्ट पार्टी विचार, संगठन, कार्यशैली र नेतृत्व निर्माणको हिसाबले विल्कुल नयाँ ढंगको कम्युनिस्ट पार्टी हुनेछ भन्ने आधार र विश्वास जनस्तरमा सम्प्रेषण गर्नुपर्छ। अब कम्युनिस्ट पार्टीले परम्परागत र जडसूत्रवादी चिन्तनबाट होइन, अग्रगामी सोच र दृष्टिकोणबाट नेपाली समाजमा वर्तमान आर्थिक विकास र समृद्धिको बाधकका साथै राष्ट्रियता र सार्वभौमिकतालाई कमजोर बनाउन दलाल, पुँजीवाद, साम्राज्यवाद, विस्तारवाद र प्रभुत्ववाद उद्यत् रहेको किटानी गरेर नेपाली क्रान्ति सम्पन्न गर्ने नयाँ बाटो पहिल्याउनुपर्छ। नवउदारवादले जनताका आधारभूत आवश्यकता र मौलिक अधिकारका रूपमा रहेको शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी जस्ता क्षेत्रलाई निजीकरण र व्यापारीकरण गरेर सर्वसाधारण जनताको जीवनलाई कष्टप्रद बनाएको छ।
कम्युनिस्ट पार्टीभित्र विचार, संगठन नेतृत्व निर्माण र कार्यशैलीलाई नयाँ ढंगले पुनर्गठन गरेर अघि बढ्दा मात्र नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण हुनेछ।
अब संविधानले जनताका आधारभूत सेवा र सुविधालाई मौलिक हक र अधिकारका रूपमा प्रत्याभूत गरेको हुँदा अब यी सबै सेवा र सुविधा राज्यबाट सरल ढंगले उपलब्ध गराउने र जनताका यी सेवा र सुविधालाई निजीकरण र व्यापारीकरण नहुने प्रत्याभूत गर्नुपर्नेछ। दलाल पुँजीवादले स्वदेशी उद्योगमार्फत उत्पादन र रोजगार विस्तार नगरी बहुराष्ट्रिय निगमबाट उत्पादित वस्तु आयात गरेर नेपाली बजारमा फैलाई स्वदेशमा उत्पादित वस्तुलाई विस्थापित गरी विदेशी उद्योग, पुँजीपतिको हित र संरक्षण गरिरहेको छ। अब दलाल पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गर्ने नीति अवलम्बन गर्नुपर्छ। रोजगार वृद्धि, श्रमिकलाई जीवन धान्न पुग्ने पारि श्रमिक, भ्रष्टाचार र कमिसनतन्त्र नियन्त्रण, कर छली गर्नेलाई कारबाही र करको दायरा विस्तार गरेर राष्ट्रिय पुँजी निर्माण गर्नुपर्छ।
राष्ट्रिय पुँजीका माध्यमबाट पूर्वाधार विकासका क्षेत्र जस्तै जलविद्युत् र यातायात क्षेत्रमा व्यापक लगानी वृद्धि गरी मुलुकमा कृषि, भौतिक निर्माण, पर्यटनमा आधारित उद्योगको स्थापनासँगै एक गाउँपालिका एक उद्योग, एक प्रदेश एक मेघा उद्योगको स्थापना गरी औद्योगीककरणको थालनीबाट मात्र अर्थतन्त्र स्वाधीन र आत्मनिर्भर बनाउन सकिन्छ।
राज्यले अवलम्बन गर्ने तीनखम्बे अर्थनीतिअन्तर्गत जनताका आधारभूत र रणनीतिक महत्वका क्षेत्र ऊर्जा, आवश्यकता र अधिकारका सेवासुविधा शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, यातायात, दूरसञ्चार र खनिज तथा खानी, पेट्रोलियम उद्योग र प्रतिष्ठानको सेवालाई व्यापारीकरण नहुने गरी राज्यको लगानीमा सार्वजनिक उद्यमको माध्यमबाट सेवा र सुविधाको प्रत्याभूत हुनेछ। सहकारी संस्था स्थापना गरी आम नागरिकलाई सहकारीमा आबद्ध गराउँदै जाँदा समाजवादको आधार निर्माण गर्न सघाउ पुग्छ।
पार्टी सञ्चालन विल्कुल नयाँ ढंगबाट आरम्भ गर्नुपर्छ। सबै तहको कमिटीमा कमिटी प्रमुख हुने योग्यता पुगेको व्यक्तिले अधिवेशनबाट प्रमुखमा निर्वाचित हुन चाहेमा निजले पार्टी सुदृढीकरण र विस्तारको योजनासँगै विकास निर्माण र समृद्धिको कार्ययोजना प्रस्तुत गर्नेछ। उत्कृष्ट योजना प्रस्तुत गर्ने व्यक्तिलाई कमिटी प्रमुखमा निर्वाचित गरी सिंगो कमिटीले निर्वाचित प्रमुखले अघि सारेको कार्ययोजनालाई कमिटीको कार्ययोजनाका रूपमा रूपान्तरण गरेर काम गर्नेछ। पार्टी कामको प्रभावकारी अनुगमन र मूल्यांकन भने निरन्तर हुन जरुरी छ।
पार्टीलाई मार्क्सवादीकरण र क्रान्तिकारीकरण गर्न प्रथमतः नेता तथा कार्यकर्ताको वैचारिक स्तरलाई समुन्नत बनाउन वैचारिक अभियानलाई निरन्तर रूपमा सञ्चालन गरिनेछ। पार्टीमातहत माक्र्सवादी विद्यालय नै खडा गरी प्रारम्भिक, माध्यमिक र उच्च तहको कक्षा सञ्चालन हुनेछ र हरेक नेता तथा कार्यकर्ताले स्तरअनुसार क्रमशः प्रारम्भिक, माध्यमिक तथा उच्चस्तरको कक्षामा हरेक दुई वर्षमा एकपटक अनिवार्य अध्ययन गर्नुपर्ने र परीक्षामा उत्तीर्ण हुने सदस्यले मात्र पार्टीको संगठित सदस्यता प्राप्त गर्न व्यवस्था हुनुपर्छ। त्यस्तो व्यक्ति मात्र कमिटीको नेतृत्वमा उम्मेदवार हुन योग्य हुनेछ। यस्तै हरेक तहको कमिटीभित्र पनि वर्षको दुईपटक स्वअध्ययन, सामूहिक अध्ययन र वर्कसप विधिबाट वैचारिक कक्षा सञ्चालन गरेर वैचारिक स्तर अभिवृद्धि गर्ने योजना लागू गर्नुपर्छ। पार्टी प्रवेश गर्न चाहनेलाई साधारण सदस्यता प्रदान गर्ने र संगठित सदस्यता प्राप्त गर्न प्रारम्भिक वैचारिक कक्षामा अनिवार्य उत्तीर्ण भएको हुनुपर्ने विषयलाई कडाइका साथ लागू गर्नुपर्छ।
अबको नयाँ ढंगको पार्टीभित्र लेनिनवादी शैलीअन्तर्गत जनवाद र केन्द्रीयता अनुशासन र स्वतन्त्रताको व्यावहारिक प्रयोगको प्रत्याभूत हुनुपर्छ। कमिटीलाई पार्टीको नीति र निर्णयका आधारमा आफ्नो स्तरको निर्णय गर्न पूर्ण स्वतन्त्र हुनुपर्छ। कमिटीहरू माथिबाट गरिएको निर्णय अनुमोदन गर्ने निकाय नभई कार्यकारी हुनुपर्छ। यसो भयो भने पार्टी सदस्य सार्वभौम भएको प्रत्याभूतसँगै हरेक तहको नेतृत्व तल्लो कमिटीप्रति जवाफदेही बन्ने, नेतृत्व र कार्यकर्ताबीच दोहोरो संवाद हुने परिपाटीको थालनी गरी कम्युनिस्ट आन्दोलनभित्र हुर्किरहेको नोकरशाहीपन र कर्मचारीतन्त्रको अन्त्य हुनेछ।
समावेशी, वर्गीय र विपन्नताका आधारमा माक्र्सवादी दृष्टिकोणका आधारमा पुनर्परिभाषित गरी तदनुरूप पार्टी निर्माण र नेतृत्व छनोट गर्नुपर्छ। राजकीय निकायमा पनि वर्गीयता र विपन्नताका आधारमा समावेशीकरणको नीति अवलम्बन गरी संवैधानिक एवं कानुनी सुधार हुनुपर्छ। जनताबाट निर्वाचित र अनुमोदित व्यक्तिले मात्र समावेशी क्षेत्रबाट प्रतिनिधित्व हुने गरी निर्वाचन प्रणालीमा सुधार आवश्यक छ। पार्टीभित्र राजकीय निकायमा गएका र पार्टी काममा मात्र संलग्न हुनेबीच बढ्दै गएको वर्ग अन्तर हटाइनेछ। पटकपटक राजकीय अवसर पाउनेलाई पार्टी काममा केन्द्रित गरी अवसर नपाएकालाई राजकीय जिम्मेवारीमा पठाउने न्यायपूर्ण र वैज्ञानिक नीति अवलम्बन गर्नुपर्छ।
अन्त्यमा, कम्युनिस्ट पार्टीभित्र विचार, संगठन नेतृत्व निर्माण र कार्यशैलीलाई नयाँ ढंगले पुनर्गठन गरेर अघि बढ्दा मात्र नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण हुनेछ। यस्तो पार्टीले मात्र जनतामा क्रान्तिप्रतिको उत्साह सिर्जना गरी सहज ढंगले क्रान्ति पूरा भएको उद्घोष गर्न सक्नेछ।
प्रतिक्रिया दिनुहोस !