चाइनिज भिनाजु
रंगुन डाउनटाउनको केन्द्रमा छ सुले पगोडा। स्वेडागोनपछिको चर्चित पगोडा मानिन्छ यसलाई। रंगुनका तीनवटा प्रसिद्ध पगोडामध्ये तेस्रोको नाम हो, भोताठाउँ। माला दिदीले आफ्नो घर सुले पगोडाको नजिकै छ भनेपछि म पगोडा नजिकको बस स्टेसनमा ओर्लिएँ। पगोडाको उत्तरपूर्वतिर रत्नपार्कजस्तै तर निकै सफा र सुन्दर महा बन्डोला पार्क छ। यही पार्कमा केही हप्ताअघि चार्ली च्याप्लिनको दी डिक्टेटर भन्ने फिल्म देखाइएको थियो।
फोनको घन्टी बज्यो। ‘घाम छ, त्यसैले पार्कको छेउमा छतमा ओत लागेर बस्नुस्, म आउँदैछु।’ पार्कमा कफी स्टल र पसल छन्। नेसक्याफेले आफ्नो नयाँ उत्पादन चखाउँदैछ सित्तैमा। विशेष भेषभूषामा सजाइएका युवतीहरू ‘कफी ट्रेड कफी राखेर बनिबनाउ शैलीमा बोल्छन् ‘सर, यु क्यान ट्राइ आवर न्यु प्रोडक्ट। इट्स् फ्री सर।’
‘चर्च अगाडि छु भाइ। खै त तपाईं ? ’ चर्च भनेको मैले त छत पो बुझेछु। दिदीले चर्च अगाडि बोलाउँदा लाग्यो उनी क्रिस्चियन रहिछन्। ब्रिटिसहरूले धेरै म्यान्मालीलाई क्रिस्चियन बनाए। दोस्रो विश्वयुद्धको गोलमोटोलमा कति गोर्खाली सैनिक र तिनका परिवार पनि ब्रिटिस प्रभावमा आए। यसको छुट्टै कथा छ।
सिन्दूर, टीका, माला लगाएकी माला दिदीले लाउने बर्मेली लुंगी र यहाँका किराती महिलाले लगाउने लुंगीमा खासै फरक देखिँदैन। पहिरन देखेर थाहा लाग्यो, उनी क्रिस्चियन हैनन्। ‘मलाई त आफ्नै संस्कृति मन पर्छ। यहाँको कत्ति किरातीहरू बुद्ध धर्म मान्न थालेका छन्। उनीहरू सिन्दूर, टीका, माला केही लाउँदैनन्। मलाई पनि किन लगाएको भन्छ। तर, जे जे धर्म माने पनि हामी त गोर्खाली नै हो नि।’ उनले एक सासमा भनिन्। उनले फरक पहिचानका लागि थर लिम्बुनी लेख्दिरहिछन्।
‘बरु भाइ पो के थरी हो ? ’ सायद उनलाई मेरो धार्मिक, सांस्कृतिक विश्वास बुझ्नु थियो। यहाँ जातीय विभेदको अलिअलि गन्ध मैले पाएको थिएँ। भनेँ, ‘म घिमिरे हुँ तर जातभातमा मलाई विश्वास छैन।’ उनले मनको कुरा खोल्ने मौका पाइन्। ‘हो है भाइ। यहाँ त अझै त्यस्तै व्यवहार गर्नेहरू पनि छन्।’ अचानक रोकिएर भनिन्, ‘अगाडि रेस्टुरेन्टमा राम्रो खानेकुरा पाइन्छ। केही खाऊँ अनि तपार्इंलाई यो जग्गाका नेपालीहरू भेटाउँछु।’ कुरा गर्दागर्दै रेस्टुरेन्ट पुग्यौं। मैले अवोकाडो जुस मगाएँ। दिदीले दही मगाइन्। ‘मलाई दही धेरै मन पर्छ। यहाँको किरातीले जाँडरक्सी खासै खाँदैन।’ हातमा टेबल नम्बर बोकेर हामी रेस्टुरेन्टको माथिल्लो तलामा चढ्यौं।
मलाई अरू नेपाली भेट्नुभन्दा पनि उनलाई नै बुझ्नु थियो। ‘दिदी म त घुम्न हैन, तपाईंसँग कुराकानी गर्न आएको। त्यसपछि समय भएछ भने अरूतिर पनि जाऊला नि।’ माला दिदीले लिम्बू लवजमा कथा सुरु गरिन्।
नेपाली मूलकी आमा, चिनियाँ बाबुकी छोरी विद्याको विचारमा बर्मा प्राकृतिक रूपमा सुन्दर छ, बस्नका लागि।
अखिल म्यान्मा देशीय किरात गोर्खा साहित्य एवं सांस्कृतिक संघकी केन्द्रीय उपाध्यक्ष तथा अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघ, रंगुन शाखा महिला विभागकी सचिव पदमा रहिछन् उनी। यही संस्थाबाट आफ्नो जाति र समुदायको सेवामा व्यस्त छिन् उनी। सन् १९३५ देखि सुरु भएको रहेछ किराती जातिको नामको संस्था। त्यतिखेर यसको नाम अखिल म्यान्मा देशीय किराती संघ रहेछ। राजनीतिक कारणले सन् १९६२ पछि बन्द भएको यो संस्थाले फेरि सन् १९९० देखि निरन्तरता पाएछ। उनको अनुमानमा सात हजार किरातीहरू म्यान्मारमा छन्।
हरेक वर्ष यस संस्थाले तीन दिनको महासभा गर्छ, चुम्लुङ पर्व मनाउँछ। यस्ता कार्यक्रममा सहभागीहरूले आफ्नो जातीय गीत र नृत्य प्र्रस्तुत गर्छन्। भेषभूषा र सांस्कृतिक परिकारहरूको प्रदर्शनी हुन्छ। आफ्नो जाति, लिपि र संस्कृति जोगाउन यो काम गर्नु परेको उनको धारणा छ। उनी भन्छिन्, ‘हामी त पल्टनमा हुर्किएको नि त। हामीलाई किरात भाषा मात्रै हैन नेपाली पनि बोल्न आउँदैन थियो।’ अल्पसंख्यक आफ्नो समुदायको चुनौतीहरू पनि यही मेसोमा जोडिन्। भनिन्, ‘हाम्रो जातिको संख्या पनि घट्दैछ। बिहे नगर्ने, बूढोकन्ने बस्ने चलन पनि छ हाम्रोमा त।’ पहिला म उनको पुर्खादेखिको कथा सुन्न चाहन्छु।
‘ए, मेरो बाजेबजू ? मेरो आमाको बाउ छतरे लिम्बू र उनको भाइ चण्डालसिंह भारत हुँदै हिँड्दै आएको अरे मनिपुरको बाटो।’ उनको बाजे र कान्छा बाजे ब्रिटिस आर्मीमा भर्ना भएछन्। कान्छा बाजेले चाहिँ नेपाल गएर बिहे गरेर आएछन्। उनका बाजेले चाँडै जागिर छोडेर खेती गर्न थालेछन्। ‘आमाको आमा मेरी बजुचाहिँ उनको ठूलो परिवारसँगै यता आएको अरे। बजु त्यस्तै १४÷१५ वर्षको थियो अरे। यहीँ बिहे भएको अरे उहाँहरूको। त्यहीँ बित्नुभयो। बजूलाई देख्न पाइनँ तर बाजेचाहिँ म १२÷१३ वर्षको हुँदा बित्नुभयो। उहाँहरू पनि ताप्लेजुङ, लिम्बुवान तिरको अरे।’ उनको कथा वाचनको रफ्तार छिटो थियो। मानौं उनले धेरैलाई यो कथा सुनाएर सिलसिलेवार बनाएकी छन्। ‘मेरो आमा बुधबार जन्मेको अरे, त्यसैले उनको नाम बुधमती राखेको अरे। बुधमती लिम्बुनी। बाउचाहिँ आइतबार जन्मिएको अरे त्यसैले उनको नाम आइतबहादुर लिम्बू।’
आमातिरको विवरणपछि बुबातिरको सुरु गरिन्। ‘मेरो बाउको बाउचाहिँ खेतीकिसानी गर्ने रहेछन् कचिन स्टेटमा। बाजेको नाम दलबहादुर हो। बाजेले बजैलाई नेपाल लगेर घुमाएर पनि ल्याए। बजैले गोर्खाली बात मज्जाले गथ्र्यो। ९० वर्षसम्म बाँच्यो। खाना खाने बेलामा चाहिँ उनीहरूको धर्मअनुसार क्रिस्चियनहरूले जस्तै ढोग्थ्यो। बजुको माइतीतिर क्रिस्चियन रहेछ नि त।’ ब्रिटिस शासनको बेला बर्माका धेरै आदिवासी क्रिस्चियन धर्ममा लागेको इतिहास छ।
बुबा बर्मा आर्मीमा भएकाले माला दिदीसँगै उनका भाइबहिनी पनि सान स्टेटको क्याम्पभित्रै हुर्किए। उनी १२ वर्षको हुँदा बुबा आइतबहादुर रिटायर्ड भएर प्यिँउल्वीँ सहरबाट नजिकै कचिनधारा भन्ने ठाउँमा खेतीपाती गरेर बस्न थाले। ‘पल्टनमा बस्ता त हामीलाई नेपाली फिटिक्कै आउँदैन थियो। नमस्कार भन्न पनि लाज लाग्थ्यो। पल्टनमा बाउहरू एकअर्को गोर्खालीलाई भेट्दा जय गोरख भन्थ्यो। हामीले पनि त्यही सिक्यो।’ अहिले माला दिदीले बोलेको सुन्दा धरान भेडेटारका बजुहरूको जस्तो मीठो लवज आउँछ। केही हप्ताअघि धरानबाट आएकी बीबीसी नेपाली सेवाकी पत्रकार सीता राई मादेम्बालाई सम्झँदै उनी भन्छिन्, ‘अस्ति हाम्रै मादेम्बा जातको बहिनी आएको थियो यहाँ। उसलाई घुमाएँ नि रंगुन। कस्तो खुसी लाग्यो तर एकदुई शब्दबाहेक लिम्बू भाषा बोल्न आउँदैन मलाई त।’
२३ वर्षको भएपछि उनले बहिनीसहित घर छोडिन्। ‘खेतीपाती बस्तुभाउ र गाउँको काममा मन जान छाड्यो। त्यही भएर म र बहिनी तम्मु गयौं, लुगाको व्यापार गर्न। त्यहाँ माइली फुपू र भिनाजुको घर थियो। उनीहरूले पनि कपडाको व्यापार गर्ने हुनाले हामीलाई सजिलो भयो।’ व्यापारकै क्रममा दिदी बहिनीले हिन्दी र मणिपुरी भाषा पनि बोल्न थाले। चाइनिजहरू रंगुन हुँदै तम्मुमा लुगाको व्यापार गर्न पुग्थे। माला दिदीकी बहिनी निलाको त्यहीँ आउनेजाने चाइनिज व्यापारीसँग प्रेम बस्यो। दिदी भन्छिन्, ‘चिनाहरूलाई हिन्दी, मनिपुरी बोल्न आउँदैन थियो। हामीले उनीहरूलाई सहयोग गथ्र्यौं। यस्तैमा बहिनीले चिना केटासँग बिहे ग¥यो। पछि ज्वाइँकै भाइसँग मेरो पनि प्रेम बस्यो।’ संयोग पनि कस्तो आफ्नै ज्वाइँलाई जेठाजु भन्नुपर्ने भयो। १६ वर्ष व्यापारमा बसेर दिदी बहिनीका जोडी रंगुन आए। ‘बिहे भएपछि त झन् आफ्नो समुदायसँग सम्पर्क नै छुटिगो नि भाइ।’ उनको स्वरमा केही पीडा जस्तो, गुनासो जस्तो सुन्छु। उनले बाध्यता सुनाइन्, ‘आफ्नै जातको केटा पाउनै गाह्रो थियो। क्षेत्री बाहुनले खुब मन पराउँथ्यो नि। तर, हाम्रो आफन्तहरूले भन्थ्यो, क्षेत्री बाहुनसँग बिहे गर्नु हुन्न है अहिले फकाएर बिहे गर्छ। पछि भात पकाउन मान्छे चाहियो भनेर जात मिल्ने पनि बिहे गर्छ।’
‘उमेरमा त निकै राम्री हुनुहुँदो रहेछ दिदी।’ मेरो ठट्टालाई अनुमोदन गर्दै भनिन्, ‘मनिपुरी केटाहरूले पनि मन पराउँथ्यो। तर उनीहरू त किस्न (कृष्ण) भगवान्लाई खुब मान्दो रहेछ। किस्नको पूजा गर्ने। अनि किस्नले जस्तै जतिवटी बिहे गरे पनि हुने भन्ठान्दो रहेछ। चोर्न पनि सरम नमान्ने उनीहरू त।’ रित्तिसकेको एभोकाडोको ग्लासमा अन्तिमपटक पाइप तानी हेरेँ। हावासहित रहलपहल घ्यारघ्यार आवाज आयो। माला दिदीले उठ्ने संकेत पाइन् कि के हो। भनिन्, ‘लौ जाऊँ अब मेरो घर।’ उनको लस्सीको ग्लास अघि नै रित्तिसकेको थियो।
हामी हिँडेको महाबन्डोला रोड थियो। केही मिनेटको हिँडाइमा उनको घर फोर्टी स्ट्रिटको घर नं. १८१ पुगियो। पहिलो तल्लाको सिँढी उक्लिँदै गर्दा उनले भनिन्, ‘मेरो श्रीमान् सरकारी कागजपत्र लेख्दा चाहिने कागजको होलसेल व्यापार गर्छन्। ज्वाइँचाहिँ घरजग्गा किनबेचको सहयोगीको काम। म पासपोर्ट बनाइदिने, भिसाको प्रोसेस मिलाइदिने काम गर्छु।’ श्रीमान् र ज्वाइँ दुवै काममा गएका छन्। २३ वर्षे छोरा आउँको साङ कोठामा कम्युटर गेम खेलेर बसेका छन्। चाइनिज अनुहार तर ठूलो आँतका छोरालाई भेट्दा यो अन्तर्सांस्कृतिक संयोजन पूरै कौतूहलयुक्त लाग्छ।
माला र उनका बर्मेली श्रीमान्।
परिवारको भित्री संरचना बुझ्न मन लाग्छ। कयौं प्रश्न छन् मनमा। तर, ती प्रश्नहरूले उनीहरूलाई दुःख पनि नदेओस्। सावधान छु। हँसिलो अनुहारका तर लजालु स्वभावका उनको छोरा अप्ठ्यारो मान्दै बैठककोठामा आए। म बर्मा भाषा बुझ्दिनँ। लाजले उनी अंग्रेजी पनि फर्काउँदैनन्। माला दिदीले दोभासेको काम गरिन्। उनलाई फोटोग्राफी मन पर्छ रे। साइकोलोजीमा स्नातक गर्दै गरेका उनी भन्छन्, ‘परिवार त पढिसकेर दिदीसँगै कमाउन जा भन्छ। आर्थिक स्थितिको कारणले मेरो इच्छा पूरा हुन सक्दैन।’ रेडियोलोजिस्ट उनकी दिदी मेतुजा हाल सिंगापुरको एक प्राइभेट अस्पतालमा जागिरे छिन्। ‘मलाई चाइनिज, गोर्खाली वा बर्मिज तीनवटै संस्कृतिमा खासै रुचि छैन। सबै समुदायका साथी छन् तर कुरा मिल्नेलाई मात्रै हाम्रो समूहमा मिसाउँछौं।’ माला दिदीले छोराको टाउकोमा मायाले सुम्सुम्याइन्। ‘यो पुल्पुलिएको छ। अझै पनि मैले पस्किएर दिएपछि मात्रै खाना खान्छ यो। गुन्द्रुकको झोल खुब मन पराउँछ।’
कुराकानी गर्दागर्दै माला दिदीका ज्वाइँ अर्थात जेठाजु च ल्युन आइपुगे। उनले म नेपालबाट आएको भनेपछि नमस्ते भने। च ल्युनका छोराछोरी सिंगापुरमा पढ्दै हुनाले उनकी श्रीमती निला केही समयका लागि उतै गएकी छन्। अब रंगुनबाट उनीहरू उतै बसाइँ सर्ने योजनामा छन्। ‘गोर्खाली केटीसँग कसरी प्रेम बस्यो त ? ’ मैले च ल्युनलाई सोधेँ। ‘उनी धेरै राम्री थिइन्। उनलाई देख्नेबित्तिकै मनमा अनौठो भयो।’ भाषा र संस्कृतिले प्रेमलाई बाधा नगर्ने उनको ठहर छ। हामी खुसी छौं। उनीहरूको संस्कृति मलाई मन पर्छ। च ल्युनले भने।
मलाई अब माला दिदीका श्रीमान् र छोरीलाई भेट्नु थियो। छोरी सिंगापुरमा छिन्। श्रीमान् कामबाट अझै फर्किने छाँटकाँट छैन। माला दिदीले बाटोमा आउँदै गर्दा अंग्रेजी ट्युसन सेन्टर खोलेर बसेकी अलिक विद्रोही स्वभावकी संगीता लिम्बूलाई भेटाएकी थिइन्। अब उनी रंगुनका प्रसिद्ध मेडिकल डाक्टर धनबहादुर लिम्बूलाई भेटाउन चाहन्छिन्। मैले हुन्छ भनेँ। टाढा भएकाले डाक्टरको घर ट्याक्सीमा जानुपर्ने भयो। ट्याक्सी चढ्दा उनले काखीमा एउटा पोको च्यापेकी थिइन्।
‘भाइ प्यिउल्वीँमा बस्छ। उसैको लागि पठाउन बोकेको।’
‘के हो यस्तो रंगुनमा पाइने, प्यिउल्वीँमा नपाउने कोसेली दिदी ? ’ उत्सुकताले सोधेँ।
‘यो मेरो बाउको कोट हो। धेरै वर्ष सम्झनाको लागि सम्हालेर राखेँ। यसो सोचेँ, यो गर्मीमा किन राख्नु कोट। प्यिँउल्वीँमा नेपालमा जस्तै जाडो हुन्छ निकै।’ उनले भनिन्, ‘भाइले लाउँछ भनेर नि।’ उनले आजसम्म नेपाल टेकेकी छैनन् तर नेपालको जाडोको खबर उनलाई छ।
माला दिदीलाई भेटेको केही दिनपछि नै म प्यिँउल्वीँ सहर पुगेको थिएँ। त्यहाँको किरात संघ पनि पुगेँ तर प्यिँउल्वीँको मजोपी गाउँ घर भएका मालाका भाइ सरन लिम्बूसँग भेट हुन सकेन। फोन गरेँ, ‘अस्ति माला दिदीले पठाइदिएको कोट लाउनुभयो ? ’ मेरो प्रश्न सुनेर उनी अचम्ममा परे। भने, ‘कसरी था पायो ? ’ मैले माला दिदीलाई भेटेको कुरा सुनाएँ। ‘मैले लगाएन त्यो कोट। बाउको निशानी भनेर जतनले राखेको छ’, उनले भने। दुई दिदीका एकमात्र भाइ सरन लिम्बू अहिले ४७ वर्षका भए। ४० छेक विवाह गरेका उनी श्रीमती गीता लिम्बू र दुई छोराको साथ गाउँमै खेतीकिसानी गरेर बसेका छन्।
करिब दुई हप्तापछि फेरि माला दिदीलाई फोन लगाएँ। संयोग कस्तो, उनकी छोरी छोटो समयका लागि रंगुन आएकी रहिछन्। भोलिपल्टै सपरिवार बगान घुम्न जाने योजना रहेछ। मैले जसरी पनि भेट्नु नै थियो। माला दिदीले समय मिलाएर खबर गर्छु भनिन्। लुना र म पनि काठमाडौंबाट आएका हाम्रा पाहुनाहरू सिर्जना र आदर्शलाई रंगुन डाउनटाउन देखाउँदै थियौं। समय मिल्ने छाँटकाँट कम देखियो। निकै कर गरेपछि उनीहरू किनमेल गर्दै गरेको भोजौ आङसाङ मार्केटमा भेट्न गयौं। बर्मामा भोजौ भनेको जेनेरल। संसारका महँगा गरगहना, रुवी, जेड वा पत्थरका अनेकौं ब्रान्डको व्यापार छ यहाँ। त्यसबाहेक हस्तकला र लुगाको ठूलो बजार पनि छ। लुनालाई गइरहन मन लाग्ने र मलाई फिटिक्कै छिर्न मन नलाग्ने हिँड्दाहिँड्दा थाकिने बजार हो यो। त्यही बजारभित्रको कफी सपमा हामी छौं। माला दिदी र उनकी छोरी, लुना, सिर्जना, आदर्श र म।
किरात र चाइनिज अनुहार त मिल्दोजुल्दो हुन्छ नै। तर निकै फरक, छोरी मेतुजा लोककथाकी अप्सराझैं राम्री छन्। ‘मेरो नेपाली नाम विद्या हो।’ काइदासँग नेपाली बोल्दिरहिछन्। ‘उसले हप्तामा दुई दिन नेपाली, तीन दिन चाइनिज सिकेको नि भाइ।’ निकै कर गरेपछि माला दिदीले टिचर घरमै बोलाइदिइन्। ‘म आमासँग धेरै नजिक छु। त्यसैले नेपाली कल्चर नै प्रिफर गर्छु।’ उनले आफ्नो मोबाइलमा भएका नेपाली पहिरनका उनका फोटाहरू देखाइन्। ‘मलाई मोमो धेरै मन पर्छ।’ विद्याका भाइ सांस्कृतिक रूपमा अलमलमा छन्। उनलाई बाटो पहिल्याउन र तरिका पछ्याउन अफ्ठेरो भएको देख्दा गोर्खाली, चाइनिज र बर्मेली संस्कृतिको चेपुवामा परेका युवाहरूको संकट महसुस हुन्छ। तर, विद्या स्पष्ट छिन्।
उनले स्पस्ट भनिन्, ‘भाषा सिके पनि मलाई चाइनिज मन पर्दैन। नेपाली लाइफ स्टाइल नै मन पर्छ। किनभने मेरो आमा नेपाली हो।’ माला दिदी र उनकी छोरी साथीसाथीजस्तो कुरा गर्छन्। उनले छोरीलाई गोर्खालीहरूको इतिहास पनि बताएकी छन् रे। उनीहरूको सामीप्य देख्दा लाग्छ, बच्चाहरूको पहिलो सांस्कृतिक स्रोतको आधार आमा नै हुन्। पुरुषप्रधान समाजमा मात्रै बुबाले बच्चालाई कस्तो संस्कृति सिकाउने भन्ने निर्णय गर्छन्। उनी माला दिदीलाई ‘आमा’ शब्दले नै सम्बोधन गर्छिन्। उनले आमा भनेर बोलाउँदा म भावुक भएँ। किनभने शब्द मात्रै हैन रहेछ आमा। यो शब्दसँगै एउटा समुदायको सारा सभ्यता, संस्कृति र ममता तानिएर आउने रहेछ। ‘एक दिन आमालाई लिएर नेपाल घुम्न जाने मन छ।’ बेलाबेला नेपाली बोल्दै गर्दा गाह्रो लागे उनी अंग्रेजीमा बोल्छिन्।
उनकी आमा सामाजिक कार्यमा लागेको देखेर उनलाई खुसी लागेको छ। किरात वा नेपाली समुदायको धेरै कार्यक्रममा गएर उनले नृत्य पनि गरेकी छन्। तर साथीहरू भने बर्मेली नै छन् उनका। उनी हाँस्दै भन्छिन्, ‘घरमा बर्मेली साथीहरू आउँदा खोस्टेनीलाई लिएर आइस् ? भन्नुहुन्छ आमा। मेरो साथीहरूलाई त्यस्तो नभन्नुस् भन्छु।’ माला दिदी स्पष्टीकरण दिँदै भन्छिन्, ‘अचेलका युवाहरू मकैको खोस्टाजस्तै छ। आफ्नो संस्कृति, बेहोराको गुदी नै छैन। त्यही भएर जिस्क्याउँछु उसलाई।’
विद्याको विचारमा बर्मा प्राकृतिक रूपमा सुन्दर छ, बस्नका लागि। शासन व्यवस्थाचाहिँ उनलाई मन परेको छैन। उनी भन्छिन्, ‘देश राम्रो, सरकार नराम्रो।’ तर आम बर्मेलीझैं नेत्री आङसाङ सुचीप्रति उनको असाध्यै विश्वास छ।
कफीको कप अघि नै रित्तिइसकेको छ। विद्यालाई पनि सपिङको हतारो छ। छुट्ने बेलामा दिदीले मलाई फेरि सम्झाइन्, ‘यहाँको संस्था धनीहरूको लागि मात्रै भयो। गरिबलाई सहयोग नै गर्दैनन्। मैले त कतिपटक भनिसकेँ। तपाईं लेखिदिनुस् है। परेको म बेहोर्छु।’ उनको विचारमा संघको सहयोग मण्डलीबाट ऋण वा सहयोग पाउनेहरू सम्पन्न नै हुन्छन्। ‘किनभने धनीले धनीलाई सहयोगको लागि अनुमोदन गर्छन्। गरिबको लागि कोही बोल्दैनन्।’
यसपटक पनि मलाई उनका चाइनिज श्रीमान् भेट्ने संयोग मिलेन। वा दिदीले भेटाउनै चाहेकी छैनन्। यही जनवरी १४ मा हुन गइरहेको किरात संघको पिकनिकका लागि माला दिदीले निम्तो गरेकी छन्। त्यहाँ यी चाइनिज भिनाजु सान ल्युन आउलान् कि न आउलान् ? प्रतीक्षामा छु।