किसुनजीको पछिपछि

किसुनजीको पछिपछि

किसुनजीले फागुन ७, २०१९ मा गरेको भविष्यवाणी अहिले आएर ५५ वर्षपछि टड्कारो रूपमा मिल्न गएको छ।

‘सन्त राजनीतिज्ञ र धूर्त कूटनीतिज्ञ’को उपमा पाएका राजनीतिज्ञ कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ नेपाली लोकतन्त्रको लडाइँंमा नौलो नाम होइन। राजपुरोहित परिवारमा जन्मेर पनि किसुनजी आजीवन लोकतन्त्रका लागि संघर्षरत रहे। किसुनजीको राजनीतिक शिक्षादीक्षामा वनारसमा हुँदा अंगे्रजविरोधी आन्दोलनले गहिरो प्रभाव पारेको थियो। अंग्रेजविरोधी आन्दोलनका नायक अरू कोही नभएर सत्य र अहिंसाका पर्याय, सत्याग्रहका उपासक महात्मा गान्धी थिए।

गान्धी रोज डायरी लेख्थे, हप्ताको एक दिन त उनले पत्राचारका लागि छुट्याएका थिए। त्यो कम्प्युटर र इन्टरनेटको जमाना थिएन। गान्धीका धेरैजस्ता सहयोगीहरू पनि नित्य डायरी लेख्थे। नेपालमा पनि बीपी कोइरालाले जेलमा हुँदा होस् या बाहिर हुँदा, डायरी लेख्ने गरेको पाइन्छ। बीपीका ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजल’जस्ता पुस्तकहरू सदाबहार बेस्ट सेलर बने।

बीपी र किसुनजी समकालीन थिए। २०१७ सालपछि जेल बसाइका प्रारम्भिक दिनहरूमा बीपीले किसुनजीको अध्यात्मप्रतिको प्रेम र झुकाव देखेर बहुलठ्ठीपनको उपमा दिएका थिए। पछि बीपी स्वयं आफ्नो जीवनको आखिरी दिनहरूमा आध्यात्मिक बन्दै गएका थिए।

संसद्को अभावमा राजालाई र मन्त्रिपरिषद्लाई सल्लाह दिन अन्तरिम संविधान २००७ मा सल्लाहकार सभाको व्यवस्था गरिएको थियो। किसुनजी सोही सल्लाहकार सभाको सभामुख थिए। त्यसको सात वर्षपछि पहिलो जननिर्वाचित संसद् २०१५ को निर्वाचनमा पराजित भए पनि ‘सभामुख’ हुने कार्य किसुनजीलाई नै मिलेको थियो। राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठी २०१७ साल पुस १ गते पञ्चायत व्यवस्था लागू गरे। फलस्वरूप निर्वाचित संसद्का सभामुख ‘किसुनजी’समेत जबरजस्ती जेलको कालकठोरीमा हुलिए। बीपी र गणेशमान सात वर्षपछि २०२५ मा रिहा भए। किसुनजी २०२७ सालमा मात्र रिहा भए। अविवाहित किसुनजीको घर थाहा नपाएपछि राजाले ‘त्यो बाहुनलाई दोबाटोमा लगेर छाडिदिनु’ भने। उक्त नौवर्षे सुन्दरीजल कारावासका क्रममा किसुनजीले लेखेका डायरीहरू फेला परेका छन्। ती डायरीहरू ‘सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठान’को स्वामित्वमा राखिएका छन्। ती डायरीमध्ये केही अंश युवराज घिमिरे सम्पादक रहेको ‘द रिपोर्टरमा’ छापिएका हिस्साहरूलाई एकीकृत गर्दै ‘सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले’ नोट्स फ्रम प्रिजन– सुन्दरीजल गोल’ नामक शीर्षकमा चार वर्षअगाडि प्रकाशित गरेको थियो।

२०१८ भदौदेखि २०२० भदौसम्मका दिनहरू डायरीमा देखिएको छ। उक्त डायरी लेखिएको समय र प्रकाशित भएको समयपछि नेपाली राजनीतिमा व्यापक हेरफेर आएको छ। विश्व राजनीतिसँगै दक्षिण एसियाको राजनीतिमा पनि बदलाव आएको छ। यो लेखको प्रसंग त्यही डायरीमा किसुनजीले उल्लेख गरेको भविष्यवाणी प्रतीत हुने प्रसंगसँग जोडिएको छ। उक्त डायरीको चर्चा गर्नुभन्दा पहिला किसुनजीको फरक जीवनदृष्टि र राजनीतिक दृष्टिका बारेमा उल्लेख गर्नु प्रासंगिक हुनेछ।

किसुनजीमा भौतिकभन्दा आध्यात्मिक रुझान धेरै थियो। उनले जीवनको उत्तराद्र्धमा आफ्ना लागि केही पनि ‘ श्रेय’ र ‘प्रेय’ नभएको बताएका थिए। यसको अर्थ किसुनजी अध्यात्मभन्दा माथि उठिसकेको महसुस हुन्छ। राजनीतिक रूपमा किसुनजी कुनै पनि क्रान्ति घरभित्रैबाट गरिनुपर्छ, त्यस्तो क्रान्ति मात्र दिगो र बाह्य प्रभावबाट मुक्त हुन्छ भन्ने कुरामा विश्वस्त थिए। यसबारेमा किसुनजीले इतिहासकार प्रा.डा. राजेश गौतमसँगको कुराकानीमा आधारित पुस्तकमा सविस्तार चर्चा गरेका थिए।

राजनीतिक लडाइँमा २००७, २०४६, २०६२/६३ को धेरै चर्चा गरिन्छ। तर, ती आन्दोलनले बैठान कसरी भएको थियो भन्ने कुराको हेक्का राख्न हामी बिर्सन्छौं। २०४६ को आन्दोलन २००७ वा २०६२/६३ भन्दा यस मानेमा पृथक् देखिन्छ कि मध्यस्थताको खोजीमा घरेलु शक्तिहरू दिल्ली गएका थिएनन्। सबै कुराको छिनोफानो काठमाडौंमा भएको थियो। त्यसको श्रेय अरू कसैलाई नभएर ‘किसुनजी’लाई र राजा वीरेन्द्रलाई जान्छ। त्यस कारणले किसुनजी राष्ट्रवादी नेता थिए। आफ्ना पूर्वजसँगै भारत गएको भए पनि किसुनजी सात सालपछि झुक्किएर पनि भारत गएनन्। बरु जेलमा बसे, यातना सहे, नयाँ पुस्तालाई प्रजातन्त्रको लडाइँका लागि उत्साहित बनाइरहे।

नेपाली कांग्रेस र नेपालका कम्युनिस्टहरू ‘जानी दुस्मन’जस्ता देखिन्छन्। यी पार्टीहरू, स्थापना हुँदा शीतयुद्धले विश्व आक्रान्त थियो। त्यसैले यी पार्टीहरूको चिन्तन प्रणालीमा शीतयुद्धको विकार मिसिनु स्वाभाविक पनि हो। अहिले विश्वमा शीतयुद्ध छैन। त्यसकारण यी पार्टीहरूमा एकअर्कालाई हेर्ने नजरियामा केही बदलाव आउनु स्वाभाविक पनि हो। किनकि यी पार्टीहरू संघर्षका सहयात्री पनि हुन्। अहिले त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको पहिलो निर्वाचनमा नेपालका दुई प्रमुख कम्युनिस्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकढिक्का भएर निर्वाचनमा बहुमत ल्याएका छन्। संघ र प्रदेशमा कम्युनिस्टहरूको एकलौटी सरकार बन्नेवाला छ। किसुनजीले फागुन ७, २०१९ मा गरेको भविष्यवाणी अहिले आएर ५५ वर्षपछि टड्कारो रूपमा मिल्न गएको छ। उनले डायरीमा लेखेका थिए—

आज हामीले तेस्रोपटक ‘प्रजातन्त्र दिवस’ जेलभित्र मनाइरहेका छौं। १२ वर्षअगाडि आजकै दिन हामीले गरेको क्रान्तिको परिणामस्वरूप केही जनप्रतिनिधि सामेल भएको सरकार बनेको थियो। फलतः धेरै क्षेत्रमा परिवर्तन भयो तर ती सबैमध्ये शाहहरूलाई राणाको बन्धनबाट छुटकारा मिलाएको प्रसंग सर्वाधिक महत्वको हुन पुग्यो। विस्तारै त्यो आजादी र स्वतन्त्रता उनीहरूले छिनेर लिए र अहिले तानाशाही शासक बन्न पुगेका छन्। अहिले त उनीहरूले झन्डै राज्यको सबै बन्दोबस्ती मिलाएका छन् र देशभित्र उनीहरूका सहयोगीको रूपमा राणाशाहीको खिलापमा अग्रभागमा लागेकाहरू छन्। शैली बदलिएको छ तर उद्देश्य एउटै छ। देशबाहिर तिनका सहयोगी को को छन् भगवान्लाई नै थाहा होला। वर्तमानका लागि उनीहरू नेपालका एकाधिकार शासक भएका छन्।

आम जनताको पिछडिएको अवस्था देख्दा वर्तमान शासकहरू विरोधी जनमत बनाउन समय लाग्ने कुरा सत्य मान्नुपर्छ। हुनसक्छ धेरै कुराले खुम्चिएको, देशको वर्तमान नेतृत्व विस्तारै राजनीतिक परिदृश्यबाट पूर्ण रूपमा हराउला। समयक्रममा निस्कने शक्तिहरूले एउटा विशाल आन्दोलन गर्नेछन् र तानाशाहीलाई परास्त गर्नेछन्।

नेपालको परम्परगत वा राजनीतिक आन्दोलनले सदैव एउटै वैश्विक प्रवृत्तिको बलियो आँधीबेहरी सिर्जना गर्नेछ। वर्तमानमा मैदानमा दुईवटा प्रतिस्पर्धी मात्र देखिन्छन्— कांग्रेस र कम्युनिस्ट। समयक्रममा पहिला अप्रत्यक्ष रूपमा त्यसपछि खुला रूपमा नै छिमेकी चीन नेपाली कम्युनिस्टको सहयोगमा आउनेछ। नेपालका तानाशाही शासकको दुर्भाग्य दुई शक्तिशाली शक्तिको चेपमा परेर ध्वस्त हुनेछन्। यो प्रक्रियामा हुनसक्छ, काँग्रेस र कम्युनिस्ट एक भएर साझा शत्रुलाई निमिट्यान्न पार्न एक होलान् पनि। त्यो निश्चित नै खराब दिन हुनेछ। तानाशाही शासकहरू र तिनका आसेपासेलाई खराब, कांग्रेसका लागि खराब र खराब देशका लागि पनि। तानाशाही शक्तिको पतनपश्चात् काँगे्रस र कम्युनिस्टबीच सत्ताका लागि भीषण संघर्ष हुने कुरा सहजै अनुमान गर्न सकिन्छ। अन्यत्रजस्तै यहाँ पनि कम्युनिस्टहरूले विजय हात पार्नेछन् र त्यसले नेपालमा अँध्यारो युगको सुरुआत गर्नेछ। वर्तमान शासकहरूसँग ज्ञान र शक्ति दुवै चीज छैन। तिनीहरूसँग कल्पनाशीलता र चरित्र झन् छँदैछैन। तिनीहरू लोभ र अहम्ले मात्र बाँधिएका छन्। यस्तो समूह अरू सबै बन्नसक्छ तर कदापि राष्ट्रवादी बन्न सक्दैन। एकमात्र आशा राजसंस्थाको सम्पूर्ण विश्वास जितेको उदार एवं राष्ट्रवादी सरकारमा अडेको छ। तर, खलपात्र र अवसरवादीहरूबाट घेरिएको राजाबाट तत्कालका लागि यस्तो सम्भावना भने देखिँदैन। यहाँबाट घटनाक्रमलाई नियाल्दा मैले सोचेको यही नै हो र यो त्यति आशालाग्दो र प्रेरणादायी छैन।

किसुनजीले डायरीमा उल्लेख गरेजस्तै नेपालका कांग्रेस र कम्युनिस्टहरू मिलेर तानाशाही राजालाई इतिहासमा सीमित पारे। कांग्रेस र कम्युनिस्ट बीचको सत्तासंघर्ष अहिले लोकतान्त्रिक तरिकाबाट चलेको छ। निर्वाचनका विधिबाट कम्युनिस्टहरू विजयी भएका छन्। चीनको बढ्दो उपस्थितिलाई पनि नकार्न मिल्ने अवस्था छैन। किसुनजीले भनेजस्तो राजाको सम्पूर्ण विश्वास जितेको उदार प्रजातान्त्रिक सरकार त छैन नै, र राजसंस्था नै नभएपछि त्यो बन्ने कुनै गुञ्जायस पनि रहेन। किसुनजीको भविष्यवाणीअनुसार निराशाको समय सुरु भएको त होइन ?

किसुनजीको लिखतलाई प्रखर गणतन्त्रवादी हुँदाहुँदै पनि यो स्तम्भकारले किन महत्व दिएको हो भने किसुनजीको राष्ट्रवादितामा कसैले शंका गर्ने हिम्मत गर्दैन। किसुनजीले सदैव ‘नेपाल मेरो लागि धेरै प्यारो छ’ भनिरहे। त्यस मानेमा किसुनजीले अंग्रेजीमा लेखेको डायरीको अंशलाई नेपाली अनुवादसहित यहाँ प्रस्तुत गरिएको हो।

विसं २०७४ को चुनावी परिणाम नाजी पार्टी विजयी भएको जर्मनीको १९३२ को आमचुनाव वा चेकोस्लोभाक कम्युनिस्ट पार्टी विजयी भएको १९४६ को चुनावजस्तो नहोस्। यसको अर्थ सत्ता हस्तान्तरण गर्न किमार्थ पनि प्रधानमन्त्री शेरबहादुर देउवाले विलम्ब गरून् भन्ने होइन। अन्तमा यत्ति कामना छ— किसुनजीको भविष्यवाणी असफल बनोस्— नेपाली कम्युनिस्टहरू अन्यत्रका जस्ता नहुन् र कांग्रेसहरूले कम्युनिस्टलाई लोकतान्त्रिक शैलीबाट परास्त गर्ने तयारी गरून्। नेपालीको सु–दिन सुरु होस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.