तरुल
आफ्नै निम्ति
खनिरहेको छु
जिन्दगीभन्दा गहिरो खाल्टो,
माया सभ्यताको
क्यालेन्डरका पानाहरूभन्दा पनि
अझै लामो खाल्टो ।
यो स्वप्नसँगै आतंकित निद
र
निदमै फाट्नसक्ने रातहरू,
यो हरियो अर्थतन्त्र
र
मान्छेको भाउ तोकेर निदाइरहेको
विश्व बजारको रङ,
विचार खुम्च्याएर राजनीतिले
खुलेआम पहिरो जाँदै गरेको
राज्यको नग्न तस्बिर,
सर्पको भन्दा विषालु
चुम्बन बेच्न
अँध्यारो पहिरनमा दोबाटो ढुकिरहेको
मानवता निख्रिएको
नयाँ कानुनी धारा,
हेर्दाहेर्दै
आफैंमाथि पहिरो चलाएर उभिएको
आमाजस्तै पहाडमा
उम्रिएको छु म
हरियो बोटको लहरे आकारमा,
ओठ छ लालुपातेको लाली छैन
निधार छ सुनौलो घाम छैन
दृष्टि छ गन्तव्यको उज्यालो मुहान छैन
कसरी बन्न सक्छृ म
आकाशका लागि
आकाशकै गीत गाएर
आकाशमै उड्नसक्ने,
विश्व बन्धुत्वका लागि
कसरी बनाउन सक्छु म
नचँडिने पुलको नक्सा,
एउटा आविष्कार बिथोलिएर
सप्रमाण बनेको छु
भोकाएकाहरूका लागि— एक छाक
र
अघाएकाहरूका लागि
हलुङ्गो रहर,
माया सभ्यताको
सकिनै लागेको क्यालेन्डरको पानामा
उपस्थिति छ तर
अस्तित्व छैन मेरो,
पृथ्वीको गर्भमा
आफ्नैनिम्ति खनिरहेको छु
जिन्दगीभन्दा गहिरो खाल्टो,
अक्षरकै आगोमा
अक्षरकै उत्सव बोलाएर
प्रिय पाठक
तपाईं पनि चाख्न सक्नुहुन्छ मलाई,
जंगलमा
गाउँमा
सहरमा
जताततै
नाम पाएको छु मैले— तरुल
जातजातको तरुल
हातहातको तरुल ।